धार्मिक पर्यटनमा देवघाट

कृष्णागण्डकी र त्रिशूली नदी तथा देवगंगाको (देउती खोला) संगम बिन्दु देवघाटलाई शास्त्रमा सिद्धाश्रम, शम्भुतपोवन, सप्तर्षि तपोवन, हरिहरक्षेत्र, शालग्राम क्षेत्र, देवघाट, आदिप्रयाग, कदम्बतीर्थ, गजेन्द्रतीर्थ, चक्रतीर्थ भनी वर्णन गरिएको छ ।

नेपालको मध्यभागमा रहेको त्रिशूली र कृष्णागण्डकीको संगम क्षेत्रभित्र रहेको भूभागलाई देवघाट भनिन्छ । गोसाइँकुण्डबाट बगेको त्रिशूली र दामोदर कुण्डबाट बगेर कागबेनी हुँदै आएको शालिग्रामगर्भा कृष्णागण्डकी गण्डक ऋषिको गण्डकस्थलबाट उत्पन्न भएको कृष्णधारा यी दुई नदीको मिलन वेणीसंगम हो । गण्डकी नदी समान विश्वमा पुण्यदायिनी कुनै नदी वा तीर्थ छैन, द्वादशी समान पुण्यतिथि अरू छैन भन्ने कुरा स्कन्दपुराणमा चर्चा गरिएको छ । सत्य युगमा उत्तम तीर्थ पुष्कर, त्रेतामा मिथिला, द्वापरमा मधुपुरी (मथुरा) हो भने कलियुगमा गण्डकी नदी र यसका आसपासका क्षेत्रहरू पुण्यदायी, कल्मष नाशक तथा वैकुण्ठादि लोक प्राप्त गराउने बताइएको छ । पछि सूर्यलोक प्राप्त हुनुको साथै शरीरका बाह्यभ्यन्तर रोगहरू पनि नाश हुने बताइएको छ । वराह पुराणमा वर्णन भएअनुसार शंकरले गण्डकी क्षेत्रमा पाँच दिन बसेर गाई चराउनुभएकाले गर्दा नै यस क्षेत्रलाई हरिहर क्षेत्र पनि भनिएको छ । विष्णुको प्रक्षलित जल भागीरथीको जो महत्व बुझिन्छ, उनै भगवान् साक्षात कृष्णागण्डकीमा सर्वांग डुबेर बस्नुभएकाले भागीरथीभन्दा हजार गुणा पुण्यदायिनी छिन् भन्ने कुरा शास्त्रमा वर्णन गरिएको छ । त्यस्तो जगत्पावनी कृष्णागण्डकीको र त्रिशूलीको संगम देवघाट हो ।

भगवान् शंकरले कालकूट विष पान गरेपछि असह्य हुँदा त्रिशूल प्रहारबाट उत्पन्न भएको गोसाइँकुण्डबाट प्रवाहित त्रिशूली, जसमा नदीहरू बुढीगण्डकी, मस्र्याङ्दी, मादी, चेपे, तादी, सेती, दरौँदी, वेत्रावती समाहित छन् भने दामोदरकुण्डबाट प्रवाहित कष्णागण्डकीमा रुरु, रुद्रमती, आँधी, सेतीवेनी, मोदीवेनी, मंगला, रहु, मृषा आदि नदीहरू मिलेका छन् । यसरी कृष्णागण्डकी, शुक्लागण्डकी र देवगंगा (देउती खोला) मिली बनेको संगमलाई देवघाटधामको त्रिवेणी पनि भनिन्छ । गयामा पिण्डदान गर्दा जति पितृहरू खुसी हुन्छन् त्योभन्दा बढी देवघाट वेनीमा पिण्डदान गर्दा खुसी हुन्छन् । जीवनमा एकपल्ट काली नदीको दर्शन मानव भएर गरेको छैन भने त्यसका सबै प्रयासहरू निष्फल हुन्छन् । अन्य तीर्थमा लाखपटक स्नान गरेको पुण्य देवघाट वेणी संगम वा कृष्णागण्डकीमा एकपटक स्नान गर्दा पुण्य मिल्छ । माघे संक्रान्तिमा यस पवित्रतम देवघाटमा आएर विहार गर्ने, सभा गर्ने, स्नान गर्ने भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

वर्षा ऋतुमा सबै नदी रजस्वला मानिए पनि शालिग्राम गर्भमा सदाबहार धारण गर्ने हुनाले कष्णागण्डकीमा सधैं स्नान गर्दा दोष नलाग्ने अझ दोब्बर पुण्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख छ

देवघाट हरि र हरको साधनाभूमि जसलाई माथि उल्लेख गरिएजस्तै हरिहर क्षेत्र पनि भनिन्छ । वर्षा ऋतुमा सबै नदी रजस्वला मानिए पनि शालिग्राम गर्भमा सदाबहार धारण गर्ने हुनाले कष्णागण्डकीमा सधैं स्नान गर्दा दोष नलाग्ने अझ दोब्बर पुण्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख छ । विश्वमा प्रसिद्ध जगत्पावनी तीन नदीहरू छन् । एक नेपालमा रहेको कृष्णागण्डकी काली नदी हो । दोस्रो जगत्पावनी नदी हो नर्मदा । तेस्रो नदी भागीरथी गंगालाई चिनिन्छ । विश्वमा चर्चित ती नदीमध्ये कृष्णागण्डकी नेपालको देवघाट वेणी संगममा एकाकार भएर नारायणीको रूप धारा गर्न पुगेकी कृष्णधारा जसको मिलनबिन्दु क्षेत्रलाई देवघाट भनिन्छ ।

हाम्रो देश धार्मिक, प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र धार्मिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । देवघाटजस्तो धार्मिक एवं ऐतिहासिक पर्यटकीय स्थल हुँदाहुँदै पनि त्यस क्षेत्रमा आवश्यक मात्रामा भनेजस्तो पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट धार्मिक पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण देवघाट क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गरी सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि गराउन सकिन्छ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवर्धन गर्दै धार्मिक पर्यटन सर्किट बनाई देशको आवश्यकताअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्धन गर्नु अहिलेको माग हो । यसका लागि विकासका संवाहक युवाको महत्वपूर्ण भूमिका रहन्छ ।

देवघाट क्षेत्रका लागि प्रभावकारी धार्मिक, सांस्कृतिक पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा सो क्षेत्रमा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि आवश्यक मात्रमा प्रभावकारी बनाउन अझै सकिएको छैन । स्थानीय बासिन्दाले खास रूपमा फाइदा लिन सकेका छैनन् । त्यसैले यस क्षेत्रमा प्रभावकारी पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता छ । त्यस्तै, देवघाट क्षेत्रमा सरसफाइ तथा फोहोरमैला व्यवस्थापन साथै, भौतिक पूर्वाधारको विकास गर्न आवश्यक छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई माथि भनेजस्तै प्याकेजिङ गरी विकास गर्नुपर्ने देखिन्छ ।

यस क्षेत्रको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र स्थानीय तहको विकासमा सन्तुलन कायम गर्नसमेत धार्मिक पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ । देवघाट क्षेत्रमा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत प्रभावकारी संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय धार्मिक पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्न ढिला भइसकेको छ । जसको फलस्वरूप विकासका संवाहक युवा खाडी देशमा भासिन बाध्य छन् ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि हो । नयाँ धार्मिक पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता छ । धार्मिक पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै देशका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । अतः देवघाटजस्ता धार्मिक तथा ऐतिहासिक क्षेत्रहरूको पहिचान गरी विश्व बजारमा प्रचारप्रसार गर्न सके पर्यटक आगमनमा वृद्धि हुने सम्भावना प्रचुर छ ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

डिआइजी भट्टराईलाई पद सुम्पिन एआइजी केसीको राजीनामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
८१ वर्षीय रसिंह व्यञ्जनकारले वडा अध्यक्षमा दिए उम्मेदवारी