क्वारेन्टाइनमा योगा अभ्यास र आर्युवेद ओखती

बुटवल । बुटवल उपमहानगरपालिकाले यहाँका क्वारेन्टाइनमा रहेकाको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भन्दै नियमित योगा अभ्यास सिकाउन सुरु गरेको छ । बुटवलका क्वारेन्टाइनमा हाल १२ जिल्लाका एक सय ५६ जना रहेका छन् । आइसोलेशन सेन्टरमा भने विभिन ठाउँका २१ जना रहेका छन् ।

रोग प्रतिरोधी क्षमता बढाउने खालका आयुर्वेद ओखती समेत प्रदान गरेको छ । आयुर्वेद ओखतीका लागि बुटवल उपमहानगरसंग प्रदेश सरकारको सहकार्य छ । योगाका जानकार तथा योगा गुरुले क्वारेन्टाइन र आइसोलेशन सेन्टरमा नियमित योगा सिकाइरहेका छन् ।

बुटवल–१२, तामनगर, बुटवल–४, कान्ति माविमा रहेका कोरोना बिशेष क्वारेन्टाइन र बुटवल–११, योगीकुटी स्थित एन्फा टेक्निकल सेन्टरमा रहेको आइसोलेशन सेन्टरमा योगा सिकाइएको छ । आइसोलेशन सेन्टरमा कोरोना संक्रमण पोजेटिभ देखिएकालाई राखिएको छ । त्यहाँ उनीहरुलाई आयुर्वेद ओखतीसमेत प्रदान गरिएको छ ।

क्वारेन्टाइनमा रहेकाहरुको रोगप्रतिरोधक क्षमता बढाउन आयुर्वेद चिकित्साको महत्व र स्थानीय जडिबुटीको यथोचित प्रयोगका साथै योगा अभ्यास सिकाइएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । क्वारेन्टाइनमा राखिएकाहरुलाई तनावबाट मुक्त पार्न र संक्रमण पोजेटिभ देखिएकालाई आयुर्वेद ओखतीमार्फ रोगप्रतिरोधी क्षमता बढाउन यो अभियान जारी राखिएको प्रमुख सुवेदीको भनाइ छ । योगालाई शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राख्ने उपयुक्त विधिका रुपमा लिइन्छ ।

योगालाई एउटा महत्वपूर्ण चिकित्सा पद्दति पनि मानिन्छ । योगको माध्यमबाट रोगी व्यक्तिले आफुलाई निरोगी, स्वस्थ्य तुल्याउन सक्छन् । स्वस्थ्य व्यक्तिहरुका लागि जीवन पद्दति र योगीरुका लागि साधना पद्धति मानिन्छ । योगाका याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग जस्ता आठ प्रकारका आसनमध्येको योगाको ध्यान विधि अहिलेको महामारीमा जोसुकैले पनि गर्न जरुरी र आवश्यक देखिएको योगगुरु विष्णुहरि आचार्य (योगीराज) को भनाइ छ ।

क्वारेन्टाइन सुरु भएयता बिहानको समयमा योगाका गुरु र स्वास्थ्यकर्मीसहित प्रमुख, उपप्रमुख र वडाअध्यक्षहरु सामाजिक दुरी कायम गर्दै योगा अभ्यासमा सरिक भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । मस्तिष्कको स्वास्थ्यका लागि योगा एक प्राकृत्तिक औषधी मानिने भएकाले अहिले मनसँग शरीरको जोड कायम राख्ने र त्यसैका आधारमा शारीरिक तथा मानसिक स्वास्थ्यलाई बलियो बनाउने काम भइरहेको प्रवक्ता रेग्मीको भनाइ छ ।

आर्युवेद ओखती प्रदान

बुटवल उपमहानगरपालिका अन्र्तगत रहेका क्वारेन्टाइन तथा आइसोलेसनहरुमा स्थानीय ओखतीयुक्त जडिबुटीको यथोचित प्रयोग गर्न समेत सिकाइएको छ । आइसोलेशन सेन्टरमा रहेका संक्रमितका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र लुम्बिनी आयुर्वेद चिकित्सालयको सहकार्यमा आयुर्वेद र वैकल्पिक चिकित्साका सामग्री प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

आइसोलेशन सेन्टरमा रहेका २१ जना संक्रमितलाई योगाका अभ्यासका साथै आयुर्वेद ओखती प्रदान गरिएको शर्माले बताए । आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा ब्यबस्थापन निर्देसिका अनुसार अश्वगन्धा पाउडर, गुडुची चिया, त्रिकटु चुण तथा च्यबन प्रास अबलेह प्रयोग गराउन सुरु गरिएको हो ।

कोरोनालाई जित्न सकिन्छ

आइसोलेशन सेन्टरमा आराम गरिरहेका कोरोना संक्रमित पत्रकार जानु पाण्डे भन्छिन् ‘पहिले सुरुमा देखिएको डर र त्रास सबै हट्यो अब कोरोनालाई सामान्य रुपमा लिएको छु ।’ छ दिनदेखि बुटवलको कोरोना आइसोलेशन सेन्टरमा रहेका पत्रकार पाण्डेले अरुले पनि कोरोनालाई सामान्यीकरण गर्न जरुरी रहेको सुझाव दिदै समुदायलाई नै सजग रहेर दिनचर्या चलाउन सुझाव दिइन् ।

अब लापरवाही गर्नेकुरा कल्पना पनि गर्नुहुन्न र धेरैसमय सम्म सजग बन्न जरुरी रहेको योगा अभ्यासमा गर्दै कोरोना जित्न मनोबल बढाइरहेकी कपिलवस्तुकी अर्की पत्रकारको भनाइ छ । अब कोरोना भयो भने मरिहालिन्छ भन्ने सोंच परिवर्तन गर्न जरुरी रहेको उनले बताइन् ।

सहज र सरल परिस्थितिलाई जटिल बनाउनु भन्दा सबैलाई मृत्युबाट बच्नको लागि अपनाउनु पर्ने दायित्वबोध सचेतना कायम गर्दै कर्म क्षेत्रको निरन्तरताले मात्रै कोरोनाकहरबाट मुक्तिको मार्ग यसबाट बच्ने उपाय रहेको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका बुटवल–१२, का अध्यक्ष तथा नागरिक अगुवा दुर्गा सुवेदीको भनाई छ ।

बुटवलमा हाल दुईवटा व्यवस्थित क्वारेन्टाइन सञ्चालनमा छन् । त्यहाँ रहनेलाई योगा अभ्यास, आयुर्वेद ओखती प्रदान गर्नुका साथै खाजा,नास्ता र खानाको प्रवन्ध पनि उपमहानगरपालिका आफैले गरेको छ । बुटवल–१२, तामनगरमा रहेको कोरिया–नेपाल इन्ष्टिच्यूट अफ टेक्नोलोजीको भवनमा व्यवस्थित क्वारेन्टिन सञ्चालन छ । चैत २० देखि नै सुरु भएको यो क्वारेन्टाइनमा एक सय ६० शैया रहेका छन् । यस्तै बुटवलको कान्ति माविको भवनमा अर्को व्यवस्थित क्वारेन्टाइन निर्माण गरिएको छ ।

बुटवलमा हालसम्म झण्डै एक हजार जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबैको आरडीटी परीक्षण गरिएको छ । आरडीटीमा पोजेटिभ आएकाको पीसीआर परीक्षण गरिएको उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए । परीक्षणमा नेगेटिभ नतिजा आएका चार सय ३० जना भन्दा धेरैलाई डिस्चाजै गरिएको उनको भनाइ छ । आरडीटी पोजेटिभ आएका ३६ जनाको पीसीआर परीक्षण गरि नतिजा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य शाखा प्रमुख सिंहले बताए ।

बुटवलले लकडाउनको अवधिमा पनि स्वास्थ्यकर्मीलाई नियमित खोप सञ्चालनमा खटाएको थियो । त्यसरी खोपमा खटिनेलाई पीपीइसहितका स्वास्थ्य सामग्रीको व्यवस्था मिलाइएको थियो ।

यस्तै दीर्घ रोगी र समस्यामा परेकालाई घरमै गएर औषधि तथा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । उपप्रमुख गुमादेवी आचार्य आफै स्वास्थ्यकर्मीलाई लिएर त्यस्ता दीर्घ रोगी र अपाङ्गता भएकाहरुको घरसम्मै पुगेर स्वास्थ्य सामग्री प्रदान गर्नुभएको थियो । उपमहानगरले खोप सेवाका अतिरिक्त १९ वटा वडालाई लक्षित गरेर फिवर क्लिनिक सञ्चालन गरेको छ भने क्षयरोगको औषधि वितरण, गर्भवतीको परीक्षण सेवा, परिवार नियोजन सेवा तथा गाउँघर क्लिनिक सञ्चालन गर्दै आएको उपमहानगरका प्रवक्ता रेग्मीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको पन्ध्रौं मेयर को हाेला ? (यस्तो छ इतिहास)