भोजपुरा–मिथिलाका जशासय सिंगारिए बेहुली झैं

वीरगन्ज । २०८३ साल कार्तिक २७ गते शुक्रबारदेखि सुरु छठ पर्व सुरु भएको छ । यो पर्वलाई लक्षित गरी पर्सासहित भोजपुरा र मिथिला क्षेत्रका प्रायः सबै पोखरी, तलाऊ तथा नदीहरु सिंगारिएर बेहुली झैं बनाइएका छन् ।

चार दिनसम्म बिशेष रुपले मनाइने छठ पर्वको मुख्य दिन आईतबार साँझ (सँझिया घाट र सोमबार बिहान बिहानी घाट) जलाशयमा भक्तजनको भव्य उपस्थिति हुन्छ । निष्ठा र आस्थाको पर्व मनाउन उत्साहित ब्रतालु तथा भक्तजन सँझिया र बिहानी घाटका लागि स्थानीय नदी तलाऊ तथा पोखरी लगायत जलाशयमा पुग्ने धार्मिक मान्यता अनुसार यो वर्ष पनि नदी, तलाऊ तथा पोखरीहरु सिंगारिएर बेहुली झैं बनाइएका हुन् ।

कात्तिक शुक्लचतुर्थी तिथीदेखि सप्तमी तिथीसम्म मनाइने यो पर्व २०८३ सालमा भने यही कार्तिक २७ गतेदेखि सुरु भएको हो । आगामी ३० कार्तिक सोमबार बिहान व्रतालु तथा भक्तजन र आस्थाका पवित्र मनहरुले नदी तलाऊ र पोखरीहरुमा पुगी उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि भने यो वर्षको छठपर्व समाप्त हुने ज्यातिष सम्राट डा.पुरुषोत्तम दुवेले बताए ।

साँझको अस्ताउँदो सूर्य र विहानको उदाउँदो सूर्यलाई विभिन्न जलाशयमा पुगी अघ्र्य दिने प्रचलन अनुसार श्रद्धालु तथा भक्तजन स्थानीय नदी तथा तलाऊ र पोखरीहरुमा पुगी अघ्र्य दिने हुनेहुँदा त्यहाँका जलाशय सिंगारिने गरेको उनको भनाइ छ ।

मधेशको महान् पर्व
मधेश प्रदेशको सबैभन्दा महान् पर्वका रुपमा भोजपुरा र मिथिला क्षेत्रमा मनाउने गरिएको छठ पर्व पछिल्लो वर्ष मुलुकभरी मात्र नभई नेपाली पुगेका विदेशमा समेत मनाउन थालिएको भेटिएको छ । आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप भोजपुरा र मिथिला क्षेत्रका घर–घरमा छठका गीत गुञ्जिरहेका छन् । सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले यो प्रदेशभरी नै छठमय वातावरण सृजना भएको सर्वसाधारणको ठम्याई छ ।

पर्वको तयारीका लागि स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट गर्छन् । त्यसैले त्यहाँ आफै सरसफाइका काम पनि गरिरहेका छन् । विशेषगरी युवाहरु छठघाट निर्माण तथा सजावटमा सक्रिय रहेको वीरगन्जको घडिअर्वा पोखरी, मूर्लि पोखरी लगायतका जलाशयको अवस्थाले पुष्टि गरेको छ ।

सबैका घर चिटिक्क
सम्पन्नका पक्का घर मात्र के ? अहिले सर्वसाधारणका टाटीले बनाएका घरका भित्ता झन लिपपोत तथा रङरोगन भई चिटिक्क पारिएका छन् । घरमात्र नभई सार्वजनिक स्थल, सडक समेत सरसफाई गरी सधैं भिडभाड हुने शहरबजार समेत झिलिमिली बत्ती जडान गरी मनमोहक बनाइएका छन् ।

सबै नागरिकले आफ्नो क्षमता अनुसार श्रद्धा र निष्ठाका साथ मनाउने पर्वमा चाहिने सामग्रीले शहरबजार पनि भरिभराउ भएका छन् । यो पर्वमा महँगा सामग्री खासै नचाहिने र सबै कृषि कर्ममा रमाएका किसानले उत्पादन गरेकै समाग्री जस्तैः केरा, अदुवा, मुला, नरिवल, सुन्तला, उखुका लाँक्रा, बेसारका बोट, ज्यामिरलगायत जटासहितका सामग्री छठिमातालाई अर्पण गरिने प्रचलन छ ।

छठका सामग्रीमा एकरुपता
सम्पन्न होस् या विपन्न ! यो पर्वमा पुराना धनाढ्य वा नवधनाढ्यले समेत विपन्न नागरिकले प्रयोग गर्ने सामग्रीभन्दा भिन्न सामग्री खासै प्रयोग नगर्ने भोजपुरी साहित्यका विज्ञ डा विश्वम्भर शर्माको भनाइ छ । मधेशकै महान् पर्व भएकोले यो पर्वका लागि घर बाहिर रहेका र काम विशेषले विदेशमा रहेका घरका सदस्य समेत धमाधम आउने क्रम पनि जारी रहेको उनको भनाइ छ । मधेशमा यो वेला हरेक भेटघाट र कुराकानीदेखि घरायसी कामकाजसम्म छठकै कुरा र कामले सबैको मन छठमय भएको पनि डा.शर्माको तर्क छ ।

छठका सामग्रीले बजार छपक्कै
भोजपुरा र मिथिला क्षेत्रका हाटबजार अहिले छठ पूजाका सामग्रीले खचाखच भरिएका छन् । छठ पर्वमा सबै सामग्री चोखोनितो हुनु पर्ने मान्यताले छठीमातालाई अर्पण गर्न किनिएका सामग्री राख्न तथा अन्य प्रयोजनका लागि बाँसका चोया र कप्टेराबाट बनाइएका ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको पनि बिक्री ह्वात्तै बढेको भेटिएको छ । यसको साथै घर घरमा दियोको बत्ती पनि बालिने हुँदा माटोका दियो, दही जमाउने छ्याँचीलगायतका सामग्री सहित टौला, पानी राख्ने अङ्खरा र गाग्री, हात्तीलगायत माटाका भाँडाको बजार पनि राम्ररी फष्टाएको छ । छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण बाँसका र माटाका सामग्रीको किनमेल बढेको सर्वसाधारणको दावी छ ।

यता छठ पर्वमा सबैभन्दा बढि खपत हुने पक्वान्न ठेकुवा र भुसुवासहितका प्रसादका सामग्री बनाउन चामल र गहुँको पिठोको खपत पनि ह्वात्तै बढेको छ । घरमै ढिकी र जाँतो हुनेहरुले घरमा नै जोहो गरे पनि अन्यको हकमा पनि बजारमा सफा र शुद्ध तरिकाले तयार पारिएका सामग्री पनि किनबेच भइरहेको छ ।

पर्सा, बारा र रौतहट सहित भोजपुरा र धनुषा, महोत्तरी, सिरहा, सप्तरी लगायत मिथिला क्षेत्रका महिलाहरू छठका लागि चामल र गहुँको पिठो तयार पारी निष्ठाको पवित्र पर्व छठको भव्य तयारीमा जुटेको स्थानीयहरुले बताएका छन् । छठ पर्वको बिशेष चारदिन ‘नहाय–खाय’ विधिबाट सुरु भई दोस्रो दिन ‘खरना’, तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिने र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई सम्पन्न हुने पनि उनीहरुको भनाइ छ ।

यो पर्वमा पुराना मनमुटाव बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको भक्तिभाव गर्ने मान्यता छ । अझ यो पर्वको मुख्य विशेषता नै जातीय तथा सामुदायिक विभेद नगरी छठघाटमा सबै एकै लहरमा बसी पर्व मनाउने परम्परा छ । सूर्यदेव र षष्ठीदेवीको उपासना गरी मनाइने यो पर्वले सबैको भलो हुनु जनविश्वास रहेको पाइन्छ ।

ट्राफिक जामको समस्या
छठका सामग्री किनमेल गर्न एकै पटक ठूलो चाप बजारमा पुगेपछि ती सामग्री किन्नेको अध्याधिक भिडले बजारमा ट्राफिक जामको चरम समस्या बढेको छ । मुलुककै आर्थिक नगरी समेत रहेको भोजपुरा क्षेत्रको वीरगन्ज बजारमा अहिले एक घण्टामा सकिने किनमेलको काम ३ घण्टामा सक्न सकस भएको सर्वसाधारणको गुनासो छ । मानिसको आवागमन बढि हुने कुरालाई लक्षित गरी स्थानीय प्रहरी प्रशासनले अझ बढि सतर्कता अपनाउन नसकेको पनि उनीहरुको गुनासो छ ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

जाँतको रौनक: शैलेश्वरदेखि कैलपालसम्म विशेष पूजाआजा