हुण्डी भनेको मुलभुत रुपमा अवैध वा अनौपचारिक तवरले एक देशबाट अर्को देशमा पैसा स्थानान्तरण गर्ने एउटा कार्य हो । समान्यतः यो एक प्रकारको अनौपचारिक मुद्रा स्थानान्तरण गर्ने प्रणाली हो जुन प्रायः बैंकिङ तथा वित्तीय सेवाहरूमा पहुँच नभएका अथवा औपचारिक बैंकिङ सेवासँग सम्बन्धित शुल्क र नियमहरूबाट बच्न चाहने व्यक्तिहरूले यसको प्रयोग गर्ने गर्दछन् । समग्रमा भन्नुपर्दा, हुण्डी एउटा अवैध क्रस बोर्डर मनी ट्रान्सफर प्रणाली हो ।
हुण्डी कारोबार अनौपचारिक एजेन्टहरूको नेटवर्क मार्फत सञ्चालन हुने गर्दछ, जसले एक देशमा प्रेषकहरूबाट पैसा लिन्छ र अर्को देशमा प्राप्तकर्ताहरूलाई नगद, अन्य कुनै प्रकारका वस्तु वा सामाग्री अथवा डिजिटल प्रणाली जस्ता विभिन्न माध्यमहरू मार्फत हस्तान्तरण गर्ने गर्दछ । हुण्डी नेपाल लगायत अन्य धेरै देशहरुमा प्रचलित छ । नेपालमा पनि यो लामो समयदेखिको समस्या हो । विदेशमा बस्ने नेपाली नागरिकले नेपालमा रहेका आफ्ना परिवारलाई पैसा पठाउन प्रायः हुण्डीको प्रयोग नै गर्ने गरेका पाईन्छ । जसका अनगिनत नकारात्मक प्रभावहरुले गर्दा नेपालको अर्थतन्त्र दिनप्रतिदिन धारासाही हुँदै गएको छ ।
विगतमा विशेष गरी दुर्गम क्षेत्र तथा आधिकारिक वित्तीय प्रणालीमा विश्वासको कमी रहेको स्थानहरुमा बाध्यता एवं अज्ञानतावस हुण्डीको प्रयोग हुने गरेको पाईन्थ्यों तर पछिल्लो समय / हिजोआज त्यसको ठीक विपरीत सुगम, शहरीया, प्रविधिमैत्री र उच्च हैसियत एवं ओहदाका व्यापारी, कर्मचारी र नेताहरुले जानाजान ठुल्लो परिमाणमा यसको प्रयोग गर्ने गरेका छन् । हुण्डी कारोबारका कारण राष्ट्र बैंकलाई पनि यथोचित रुपमा पैसाको प्रवाह ट्र्याक गर्न र नियमन गर्न निकै कठिनाई हुन्छ । नेपाल सरकारले पछिल्लो समय हुण्डी कारोबार नियन्त्रण गर्नका लागी औपचारिक बैंकिङ च्यानलहरूको प्रयोगलाई विगतको सापेक्षतामा केहि खुकुलो गरी प्रोत्साहन गर्ने र अनौपचारिक मनी ट्रान्सफर एजेन्टहरूमाथि कानूनी कार्यवाही गरेर यस समस्यासँग लड्ने चाहना प्रकट गरेतापनि ठोस एवं निर्मम पहलकदमी लिन सकिरहेको देखिदैन् । जसले गर्दा हुण्डी नेपालमा एक व्यापक अभ्यास बन्न पुगेको छ किनकि मानिसहरूलाई सीमापार पैसा पठाउनको लागि हुण्डी कारोबार तुलनात्मक रुपमा छिटो, सस्तो र सहज रहेको देखिन्छ । सरकारले हुण्डीविरुद्ध लड्नका लागि पहलकदमी लिएको जस्तो देखिएतापनि मुख्यतः मुलुकको राजनीतिक अस्थिरता तथा देशका उच्च पदस्थ कर्मचारी, राजनीतिक नेतृत्व, अपराधीक गिरोह र ठुल ठुल्ला व्यापारीघरानाहरुको समेत यस अपराधमा सीधा/प्रत्यक्ष मिलीभगत, सहभागिता र हिस्सेदारी रहने गरेको कारणले गर्दा यसको नियन्त्रण गर्न थप कठिनाई भएको छ ।
हुण्डी कारोबार नेपालको एउटा प्रमुख समस्या हो, किनकि यसले गर्दा देशमा धेरै कठिन समस्या र चुनौतीहरू निम्त्याएको छ । नेपालमा हुण्डीका कारण उत्पन्न भएका केही प्रमुख समस्या र चुनौतीहरु यस प्रकार छन् :
सरकारी नियमनको अभाव:
हुन्डीको मुख्य चुनौतीहरू मध्ये एक पैसाको प्रवाह ट्र्याक गर्न र नियमन गर्न कठिनाई हुनु हो । नेपाल सरकारले विगतको सापेक्षतामा औपचारिक बैंकिङ च्यानलहरूको प्रयोगलाई प्रोत्साहन गरेर तथा अनौपचारिक मुद्रा स्थानान्तरण गर्ने एजेन्टहरूलाई कानूनी कारबाही गरेर यो समस्यासँग लड्ने ईच्छा देखाएतापनि अनौपचारिक मुद्रा स्थानान्तरणलाई ट्र्याकिङ र नियमन गर्ने ठोस आधार र प्रभावकारी कार्ययोजना समेत तर्जुमा गर्न सककछैछैन् ।
भ्रष्टाचार:
हिजोआज ससाना र खुद्रा घुस लेनदेन बाहेकका लगभग सबै ठुल ठुल्ला परिमाण र नीतिगत स्तरका घुस लेनदेनको प्रमुख माध्यम हुण्डी बन्न पुगेको छ । नेपालको उच्च पदस्थ कर्मचारी, राजनीतिक नेतृत्व, न्यायालय, सुरक्षा निकाय, कर्पोरेट मिडिया र व्यापरिक घरानाहरुबाट कुनै न कुनै सदस्य विदेशमा बस्ने र हुण्डीको माध्यमले ’emको हातबाट राजस्व छली, लुट, फिरौती, घुस र कमिशन जस्ता अवैध आर्थिक कारोबारहरु गर्दा समेत देशमा अपराधको दण्डबाट बच्न सक्ने सम्भावना अधिक रहेकोले गर्दा यसको प्रयोगमा व्यापकता आएको छ ।
भगौड़ा वर्गको उदय र पूँजी पलायन:
हुण्डी कारोबारले भगौड़ा वर्गको उदय र पूँजी पलायनलाई विशेष सहयोग, संरक्षण एवं प्रोत्साहन गरेको पाईन्छ । आधुनिक सुख, सुविधाको रहर एवं लोभमा मुख्यतः नेपालको शाशक वर्ग र शहरीया जनताहरु पीआरको लोभमा नेपाली नागरिकता परित्याग गर्दै अमेरिका, अस्ट्रेलिया, युरोप, जापान जस्ता विकसित मुलुकको नागरिक बन्नी देशबाट ठुल्लो मात्रामा अवैध तरिकाले पूँजी हस्तान्तरण/पलायन गरी नेपालको अर्थव्यवस्थालाई उजाड़ एवं कंगाल बनाउने अभ्यास विगत लामो समयदेखि हुँदै आएको पाईन्छ । तर यस्तो भयावह एवं विकराल स्थितिलाई तत्काल रोक्न राज्यले प्रभावकारी नीति एवं ठोस कार्ययोजना मार्फत अगाडि बढ्नुकोसट्टा उल्टै लापरवाह र उदाशीन भई निरीहता एवं अकर्मण्यताको स्थित सृजित गर्नु देश र जनता दुबैका लागी दुर्भाग्यपू्र्ण विषय बन्न पुगेका छ ।
रेमिटेंस असन्तुलन:
वर्तमान समयमा रेमिटेंस नेपालको अर्थव्यवस्थाको एउटा प्रमुख हिस्सा हो । नेपालबाट सदाका लागी विदेशमा गई बस्ने भगौड़ा वर्गको माध्यमले हुने पूँजी पलायन, भ्रष्टाचार, आयत व्यापारमा कर छली गर्न गरिने कम बीजीकरण जस्ता ठूलठूला रकमको व्यवहारिक हिसाब मिलान गर्ने सबैभन्दा ठुल्लो अस्त्र भनेकै आज रेमिटेंस बन्न पुगेको छ । विदेशी भूमिमा लगभग ५० लाखभन्दा बढीको संख्यामा काम गर्ने हाम्रा सच्चा श्रमवीरहरुमा मुख्यतः चेतनाको अभाव र सानोतिनो लोभका कारण उनीहरुले आर्जन गर्ने गरेको बचत रकमको लगभग आधाभन्दा बढी पैसा अवैध विप्रेषण मार्फत नेपाल पठाउँदा रेमिटेंस असन्तुलनको स्थिति देखा पर्न गएको छ । यसको लागि विदेशबाट रेमिटेंस भित्र्याउने अनुमति पाएका वैध कम्पनीहरू समेत हुण्डी कारोबार मार्फत अवैध अर्थतन्त्रको सञ्जाल फैलाउन सक्रिय रहेका छन् ।
राजस्व घाटा : नेपालले वर्तमान समयमा हुण्डी कारोबारका कारण ठुल्लो परिमाणमा राजस्व नोक्सानी खेप्नुपरिरहेको स्थिति छ । हुण्डी कारोवार कर र कानूनको अधीनमा नहुने भएकोले, हुण्डी प्रयोग गर्ने व्यवसायीहरू सहजै कर छली गर्न सफल हुन्छन् र संगसगैं कानुनी प्रणाली भित्र काम गर्ने व्यवसायीहरूको तुलनामा अन्य थप अनुचित फाइदा समेत लिनेगर्दछन्, जसले गर्दा सिधा राज्यको राजस्व प्रणालीमा धेरै नकरात्मक असर पर्न जान्छ ।
विदेशी मुद्रा:
हुण्डी मार्फत पैसाको अप्रत्याशित बहिर्गमनले गर्दा हाम्रो देशमा विदेशी मुद्रा संचयको स्थितिलाई हानि पुर्याउँछ र हुण्डीमार्फत मुद्राको वास्तविक बहिर्गमनले समग्र अर्थतन्त्र र देशको व्यापार घाटालाई समेत असर गर्ने गरेको देखिन्छ ।
वित्तीय अपराध र सम्पत्ति शुद्धीकरण:
हुण्डी कारोबारले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणसंग सम्बन्धित अपराधलाई बढावा दिएको छ । कर छली र आतंकवादी वित्तपोषण जस्ता गैरकानूनी गतिविधिहरूलाई सहज बनाउन यसको गलत प्रयोग गर्ने गरेको देखिन्छ ।
अन्तर्राष्ट्रीय अपराध एवं तस्करी:
हुण्डी कारोबारले गर्दा हिजोआज नेपालमा विभिन्न अन्तर्राष्ट्रीय स्तरको अपराध र अवैध समानहरुको निकासी पैठारी (तस्करीजन्य क्रियाकलाप) मा दिनप्रतिदिन झनझन बढोत्तरी हुँदै गएको पाईन्छ । जसले गर्दा निकट भविष्यमा हामीले झन बढी भयावह स्थितको सामना गर्नुपर्ने हुनसक्छ ।
प्रयोगकर्ताहरूको लागि जोखिम:
हुण्डी मार्फत कारोबार गर्ने प्रयोगकर्ताहरूमा समेत यसले नकारात्मक असर पारिरहेको स्थिति छ । हुण्डी कारोबारको लेनदेन कानूनद्वारा सुरक्षित हुने नभएको कारणले गर्दा प्रयोगकर्ताहरू आफ्नो पैसा गुमाउने वा ठगीको सिकार हुने जोखिममा रहन्छन् ।
औपचारिक बैंकिङ प्रणालीमा सीमित पहुँच:
नेपालको धेरै ठाउँहरुमा आजपनि पहुँचयोग्य र भरपर्दो बैंकिङ प्रणालीको अभाव, चेतनाको कमी र विशेष गरी दुर्गम क्षेत्रमा आधिकारिक वित्तीय प्रणालीमा विश्वासको कमी लगायतका अन्य समस्याहरू हालसम्म पनि विद्यमान नै रहेको कारणले गर्दा समेत आम जनता हुण्डीतर्फ धकेलिएका छन् ।
फितलो कानूनले राज्य संयन्त्र लाचार:
नेपालमा पछिल्लो समय अवैध पैसाको कारोबार हुण्डी र क्रिप्टोकरेन्सीको स्तरमा पुगीसक्दा समेत राज्यसंग आजपनि उही दशकौं पुराना विदेशी विनिमय ऐन, २०१९ सक्रिय हुनुले यस अपराधमाथि राज्य संयन्त्रको नियमन र नियन्त्रण कार्य निरिह एवं लाचार हुन पुगेको छ । तसर्थ, यस दलदलपूर्ण स्थितिको यथाशीघ्र अन्त्य गर्दै प्रभावकारी ढंगबाट सबल एवं स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नसक्ने गरी यथोचित नीति र वस्तुवादी कार्ययोजना अख्तियार गरी देशलाई अगाडि बढाउन जरूरी छ ।
लेखक: आम जनता पार्टीको केन्द्रीय प्रवक्ता तथा आईटी आर्मीको राष्ट्रिय अध्यक्ष समेत हुन ।