अभिषेक राष्ट्रिय टोलीबाट बाहिर

काठमाडौं । आसन्न साफ च्याम्पियनसिप र भारतविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको घोषण गरिँदा फरवार्ड अभिषेक रिजालसहित तीन खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार २८ सदस्यीय टोलीबाट ३ खेलाडी कटौती गर्दा यसअघि टोलीमा रहेका अभिषेक रिजालसहित गोलरक्षक अर्पण कार्की र विंगर शिशिर लेखीले २५ सदस्यीय टोलीमा स्थान बनाउन सकेनन् ।

अभिषेक पछिल्लोपटक कुवेत भ्रमणको टोलीमा रहेका थिए । २५ सदस्यीय टोलीमा चार गोलरक्षक रहेका छन् । डिफेन्डर राजन गुरुङ र नितिन थापा पहिलोपटक राष्ट्रिय टोलीमा पर्ने प्रयासमा छन् । राष्ट्रिय टोलीमै रहेका गोलरक्षकद्वय विशाल श्रेष्ठ र दीप कार्कीले राष्ट्रिय टोलीबाट डेब्यु गर्न बाँकी छ । नेपाली टोली माल्दिभ्समा हुने साफ च्याम्पियनसिप र घरेलु मैदानमा भारतसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि पोखरामा प्रशिक्षणमा व्यस्त रहेको छ ।

दुई साताअघि ३८ सदस्यीय नेपाली टोली पोखरा प्रस्थान गरेको थियो । गत साता अनुभवी फरवार्ड भरत खवास, रेजिन धिमाल र विक्रम लामासहित १० खेलाडी टोलीबाट बाहिरिएको थिए । भारतसँगको मैत्रीपूर्ण खेल १७ र २० भदौमा त्रिपरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । भारतसँगको दुई खेलपछि प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गर्नेछ । साफ च्याम्पियनसिप १ देखि १६ अक्टोबरसम्म माल्दिभ्समा हुने तालिका छ । च्याम्पियनसिपमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ ।

नेपालले आयोजक समेत रहेको साविक विजेता माल्दिभ्ससँग १५ असोजमा खेल्दै यसपटकको साफ च्याम्पियनसिप सुरुवात गर्नेछ । मालेमा हुने च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध १८ असोजमा खेल्नेछ । त्यस्तै तेस्रो खेल नेपाली टोली साफको सर्वाधिक सफल टोली भारतसँग २४ असोजमा तथा राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले २७ असोजमा बंगलादेशसँग खेल्नेछ । राउन्ड रोविन लिग पनि शीर्ष २ टोलीले ३० असोजमा फाइनल खेल्नेछन् । नेपाली टोली अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन ।

२५ सदस्यीय टोली
किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), विकेश कुथु (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, राजन गुरुङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी र तेज तामाङ

७ नयाँ खेलाडी राष्ट्रिय टोलीमा
अखिल नेपाल फुटबल संघ (एन्फा)ले ७ खेलाडीलाई पहिलोपटक समेट्दै एएफसी महिला एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको छ । ग्यारी फिलिप्सको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले हङकङ र फिलिपिन्सविरुद्ध अर्को महिना हुने छनोट खेलका लागि ७ खेलाडीलाई पहिलोपटक टोलीमा समेटेका छन् । पहिलोपटक टोलीमा पर्नेमा मिडफिल्डर प्रीति राई, फरवार्ड सविता राना मगर, रश्मि कुमारी घिसिङ, रजनी थोकर, डिफेन्डर विमला विक, निशा थोकर र सिर्जना सिंह रहेका छन् ।

पहिलोपटक क्याम्पमा परेकी अमिषा कार्की, अनुभवी डिफेन्डर अन्जली वाइबा र फरवार्ड शर्मिला थापामगरसँगै हेमा चौधरी र मनिषा राउत भने अन्तिम छनोटमा पर्न सकेनन् । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले २ असोजमा फिलिपिन्ससँग तथा ४ असोजमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोली भारतमा अर्को वर्ष हुने एसिया कपका लागि छनोट हुनेछ ।

यसअघि नेपाली टोलीले बंगलादेशविरुद्ध दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने प्रक्रिया पनि सुरु गरिएको छ । यस विषयमा भने दुवै संघले अन्तिम तयारी गरिरहेका छन् । चोटका कारण लामो समयपछि फरवार्ड सावित्रा भण्डारीबिना नेपाली टोली अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि निस्किँदै छ । कतारमा घुँडाको शल्यक्रियापछि सावित्रा फिजियो गराइरहेकी छन् ।

नेपाली टोली
अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अमृता जैसी, विमला विक, गीता राना, हिराकुमारी भुजेल, निशा थोकर, पुनम जर्घा मगर, सिर्जना सिंह, पूजा राना, अनिता बस्नेत, विमला चौधरी, दीपा राई, इन्दिरा राई, मन्जली तामाङ योन्जन, प्रीति राई र रेनुका नगरकोटे

तपाइको प्रतिक्रिया
(Visited 326 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा संकटको चर्चाबीच दाहाल–ओली दुई घण्टा भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रेणु–सिर्जनालाई देउवाको ढाडस