सुरु भयो पुरुषोत्तम महिना

धार्मिक तथा ज्योतिष शास्त्रनुसार विगत २०७७ सालमा २ देखि ३० असोजसम्म अधिकमास अर्थात् पुरुषोत्तम महिना परेको थियो भने यस वर्ष २०८० सालमा २ साउनमा आरम्भ भई ३१ साउनमा पुरुषोत्तम तथा अधिकमास महिना समाप्त हुँदै छ । सोही शब्दलाई अर्को शब्दमा भन्ने हो भने मासको अर्थ महिना हो । खासगरीकन भन्ने हो भने यसको नाम मलमास नभएर अधिकमास, पुरुषोत्तम महिना पनि हो । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । यो पञ्चाङ्ग गणनाको सूर्यमानअनुसार वर्षमा ३ सय ६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ, जब कि चन्द्रमानअनुसार वर्षमा ३ सय ५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ ।

यसमा सूर्यमान तथा चन्द्रमानबिच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुनेगर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि अधिकमासको व्यवस्था गरिएको पाइन्छ । मूलतः अधिकमास अर्थात् पुरुषोत्तम महिना प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो मास प्रायः फागुनदेखि कात्तिकको बिचमा पर्नेगर्छ । जुन वर्ष अधिकमास पर्छ, त्यस वर्ष १२ को स्थानमा १३ महिना हुन्छ । फलतः अधिकमासको निर्णय सूर्य संक्रान्तिको आधारमा गरिन्छ । जुन महिनामा सूर्य संक्रान्ति हुँदैन, त्यसलाई अधिकमास भनिन्छ । यस पुरुषोत्तम महिनालाई मलमास, अधिकमास आदि नामबाट पनि चिनिन्छ । हाम्रो समाजमा मलमासको धार्मिक दृष्टिले जति महत्व छ, त्यतिकै रूपमा वैज्ञानिक दृष्टिले पनि महत्वपूर्ण स्थान रहेको पाइन्छ ।

अतः प्राडा. दुर्गाप्रसाद दवाडीको भनाइनुसार मलमास भन्नाले अधिकमास र क्षयमास दुवै मानिन्छन् । तर, क्षयमास कहिले ९ सय ७४, कहिले १ हजार १ सय १५, कहिले १ हजार २ सय ५६, कहिले १ हजार ३ सय ७८, कहिले १ सय ४१, कहिले ४६ र कहिले १९ वर्षमा पर्छ भने अधिकमास भने प्रायः ३२ महिनाको १६ दिन ४ घडीमा पर्छ ।

विगत वर्षहरूलाई अवलोकन गर्ने हो भने आजभन्दा १८ वर्षअघि पुरुषोत्तम, मलमास वा अधिकमास २०६१ सालमा १ साउनदेखि ३२ साउनसम्म परेको थियो । त्यसैगरी, २०६४ सालमा ३ जेठदेखि ३१ जेठसम्म, २०६७ सालमा २ वैशाखदेखि ३१ वैशाखसम्म, २०६९ सालमा २ भादौदेखि ३१ भदौसम्म, २०७२ सालमा २ असारदेखि ३१ असारसम्म, २०७५ सालमा २ जेठदेखि ३१ जेठसम्म परेको थियो । यसरी विभिन्न धार्मिक शास्त्रमा उल्लेख भएनुसार अधिकमासको उत्पत्ति १२ महिनाका मयलहरू जम्मा भएर भएको देखिन्छ । तर, स्वयं विष्णुले नै आफ्नो पुरुषोत्तम भन्ने नामबाट यस महिनाको नामकरण गरी यतिबेला गरिएको यज्ञ, अनुष्ठान, व्रतोपवासादि कर्मबाट अनन्तगुणा बढी प्रतिफल पाइनेछ ।

यस वर्ष २ साउनमा आरम्भ भएर ३१ साउनमा पुरुषोत्तम तथा अधिकमास समाप्त हुँदै छ

पुराणमा उल्लेख भएनुसार मलमास हाम्रो मयलबाट उत्पन्न भएकाले तेरो स्थान हाम्रोसरह हुनुहुँदैन भनी अन्य सबै महिनाले घृणा गर्न थालेकाले एकपटक मलमास रुँदै भगवान्् विष्णुको शरणमा पुगेको थियो । उसको दुःख पुकारा सुनिसकेपछि विष्णुले यस महिनालाई घृणा होइन सबैले सम्मान गरून् भन्ने उद्देश्यले पुरुषोत्तम मासको नामकरण गरी विशेष धार्मिक महत्व प्रदान गरेका थिए । त्यसैले, त्यतिबेलादेखि हालसम्म विशेष पुण्य प्राप्तिका लागि यतिबेला विभिन्न ३३ नामबाट भगवान्् विष्णुको पूजा गर्दै आइएको पाइन्छ । पूरा महिनाभर भगवान्् विष्णुको पूजा गरी अन्तिम दिन विष्णुको पूजा गरिएको सोही ३३ नाममा ३३ वटा मालपूवा दान गर्नाले अनन्त पुण्य मिल्ने विश्वास लिइन्छ ।

हिन्दू धर्ममा अधिकमास किन भनिएको हो यो शंका हुन्छ । एक महिनामा केही समय बढी भएकाले मलमास भन्ने हो भने तिथि बढ्दा पनि तिथि पनि मल हुनुपर्ने, त्यसो हुँदैन । त्यसो हुँदा समय बढी भएर नपुंसक हुनु नै मलमास हो । मलमास नपुंसक किन भयो ? भन्दा ज्योतिष शास्त्रमा भनिएको छ, ‘संक्रान्ति नभएको महिना कहिले तिथिको वृद्धिले गर्दा अर्को महिना पनि त्यसैभित्र पर्ने हुँदा त्यो नपुंसक भनिएको हो ।’ वास्तवमा पुरुष सूर्यको त्यस महिनामा अभाव हुनाले (संक्रान्ति) नपरेको हुनाले त्यो मास नपुंसक मानिएको हो । यसरी मलमासमा प्रायः शुभ कार्य वर्जित छन् कुनै शुभकार्यको प्रारम्भ गर्न हुँदैन । नित्य र नैमित्तिक कार्य भने गर्नु हुन्छ । जसमा भन्ने हो भने नित्यजस्तै सन्ध्या, तर्पण, देवपूजन, वलिवैश्वदे, अग्निहोत्र, १० पूर्णमास मात्र आदि । यसर्थ नैमित्तिक, जातकर्म, नामकरण, निष्क्रमण, अन्त्येष्टि यी कर्म गर्न हुन्छ । जसमा अवन्यागलिक कर्म अर्थात् त्यस्ता कर्म जुन नगरेमा कर्मलोप हुने सम्भावना हुन्छ ।

ती कर्म मासमा गर्नुपर्ने हुन्छन् । सन्ध्यादि नित्य कर्म नगरेमा जातकर्म नामकरण आदि नगरेमा लोप हुने सम्भावना भएकाले त्यस्ता कर्म गर्नु हुन्छ । यसमा खासगरीकन मलमास चूडाकर्म व्रतबन्ध, अग्नाधान, यज्ञोत्सव, महालय श्राद्ध, राज्यभिषेक अति वर्जित छन् । वस्तुतः अपूर्ण व्रतको मलमासमा गर्नुहुँदैन । यसैगरी, व्रतको समाप्ति पनि मलमासमा गर्नुहुँदैन । जुन वैशाख स्नान, कात्तिक स्नान, माघस्नान, यी पुण्य स्नानहरू भनौं मलमासको दुवै महिनामा गर्नुपर्छ ।

खासगरीकन मलमासमा चूडाकर्म व्रतबन्ध, अग्नाधान, यज्ञोत्सव, महालय श्राद्ध, राज्यभिषेक अति वर्जित छन्

अन्त्यमा भन्नुपर्दा पूर्णमासीदेखि दोस्रो पूर्णमासी अर्थात् एक अमावश्यदेखि दोस्रो अमावश्यसम्मको समय झन्डै २९ दिन ९ घण्टादेखि २० घण्टासम्मको हुन्छ । जब चन्द्रमानअनुसार महिनाहरूको गणना हुन्छ । अनि १२ महिना मिलेर एक सौर्यवर्ष भन्दा झन्डै १० दिनको घटी हुन्छ र तीन–तीन वर्षमा कुनै न कुनै राशिअन्तर्गत नै उसको आरम्भ एवं अन्तर्गत नै उसको आरम्भ एवं अन्त्यमा दुई पूर्णिमा अथवा दुई अमावश्य हुन जान्छ । यस्तो अवस्थामा नेपाली पञ्चाङ्गमा अधिकमास पुरुषोत्तम वा मलमास भनिन्छ । त्यस्तैगरी, अर्को अर्थमा भन्नुपर्दा अधिकमासको अर्थ बढी भएको महिना भन्ने हुन्छ । बढी भएको महिना भन्नाले एक वर्षभित्र एक महिना नै बढी भएको हुन्छ ।

तर, सो बढी दिन वा महिनागत हिसाबले नभई तिथिगत हिसाबले भएकाले सो वृद्धि वर्ष दिनको परिमाण १२ महिनामा ३ सय ६५ दिनमा नभई तिथिहरूबाट बन्ने र पक्षमा मात्र हुन्छ । त्यसैले, अन्य साल २४ पक्षको वर्षदिन हुन्छ भने अधिकमास परेको साल २६ पक्षको वर्षदिन हुन्छ । तर, महिना र दिन भने उही १२ महिना र ३ सय ६५ दिन नै हुन्छ । चान्द्रमानका अनुसार प्रत्येक वर्षमा बढी हुने ११ दिनलाई जम्मा गरी प्रत्येक तीन वर्षमा एउटा अधिकमास आउँछ । तर, चान्द्रमानअनुसार भने प्रत्येक महिनाको दिनमान २९ मात्र हुने भएकाले वर्ष दिनमा कुल ३ सय ५४ दिन मात्र हुन्छ । यही ३ सय ६५ दिन र ३ सय ५४ दिनको फरकबाट आउने ११ दिनको बढी समयलाई मिलान गर्न नै यस महिनाको योगदान बढी भएको धार्मिक शास्त्रहरूले बताएको पाइन्छ । खासगरीकन १२ महिनामा मंसिर, पुस र माघ महिनामा भने पुरुषोत्तम महिना पर्दैन ।

यसरी समग्र १२ महिनालाई हेर्ने हो भने तीन महिनालार्ई छोडेर
अरू नौ महिनामा मात्र पुरुषोत्तम महिना पर्छ । यसरी दुईवटा अधिकमासको बिचमा अगाडि र पछाडि गरी आउनेलाई क्षयमास नामबाट पुकारिन्छ । अतः क्षयमास भने २०३९ सालको असोज र फागुन महिनामा परेको थियो भने त्यस्तैगरी, अब आउने २०८५ सालको कात्तिक र चैत महिनामा पनि क्षयमास पर्ने कुरा स्पष्ट छ ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धन खुकुलोः सत्तारूढ दलमै असन्तुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न युवा पुस्ता उत्साहित