भारदारी गणतन्त्र

किशोर नेपाल

सन् २०१०–११ मा मध्यपूर्व र उत्तरी अफ्रिकामा सामाजिक सञ्जालमार्फत जनता जनार्दनलाई तानाशाही सत्तालाई चुनौती दिने आह्वान गरेपछि तानाशाही शासनका विरुद्ध विशाल जनसागर ओइरियो । जनताको उर्लंदो विरोधले इजिप्ट र ट्युनिसियाका सरकार ढले । ‘अरब स्प्रिङ’ आन्दोलनले विश्वको त्यस भेगमा नवीनतम चेतना ल्यायो । त्यतिबेला इजिप्ट सरकारले सामाजिक सञ्जाललाई कारबाही गर्न नखोजेको होइन तर सरकार असफल भयो । राष्ट्रपति होस्नी मुवारकले ३० वर्षपछि गद्दी छाडे । उनले गद्दी छोड्दा खुसी नहुने कोही रहेनन् । उनको पतनमा इजिप्टको राष्ट्रिय सेना झन् खुसी भएको थियो ।

नेपालमा अहिले सामाजिक सञ्जालमा बढ्दो असामान्य चलखेल सुरु भएको देखिन्छ । कताकता परिवर्तनको दुई दशक नबित्दै हामी पनि भड्खालोमा जाकिने त होइनौं ? भन्ने त्रास फैलिन थालेको छ । तर, नेपालमा सामाजिक सञ्जाल त्यस्ता व्यक्तिहरूको पकडमा रहेको छ, जो आफूलाई नेपाल राष्ट्रको मालिक ठान्छन् । सत्ता वा प्रतिपक्षमा रहेका व्यक्ति हुन् कि अरू कोही हुन् । ज्ञानेन्द्रदेखि गगनसम्म, रविदेखि प्रचण्डसम्म, राप्रपादेखि रास्वपासम्म, कांग्रेसदेखि एमालेसम्म–सामाजिक सञ्जालमा कसको पकड छ ? यो अनुमान गर्न नसकिने कुरा होइन । नेपालमा सामाजिक सञ्जाल त्यसैले चलाउन सक्छ, जोसँग यथेष्ट आर्थिक साधन छ ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना त भएको छ तर त्यसको जग कमजोर छ । आजका नेताहरूले अहिलेसम्म गणतन्त्रको मजबुत जग खडा गर्न सकेका छैनन् । बीपी कोइराला भन्नुहुन्थ्यो, ‘नेपाल एउटा प्रशासनिक एकाइ मात्र हो, यो राष्ट्र भइसकेको छैन ।’ हो, नेपाल अहिलेसम्म पनि राष्ट्र हुन सकेको छैन । हाम्रो संसद् अहिले पनि मुवारकको भारदारी सभाजस्तो छ ।

इतिहासको पूर्वसन्ध्यादेखि नै नेपाल मण्डल र मध्यवर्ती मधेस प्रदेशको पहिचान निकै चमक–दमकपूर्ण रहँदै आएको हो । आज चमक–दमक हराएको छ । सामान्य नेपालीका लागि पहिले काठमाडौं ‘मण्डल’ थियो । सुख र समृद्धिको उपत्यका । मध्यवर्ती मधेस प्रदेशको हैसियत सुविधासम्पन्न थियो । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका र मधेसमाथि विजय प्राप्त गरेपछि काठमाडौं मण्डल पूर्ण रूपले नेपाल मण्डलमा परिणत भयो । अनौठो कुरा, बडामहाराज पृथ्वीनारायण शाहले प्रजाहरूको मनमा गोर्खा राज्यको विस्तार गर्न युद्ध सुरु गरेको भन्ने आभास नै पर्न दिएका थिएनन् । त्यस्तो आभास पाएकोे भए अहिलेको गोर्खा बजार बृहत्तर गोर्खा राज्यको शक्तिशाली राजधानी सहरका रूपमा चिनिएको हुन्थ्यो ।

समृद्धिको सहर काठमाडौंमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहले खासै मेहनत गर्नुपरेको थिएन । नुवाकोट र कीर्तिपुरको युद्ध कठिन भए पनि अन्यत्र गोर्खाली फौजले सजिलै विजय प्राप्त गरेको थियो । इन्द्रजात्राको आनन्द मनाउँदै वसन्तपुर डबलीमा हाँसी खेली रमाइरहेका काठमाडौंका जनताले उपत्यकाका तीनवटै मल्ल राज्यका सिपाहीले कतिबेला गोर्खाली सेनासमक्ष आत्म–समर्पण गरे ? पत्तै पाएनन् । काठमाडौंमाथि विजय गरेपछि पृथ्वीनारायण शाहले काठमाडौंलाई नै राजधानी बनाए । आफ्ना गोर्खाली भाइ–भारदार, गुरु–पुरोहित र चाकरीदारलाई गोर्खाबाट काठमाडौं बोलाए । गोर्खा राज्यको नाम र निसाना दुवै मेटियो । राज्यमा रहेको गुरु गोरखनाथको प्रसिद्ध मठ भारत, उत्तर प्रदेशको गोरखपुर सहरमा स-यो ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका र मधेसमाथि विजय प्राप्त गरेपछि काठमाडौं मण्डल पूर्ण रूपले नेपाल मण्डलमा परिणत भयो । अनौठो कुरा, बडामहाराज पृथ्वीनारायण शाहले प्रजाहरूको मनमा गोर्खा राज्यको विस्तार गर्न युद्ध सुरु गरेको भन्ने आभास नै पर्न दिएका थिएनन् । त्यस्तो आभास पाएको भए अहिलेको गोर्खा बजार बृहत्तर गोर्खा राज्यको शक्तिशाली राजधानी सहरका रूपमा चिनिएको हुन्थ्यो

अहिले नेपाल देश र नेपाली समाजको अवस्था पुरै परिवर्तित छ । हामी दिन प्रतिदिन पछाडि पर्दै गएका छौं ? इतिहासविद् राजेश गौतम भन्छन्— नेपालको इतिहास र वर्तमानका बीच कुनै संगति छैन । संकुचनले गाँजिएको छ, इतिहास । हामीले ७ फागुन २००७ लाई मुक्ति दिवस मान्यौं । राणा शासन समाप्त भएको दिवस थियो त्यो । तर, त्यसले विधिवत् मान्यता पाउने अवसर नै फेला पारेन । पृथ्वी नारायणपछिका सबै शाहवंशीय राजाहरूले राणा भारदारको इच्छानुसार बन्दीको जीवन बिताए । २०४६ सालको राष्ट्रिय जनआन्दोलनको सफलतापछि मात्र प्रजातन्त्र दिवस मनाउने परिस्थिति निर्माण भयो । अहिले देशमा संघीय गणतान्त्रिक व्यवस्था स्थापना भएको छ । तर पनि, परिस्थितिमा किञ्चित् सुधार आएको छैन । सामान्य मानिसको जीवनमा अलिकति पनि तात्विक फरक परेको छैन ।

नेपालका बुद्धिजीवी र राजनीतिक भाष्यकारहरूले राजनीतिका सन्दर्भमा अहिलेसम्म पनि आफ्नो खास भूमिका बुझ्न सकेका छैनन् । नेपाली समाजको प्रतिनिधित्व अहिलेसम्म पनि पुरोहित वृत्तले नै गरेको छ । प्रतीकात्मक ढंगले ‘टपरी टकटक्याउने कला’ले बौद्धिक जीवनको प्रतिनिधित्व गरेको छ । समाजले मानेका र पत्याएका व्यक्तित्वहरूको जीवन ‘सत्ताको कृपापात्र’ बन्ने महत्वाकांक्षा पालेर ओइलाएको छ । अहिले हामी प्राज्ञिक र आर्थिक दुवै हिसाबले अत्यन्त कारुणिक अवस्थामा छौं । यो अवस्था भत्किएर नयाँ संरचना नबनेसम्म देशमा खास परिवर्तन आउन सक्दैन ।

देशमा विद्यमान रहेको गरिबीको अन्त्य गर्न २००७ सालको क्रान्तिदेखि २०६२ सालको बृहत् शान्ति सम्झौतासम्म निरन्तर संघर्ष भए । अर्को १० वर्ष संविधान निर्माणका लागि संघर्ष भए । ती संघर्षका नतिजामा हामीले के पायौं र कति गुमायौं ? के नयाँ वा पुराना कुनै पनि दलका नेताहरूमा हिम्मतका साथ यसको व्याख्या गर्ने शक्ति छ ?

कहिले सिंहदरबारलाई फैल्याएर, कहिले गाउँलाई खुम्च्याएर नेताहरूले निरन्तर शक्तिको दुरुपयोग गरेका छन् । अहिलेका नयाँ पुराना नेताहरूमा त झन् गजबको ‘जागृति’ आएको छ । हरेक नेताका हातमा फोन–क्यामेरा छन्, सामाजिक सञ्जालका लिंक छन्, साइबर सेना छन् । राजनीति, व्यापार र समाजसेवामा लागेका मानिसहरूले सामान्य जनताका अभिव्यक्तिको अपहरण गरेका छन् । मानिसको व्यक्तिगत स्वतन्त्रता छिन्नभिन्न भएको छ । देशको हावामा प्राणवायुको कमी बढ्दो छ ।

जनताले हजार कमाउन लाख गुमाएका छन् । गाउँको अस्तित्व मेटिन लागेको छ । सहरमा पनि गुजारा कठिन छ । कुनै दिन यस्तो कथा पनि बन्नसक्छ– नेपाल भन्ने एउटा सुन्दर देश थियो । त्यस देशको कुनै एउटा गाउँमा एउटी मुना बस्थिन्, अर्का मदन बस्थे । मुना चौंरी र च्यांग्रा चराएर बेंसीमा बस्थिन्, मदन नुनको ढाकर बोकेर तिब्बततिर उक्लिन्थे ।

यतिबेला हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाको सिर्जना मुना–मदनलाई सम्झेर बसेका छौं । हामी मुना र मदनलाई पर्खेर बस्न अभिशप्त छौं । ’cause, हामीले तिनलाई हाम्रा सृष्टिका सुगन्ध मानेका छौं ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कुकर्म बढी गर्दा लोकतन्त्रमा विकृति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
न्युनतम गरे पनि याे निर्वाचनमा उम्मेदवारको २९ अर्बभन्दा बढी खर्च हुने