ई–टिकेटिङले सिनेमामा ल्याएको क्रान्ति

काठमाडौं । कुनै एक समय थियो । जतिबेला अभिनेता भुवन केसी, शिव श्रेष्ठ, राजेश हमालजस्ता अभिनेताको सिनेमा हेर्न हलमा दर्शकको भिडभाड हुन्थ्यो । तर, यी कलाकारको सिनेमाको टिकट पाउन दर्शकका लागि त्यति सहज थिएन । घाम पनि नभनी टिकट काट्न डेढ–दुई घण्टा लाइनमा बस्नुपथ्र्यो । टिकट काउन्टरमा पुगेपछि सानो प्वालबाट हात छिराएर टिकट लिन त्यत्तिकै सास्ती हुन्थ्यो । सो प्वालमा कसले पहिला हात छिराउने भन्ने प्रतिस्पर्धामा कतिको त हातको छाला नै जान्थ्यो । यति दुःख गरेपछि बल्ल सिनेमाको टिकट पाइन्थ्यो । अनि दर्शकले सिनेमा हलमा चलचित्र हेर्ने सौभाग्य पाउँथे ।

यो कुरा अहिले एकादेशको कथाजस्तै भएको छ । आजकाल टिकट काट्नका लागि यसरी घण्टौं लाइनमा बस्नुपर्दैन । घरमै बसेर अनलाइनमार्फत सिनेमाको टिकट बुक गर्न सकिन्छ । त्यो पनि आफूले चाहेको सिट रोज्न पनि पाइन्छ । अनि डिजिटल बालेटबाट पैसा तिरेपछि सिनेमाको टिकट बुक हुन्छ । नेपालमा बक्स अफिस प्रणालीसँगै ई–टिकेटिङ (विद्युतीय टिकट) सेवा भित्रियो । यस सेवासँगै बक्स अफिसमा लाइन बस्नुपर्ने झन्झटबाट नेपाली दर्शकहरू मुक्त भएका छन् ।

नेपाल चलचित्र संघका उपाध्यक्ष एवं पुष्पाञ्जली सिनेमा हलका सञ्चालक गोपालकाजी कायस्थका अनुसार नेपालमा ई–टिकेटिङ सेवा नेपालमा भिœयाउनमा क्यूएफएक्स सिनेमाको देन रहेको छ । डेढ दशकअघि काठमाडौंको जयनेपाल हललाई आधुनिकीकरण गरेर क्यूएफएक्स सिनेमाले कम्प्युटर प्रणालीमार्फत टिकट बिक्री गरेको थियो । त्यसपछि कुमारी हल हुँदै मुलुकमा दुई दर्जन चेन हल खोल्न क्यूएफएक्स ग्रुप सफल भयो । उसले एकपछि अर्को गर्दै सबै हलमा ई–टिकेटिङ प्रणाली लागू ग¥यो ।

मुलुकमा पुरातन शैलीका एकल सिनेमा हल भत्केर एउटै छानमुनि दुईदेखि पाँच वटासम्म हल भएको मल्टिप्लेक्स हलको प्रचलन बढेको छ । पछिल्लो दशकमा मल्टिप्लेक्सको विकाससँगै सम्बन्धित हलले ई–टिकेटिङ सेवा पनि सञ्चालन गर्दै आएका छन् ।

चलचित्र विकास बोर्डका सदस्य रविचन्द्र अधिकारीका अनुसार नेपालमा ई–टिकेटिङ सेवा लागू गर्नमा बक्स अफिस प्रणालीको ठूलो देन रहेको छ । बोर्ड सदस्य अधिकारीले भने, ‘एक दशकअघि चलचित्र विकास बोर्डले जब बक्स अफिल प्रणाली सुरु ग¥यो, त्यतिबेलै ई–टिकेटिङ सेवामा सबै हल जानुपर्ने निर्णय भएको थियो ।’ सो निर्णयअनुसार सुरुमा काठमाडौं उपत्यका र त्यसपछि क्रमशः मुलुकका मुख्य सहर हुँदै साना सहरका सिनेमा हलमा पनि ई–टिकेटिङ सेवा लागू गरिएको छ । हुन त मुलुकका डेढ दर्जनभन्दा बढी सिनेमा हलमा अझै पनि ई–टिकेटिङ सेवा लागू भएको छैन । तर, ती हललाई पनि ई–टिकेटिङको दायरामा ल्याउने तयारीमा चलचित्र विकास बोर्ड रहेको पनि बोर्ड सदस्य अधिकारीले जानकारी गराए ।

ई–टिकेटिङ के हो भन्ने’bout धेरैलाई सुरुका दिनमा जिज्ञासा थियो । यस प्रणालीमा बानी नपरेकाहरूले लाइन बसेर टिकट काट्नलाई सजिलो मान्ने गरेका थिए । तर, प्रविधिको पहुँचसँगै दर्शकहरू ई–टिकेटिङ सेवातर्फ आकर्षित भए । अहिले सबैका लागि ई–टिकट सहज हुन थालेको चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थको कथन छ ।

त्यसो त अहिले पनि सिनेमा हलमा पुगेर बक्स अफिसमा पैसा तिरेर टिकट काट्ने चलन नभएको होइन । यसरी हलमा पुगेर टिकट काट्दा कम्प्युटरको स्क्रिनमा देखाइएको सिटमध्ये आफूले छानेर सो सिटको पैसा तिरेपछि टिकट लिने गरिन्छ । ई–टिकेटिङ प्रणालीमा टिकट नकाटिएको आनलाइनमा सिट हरियो रङको देखिन्छ भने टिकट काटेपछि त्यो सिट रातो रङको हुन्छ । यस सेवाले सिनेमा हलमा सम्बन्धित चलचित्रको सोमा कतिवटा टिकट बिक्री भयो तथा कतिवटा हुन बाँकी छ भनेर दर्शकले सहजै जानकारी लिने गरेका छन् । जसका कारण उनीहरूले आफूले चाहेको टिकट रोजेर काट्न सजिलो भएको छ ।

पछिल्लो समय नेपालमा डिजिटल माध्यमबाट पैसा तिर्न सहज भएपछि दर्शकले सिनेमाको टिकटसमेत घरमै बसेर काट्न थालेका छन् । ई–सेवा, फोन–पे, खल्ती, प्रभु–पेजस्ता थुप्रै डिजिटल वालेटले समेत आजकल सिनेमाको टिकट घरमै बसेर काट्ने सुविधा आफ्नो एप्समार्फत दिएका छन् । खल्ती एप्सकी बजार प्रबन्धक पूजा धामीका अनुसार खल्तीले क्यूएफएक्सलगायत थुप्रै चेन सिनेमा हलको टिकट काट्ने सेवा प्रदान गरेको छ । ‘हाम्रो एप्समार्फत सिनेमा हलमा तिर्नुपर्ने मूल्यभन्दा केही छुटमा सिनेमाको टिकट काट्ने सुविधा दर्शकले उपयोग गरिरहनुभएको छ,’ प्रबन्धक धामीले भनिन्, ‘अहिले डिजिटल वालेटमार्फत सिनेमाको टिकट काट्न निकै सजिलो भएको छ ।’

यसरी घरमै बसेर काटेको टिकटको पेमेन्टसहितको बुकिङको स्क्रिन सर्ट देखाएपछि सिनेमा हलबाट दर्शकले सो टिकट सहजै पाउँछन् । यस प्रविधिले दर्शकलाई सिनेमा हेर्न निकै सजिलो भएको खल्तीकी बजार प्रबन्धक धामीको कथन छ । खल्ती मात्र होइन, अरू थुप्रै वालेटले यो सेवा विस्तार गरेका छन् । जसका कारण सम्बन्धित वलेटको एप्स डाउनलोड गरेर सो एप्समार्फत घरमै बसेर सिनेमाको टिकट लिन सहज भएको छ ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बक्स अफिस प्रणालीसँगै ई–टिकेटिङ सेवा सिनेमा हलमा सुरु भएपछि निर्माताहरूलाई निकै राहत पुगेको बताए । ‘केही वर्ष अघिसम्म हाम्रा सिनेमा हलमा प्रदर्शन हुँदा हल सञ्चालकले वितरकलाई चुरोटको खोल तथा कागजमा लेखेर हिसाब दिन्थे,’ अध्यक्ष खड्काले भने, ‘उनीहरूले दिएको त्यस हिसाबलाई नै हामीले आधिकारिक मानेर पैसा लिन बाध्य हुनुपथ्र्यो ।’ तर, बक्स अफिस लागू भएर ई–टिकेटिङ प्रणाली सुरु भएपछि हल सञ्चालक र वितरकहरूको त्यो ठगी कार्य धेरै हदसम्म रोकिएको कथन अध्यक्ष खड्काको छ । ‘आजकल सिनेमा हलका कति टिकट बिक्री भए भन्ने कुरा उनीहरूको साइटमा गएर बुकिङ खोलेपछि प्रत्यक्ष देख्न पाइन्छ,’ अध्यक्ष खड्काले भने, ‘जसबाट कुन हलमा आफ्नो चलचित्रको कति टिकट बिक्री भयो भन्ने’bout निर्माताले घरमै बसेर जानकारी पाउन थालेका छन् ।’ ई–टिकेटिङले निर्माताहरूलाई हलवालासँग चुरोटको खोलमा लेखेर हिसाब लिने युगबाट मुक्त गराएको पनि खड्काले बताए ।

निर्माता संघका अध्यक्ष खड्काको कथनमा ई–टिकेटिङ सेवा लागू भएपछि कसको सिनेमाले कति व्यापार ग¥यो भन्ने कुराको डाटा राख्न चलचित्र विकास बोर्डको बक्स अफिस प्रणालीलाई सजिलो भएको छ । यसमा प्रत्येक टिकटको संख्यासँगै मूल्य देखिने भएकाले व्यापारको हिसाब एकैपटक सजिलै प्राप्त हुने पनि उनले बताएका छन् । अहिले पनि ई–टिकेटिङ सेवाबाट बिक्री भएको टिकटको रेकर्ड सबैतिर लाइभ हुन नसकेको अध्यक्ष खड्काको भनाइ छ । ई–टिकेटिङ सेवा लागू भइसकेकाले सबै हलमा टिकट किन्नासाथ त्यसको पैसा तत्कालै बक्स अफिस प्रणालीमा देखिनुपर्ने माग आफूहरूको रहेको पनि उनले बताए ।

सिनेमा हल सञ्चालकहरूका अनुसार ई–टिकेटिङका केही बेफाइदा पनि छन् । घरमै बसेर टिकट बुक गरेकाहरूले समयमै हलमा आएर त्यो टिकट नकिन्दा सिटहरू ‘एक्युपेन्सी’ भइरहने हुन्छ । यस्ता सिट समयमै नबिक्दा पछि खाली जाने समस्या पनि हल सञ्चालकले भोग्नुपरेको छ । पछिल्लो समय वालेट भुक्तानीबाट टिकट किन्नेक्रम बढेकाले केही वर्षअघिको तुलनामा यो समस्या अहिले कम भएको हल सञ्चालकहरू बताउँछन् ।

बक्स अफिस प्रणालीअन्तर्गत ई–टिकेटिङ सेवा लागू भएपछि कुन सिनेमाले कति व्यापार ग¥यो भनेर तथ्यांक दिन चलचित्र विकास बोर्डलाई सजिलो भएको छ । आफ्नो सिनेमाले यति धेरै व्यापार ग¥यो भनेर झुटो अफवाह फैलाउने निर्माताहरूलाई पनि यस सेवाले सही तथ्यांक दिन बाध्य तुल्याएको छ ।

यस सेवाबाट कुन सिनेमाको कति रुपैयाँमा कति टिकट बिक्री भयो भनेर तथ्यांक त बोर्डले राख्छ नै । बोर्डले चलचित्रको व्यापार र कमाइ’bout हरेक तीन महिनामा रिपोर्ट नै सार्वजनिक गर्न थालेको छ । ई–टिकेटिङ सेवामा टिकट बिक्रीको संख्या र मूल्य पारदर्शी हुने भएकाले कर प्रणालीलाई पनि सजिलो भएको छ । टिकट बिक्रीका आधारमा यस प्रणालीबाट सरकारलाई राजस्व संकलन गर्नसमेत सहज भएको हल सञ्चालकहरू बताउँछन् । उनीहरूको भनाइमा यसरी ई–टिकेटिङ सेवाले सिनेमा प्रदर्शनमा नयाँ क्रान्ति ल्याएको छ, जसबाट हलमा दर्शकको आकर्षण पनि बढेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको महाकालीमा एमाले र नौगाडमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित