विराटनगर । कोशी प्रदेशमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । झापा, सुनसरी र मोरङ जिल्लाको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालका अनुसार झापा कन्काई नगरपालिका-५ स्थितमा मे. ११प३३८ नम्बरको मोटरसाईकलले स्थानिय बिनोद पाठकको ७ बर्षीय छोरा सोहन पाठकलाई बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाईते भएका बालकको उपचारको क्रममा बिर्तासिटि अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितमा प्रदेश१-०२-०४३ प ६६६२ नम्बरको मोटरसाईकलले पैदलयात्री स्थानीय ४५ बर्षीय लोक बहादुर पौडेललाई ठक्कर दिँदा घाईते भएका उनलाई बिराट टिचिङ अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेको प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दाहालले बताए ।
यस्तै,मोरङको रतुवामाई नगरपालिका-१० स्थित आमबारी-उर्लाबारी सडक खण्डमा उर्लाबारी तर्फ जाँदै गरेको ना.४ ख ४०१३ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको प्र.१-०१०-१४ प २४४३ नम्बरको मोटरसाईकल आपसमा ठक्कर लागी दुर्घटना हुँदा मोटरसाईकल चालक झापा कमल गाउँपालिका-५ का २८ बर्षीय संदेश गौतमको उपचारको क्रममा आर्या न्युरो अपस्तालमा मृत्यु भएको थियो ।
सवारी दुर्घटनामा संलग्न रहेका मोटरसाईकल चालक कन्काई-५ का २३ बर्षीय अजत मिया, इटहरी-२ का ४० बर्षीय राजन धमला र बस चालक मोरङ रतुवामाई नगरपालिका-६ का ३२ बर्षीय गोपाल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु बिरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।