सात महिनामा पनि भेटेन सरकारले ‘योग्य सांसद’

काठमाडौं । राष्ट्रिय सभाका ५९ मध्ये दुई सिट लामो समयदेखि रिक्त छन् । एउटा राष्ट्रपतिबाट सरकारको सिफारिसमा मनोनीत हुने र अर्को सुदूरपश्चिमबाट निर्वाचित सदस्यको हो ।

मनोनीततर्फ अघिल्लो सरकारले गरेको ओमप्रकाश अर्यालको सिफारिस राष्ट्रपतिकहाँ रोकिएपछि नयाँ सरकार गठन भएको सात महिना पुग्दासमेत नयाँ सिफारिस हुन सकेको छैन । निर्वाचिततर्फ भने उपनिर्वाचनको प्रक्रिया अघि बढिरहेको सरकारले जनाएको छ ।

सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले १ चैत २०८२ मा पूर्वगृह तथा कानुनमन्त्री रहेका ओमप्रकाश अर्याललाई राष्ट्रिय सभाको रिक्त मनोनीत सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रतिनिधिसभा निर्वाचनको परिणाम आएपछि राष्ट्रपतिको कार्यालयले उक्त सिफारिसलाई अघि नबढाई नयाँ जनादेश पाएको सरकारले नै नयाँ सिफारिस गर्नुपर्ने भन्दै रोकिदिएका थिए । अर्यालविरुद्ध परेको रिटसमेत सर्वोच्च अदालतले खारेज गरिसकेको थियो ।

तर, नयाँ सरकार गठन भएपछि पनि अर्यालकै नाम पुनः सिफारिस भएन । सरकारले अब संविधानले परिकल्पना गरेको समावेशिता, योग्यता, राष्ट्रिय जीवनमा पु¥याएको योगदान र राष्ट्रिय सभाको गरिमालाई ध्यानमा राखेर ‘उपयुक्त व्यक्ति’ सिफारिस गर्ने प्रक्रिया अघि बढाउने बताएको छ । कानुनमन्त्री सोविता गौतमले बिहीबार राष्ट्रिय सभा बैठकमा यस्तो जानकारी दिएकी हुन् ।

अघिल्लो सरकारको सिफारिस राष्ट्रपतिबाट रोकिएपछि नयाँ सरकारले त्यसलाई निरन्तरता नदिई नयाँ नामसमेत अघि नसार्दा नयाँ सरकारसँग विश्वासको व्यक्ति नभेटिएको या वर्तमान राष्ट्रपतिसमक्ष मनोनयनको सिफारिस नै नगर्ने प्रधानमन्त्रीको अडान प्मुख हो भन्ने विषय भने खुलिसककेको छैन ।

मन्त्री गौतमले सरकार परिवर्तन र संक्रमणकालीन अवस्थाका कारण मनोनीत सदस्यको विषय समयमै निष्कर्षमा पुग्न नसकेको बताएकी छन् । अब रिक्त पद पूर्तिको प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।

राष्ट्रिय सभाको अर्को रिक्त सिट सुदूरपश्चिमबाट निर्वाचित सदस्य बालदेव बोहराको निधनपछि खाली भएको हो । बोहराको ३० पुस २०८२ मा निधन भएको थियो । उनी २०८० को राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशको अन्य समूहबाट निर्वाचित भएका थिए ।

निर्वाचित सदस्यको पद कार्यकालमा छ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भए उपनिर्वाचनबाट पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ । तर सरकारले यो कानुनी व्यवस्थाको उल्ल.घन गरेको छ । निर्वाचन आयोगले यो सिटमा उपनिर्वाचनको प्रक्रिया अघि बढाइरहेको कानुनमन्त्री गौतमले जानकारी दिएकी छन् ।

अहिले राष्ट्रिय सभामा ५७ सदस्य मात्रै छन् । मनोनीत तीनमध्ये अहिले नारायणप्रसाद दाहाल र डा. अञ्जान शाक्य सदस्य छन् । दाहाल २५ चैत २०७८ मा राष्ट्रपतिबाट मनोनीत भएका थिए ।

सरकारले अब दुवै रिक्त पद शीघ्र पूर्ति गर्ने बताएको छ । मनोनीत सिटमा नयाँ नाम सिफारिस गर्ने र निर्वाचित सिटमा निर्वाचन आयोगमार्फत उपनिर्वाचन गराउने प्रक्रिया अघि बढ्ने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

सात महिनामा पनि भेटेन सरकारले ‘योग्य सांसद’