सिर्जना र केशवका लागि बालेन चुनौती

काठमाडौं । देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा चुनावी सरगर्मी बढेको छ । पाँच दलीय गठबन्धन, नेकपा एमालेका साथै स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका दिएका छन् ।

काठमाडौं महानगर

उम्मेदवारहरू घरदैलो कार्यक्रम गर्दै आफू नै सक्षम, बलियो, राम्रो रहेको दाबी गर्दै आफूलाई मतदान गर्न सर्वसाधारणसँग अपिल गरिरहेका छन् । वैशाखको चर्को गर्मीबीच उनीहरूले बिहान र साँझको समयमा घरदैलो कार्यक्रम गरिरहेका छन् ।

आफू आबद्ध पार्टी र उम्मेदवारले घोषणा गरेको प्रतिबद्धतापत्र बोकेर उनीहरू सर्वसाधारणको घरमा पुगिरहेका छन् । आफू विजयी भए गर्ने विभिन्न काम’bout जानकारी दिँदै मतदाता रिझाउने काममा अहिले उनीहरू लागिरहेका छन् ।

पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसबाट सिर्जना सिंह र एमालेबाट पूर्व मेयर एवं बाग्मती प्रदेशका पूर्वमन्त्री केशव स्थापित, स्वतन्त्र उम्मेदवार बालेन शाहलगायत काठमाडौं महानगरको मेयरका उम्मेदवार रहेका छन् ।

यस्तै, पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठ र एमालेबाट सुनिता डंगोललगायतका नेता उपमेयरका उम्मेदवार रहेका छन् । बलियो र पुरानो पार्टीबाट मेयरमा उम्मेदवारी दिएका नेतामाथि स्वतन्त्र उम्मेदवार रहेका बालेन शाह चुनौतीका रूपमा देखा परेका छन् । स्थानीयहरूले काठमाडौंमा त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरेका छन् ।

सिर्जनालाई दौडधुप
काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार रहेकी कांग्रेस नेत्री सिर्जना सिंहको दौडधुप बढेको छ । बिहान र बेलुका गरी दुई समयमा उनी घरदैलो कार्यक्रम गरिरहेकी छन् । सिंहको साथमा कांग्रेस नेता प्रकाशमान सिंहका साथै स्थानीय नेताहरूको सहभागिता रहेको छ ।

सिंह ‘विविध सुसंस्कृतिले भरिएको हाम्रो सहर, सुशासन र सुविधाले सजाउने हाम्रो रहर’को एजेन्डा बोकेर घरदैलो कार्यक्रम गरिरहेकी छन् । कांग्रेसले वडा कार्यालयको समन्वयमा घरदैलो कार्यक्रम गरिरहेको छ । कांग्रेस नेता सिंहका अनुसार अहिलेसम्ममा वडा नं. १, १०, १६, १९, २०, २४, २५, २२ र २३ मा घरदैलो कार्यक्रम सम्पन्न भइसकेको छ । बाँकी वडाहरूमा समेत घरदैलो कार्यक्रम जारी रहेको छ ।

काठमाडौंमा ३२ वडा रहेको छ । मेयर र उपमेयरमा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार भए पनि वडा अध्यक्ष र सदस्यहरूमा गठबन्धनभित्रैका नेताहरूसमेत प्रतिस्पर्धामा रहेका छन् । गठबन्धनभित्रै तालमेल नभएकाले एमाले उम्मेदवार स्थापितले आफ्नो विजयी सुनिश्चित रहेको दाबी गरिरहेका छन् ।

सिर्जनाले काठमाडौं महनगरवासीलाई ठूला सपना देखाउनेभन्दा पनि व्यवस्थित र सफा काठमाडौं बनाउन प्रमुख भूमिका खेल्ने दाबी गरिरहेकी छन् । काठमाडौंका सडकमा गरिबले पानी पिउन र शौचालयसमेत जान नपाउने अवस्था रहेको बताउँदै उनले आफू मेयर निर्वाचित भएमा सजिलै यस्ता समस्या समाधान गरिने बताइन् ।

विकसित भएर पनि अव्यवस्थित भएको काठमाडौंलाई व्यवस्थित गर्ने उनको एजेन्डा छ । ‘काठमाडौं बनाउने जिम्मा हाम्रो काँधमा आएको छ, सोही कारण मलाई काठमाडौंको मेयरका रूपमा पार्टी र गठबन्धनले अगाडि सारेको हो,’ उनको भनाइ रहेको छ ।

यस्तै, उनले भ्रष्टाचारमुक्त काठमाडौं बनाउने, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिनेलगायतका महत्वपूर्ण काम गर्ने आश्वासन दिएकी छन् । घरघरबाटै फोहोरको व्यवस्थापनदेखि जेष्ठ नागरिकको समस्या समाधानलगायतका विभिन्न योजना पूरा गर्ने उनले बताएकी छन् । काठमाडौं सस्कृति र सभ्यता र पुरार्तात्वक सम्पदाको संरक्षण गर्नेसमेत उनको योजना रहेको छ ।

स्थापितको घरदैलो तीव्र
काठमाडौंको पूर्वमेयरसमेत रहिसकेका स्थापित बाग्मती प्रदेशका पूर्वमन्त्रीसमेत हुन् । काठमाडौंका लागि उनी एक पुरानो हस्ती हुन् । स्थापित विगतमा मेयर भएर राम्रा काम गरेकाले सबैले उनलाई राम्रोसँग चिन्छन् ।

‘काठमाडौंको मुहार फेर्न एकपटक केशव स्थापितलाई हेर्नुस्’ भनेर जनताको घरदैलोमा उनी पुगिरहेका छन् । मेयरका उम्मेदवार स्थापितसँगै उपमेयरका उम्मेदवार सुनिता डंगोलसमेत स्थानीय नेताहरूसँगै घरदैलोमा व्यस्त छिन् ।

स्थापितले पनि बिहान र बेलुका गरी दुई समयमा घरदैलो कार्यक्रम गरिरहेका छन् । एमालेले काठमाडौंको चुनावी कमान्ड वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएको छ । पोखरेल काठमाडौं ५ बाट निर्वाचित संघीय सांसदसमेत हुन् ।

एमाले नेता बालगोपाल श्रेष्ठका अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म समय तालिका बनाएर घरदैलो कार्यक्रम गर्ने गरिएको छ । काठमाडौं १, २, ३, ४, ५, ६, १५, १८, २१ लगायतका वडाहरूमा घरदैलो कार्यक्रम सम्पन्न भइसकेको छ ।

एमालेबाट महानगरलाई भौतिक संरचनाले सांस्कृतिक रूपमा भरिपूर्ण सहर बनाउने योजना घोषणापत्रमा सार्वजनिक गरिएको छ । संघीय राजधानीसमेत रहेको काठमाडौंलाई सांस्कृतिक सहरका रूपमा विकास गर्ने प्रतिबद्धता एमालेको छ । यसअघि स्थापित काठमाडौंको मेयर भएर गरेका विभिन्न राम्रा कामले उनी काठमाडौंवासीका लागि एक सफल नेताका रूपमा चिनिन्छन् ।

यस्तै, स्वच्छ छवि र युवा पुस्ताकी सुनिता डंगोल उपमेयरको उम्मेदवार एमालेले बनाएको छ । डंगोल काठमाडौंको संस्कृति जोगाउने एक अभियन्तासमेत हुन् । गत निर्वाचनमा एमालेबाट विद्यासुन्दर शाक्य मेयरमा विजयी भएका थिए ।

मंगलबार काठमाडौंमा आयोजित एक सभालाई सम्बोधन गर्दै स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित बनाइएको गुनासो गरे । विगतको काठमाडौंको मेयर हुँदा त्यहाँ काम गरेकी एक महिलाले अभद्र व्यवहार गरेको आरोप लगाउँदै गर्दा स्थापितले यसलाई अस्वीकार गरेका छन् । स्थापितले आफूले महिलाहरूको सधैं सम्मान गर्ने तर त्यसैलाई लिएर आरोपित भइरहन जरुरी नभएको बताउँदै आएका छन् ।

स्थापितले आफू महिला हिंसाविरोधी भएकाले उनीहरूमाथि आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको बताए । उनले आफूले जनतालाई फल दिनुपर्ने भएकाले कसैलाई पनि गाली दिन नमिल्ने बताए ।

बलिया उम्मेदवारलाई बालेन शाह चुनौती
काठमाडौं महानगरमा कुल ३ लाख ५ सय ४ मतदाता रहेका छन् । कांग्रेसका सिर्जना र एमालेका केशव दुई ठूला दलका बलिया उम्मेदवार हुन् । तर, यी दुवै बलिया उम्मेदवारका लागि स्वतन्त्र उम्मेदवार बालेन शाह चुनौती बनेका छन् ।

¥यापमार्फत देशको सामाजिक र राजनीतिक अवस्थामाथि टिप्पणी गर्ने बालेन (बालेन्द्र शाह) अहिले आफैं नीति निर्माण र कार्यान्वयन गर्ने संयन्त्रको नेतृत्व गर्ने आकांक्षासहित काठमाडौं महानगरको मेयर उम्मेदवार बनेका छन् ।

उनले औपचारिक रूपमा पाँच महिनाअघि काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेका थिए । उनको घोषणासँगै युवा जमात र उनका प्रशंसकमाझ माहौल जमेको छ । सामाजिक सञ्जालमा बालेनको चर्चा–परिचर्चा देखेर सिर्जना र केशव दुवै तर्सिएका छन् ।

सामाजिक अभियन्ता र कलाकारहरूको समेत साथ पाएका बालेन सञ्चारमाध्यम र विभिन्न सार्वजनिक कार्यक्रममा आफ्ना एजेन्डा सुनाएर जनसमर्थन बटुलिरहेका छन् । उनले समेत आफ्ना समर्थकलाई लिएर घरदैलो कार्यक्रम थालेका छन् ।

सामाजिक अभियन्तादेखि कलाकारसम्मको साथ पाएर सामाजिक सञ्जालमा हावी भएका बालेन शाह यथार्थमा चुनावी मैदानमा कत्तिको खरो उत्रने हुन्, त्यो भने हेर्न बाँकी नै छ । तर, बालेनकै क्याल्कुलेसनमा भने उनले ९० हजार ८ सय ३५ मत पाएर विजयी हुने दाबी पेस गरेका छन् ।

पेसाले इन्जिनियर, लगावले गायक बनेका बालेनको राजनीतिक व्यक्तिको परिचयमा पनि थपिएको छ । बालेनले फोहोर व्यवस्थापनदेखि ट्राफिक व्यवस्थापन, काठमाडौंलाई संग्रहालयजस्तो सहर भएकाले यसको यथोचित संरक्षण र जगेर्ना गर्नुपर्नेलगायतका योजना अघि सार्दै काठमाडौंवासीको मन जित्न खोजेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 501 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवा, पौडेल र नेपालको जिल्लामै भएन तालमेल