हनुमानी गिरोहका थप सदस्यलाई पक्राउ गर्न माग

राजविराज । पैसा दिएको ७२ घण्टामै रकम चौब्बर पारिदिने प्रलोभन देखाएर लामो समयदेखी ठगि धन्दा चलाउँदै आएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ का हनुमानी भन्ने रामबहादुर रजक बिरुद्ध चार जिल्लाका पीडितहरु एकताबद्ध भई आन्दोलन चर्काउने घोषणा गरेका छन् ।

शुक्रबार सप्तरीको सुरुङ्गा नगरपालिका ४ कदमाहामा भेला भएका सप्तरी, सुनसरी, सिरहा र उदयपुरका पीडितहरुले पत्रकार सम्मेलनको आयोजना गरि यस्तो घोषणा गरेका हुन् । उनीहरुले न्याय नपाए सामूहिक आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।

हनुमानी भन्ने रामबहादुर रजकले चार जिल्लाका मात्रै २ सय १० भन्दा बढी व्यक्तिहरुबाट रकम चौब्बर पारिदिने नाउँमा २५ करोड भन्दा रकम ठगि गरेको पीडितहरुले दाबी गरेका छन् ।

हाल प्रहरी हिरासतमा रहेका हनुमानी उपर निष्पक्ष छानबिन, गहिरो अनुसन्धान, ठगिमा परेका व्यक्तिहरुको रकम फिर्ता तथा ठगि धन्दा चलाउने उनका गिरोहका अन्य सदस्यहरुलाई पनि कानुनी दायरामा ल्याउन उनीहरुले माग गरेका छन् ।

पत्रकार सम्मेलनमा हनुमानीबाट ठगिएका मध्येका सप्तरीको सुरुङ्गा नगरपालिका ४ का सन्तोष चौधरीले हनुमानीले रकम ल्याएको ७२ घण्टामै चौब्बर पारिदिने प्रलोभन देखाउँदै ६५ लाख रुँपैया ठगि गरेको गुनासो पोखे । “घरमै बोलाएर आखै अगाडी १ हजार रुँपैयालाई चमत्कारीक ढंगले चार वटा हजारको नोटमा परिणत गरिदिएपछी विश्वास र प्रलोभनमा परी भोलिपल्टै बैंक तथा साथी भाइहरुबाट ६५ लाख रुँपैया ऋण सापटी लिएर फेरी बुझाए” चौधरीले भने– त्यसपछि कहिले मेशिन बिग्रेको, कहिले केमिकल सकिएको, कहिले श्रीमती गम्भिर बिरामी परेको लगायतका बहानीबाजी गर्दै रकम फिर्ता गर्न मानेनन् ।

चौधरी जस्तै आफूहरु पनि त्यसैगरि ठगिएको सिरहाका नागेश्वर पासवान, सुनसरीका महेश यादव र उदयपुरका मन्जिल कार्कीले बताए । आफूहरुबाट १ करोड १० लाख रकम ठगिएको उनीहरुले बताएका छन् ।

सिरहाका नागेश्वर पासवानसँग ३० लाख, सुनसरीका महेश यादवसँग ५५ लाख र उदयपुरका मन्जिल कार्कीको २५ लाख ठगिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । उनीहरुले हनुमानीले चार जिल्लामा मात्रै नभई अन्य जिल्लामा समेत ठगि धन्दा चलाएको दाबी गर्दै उनी पक्राउ परेपछी थप पीडितहरु आफूहरुको सम्पर्कमा आउन थालेको जानकारी दिएका छन् ।

प्रहरी उपरिक्षक रुपक खड्काले केही दिनअघि मात्र पक्राउ परेका हनुमानीलाई सप्तरी जिल्ला अदालतबाट म्याद थपेर हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

महेश श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश