मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भस बिजेतालाई एक एक करोड

काठमाडौं । दोश्रो अन्तराष्ट्रिय संस्करणको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिर्भस’को खोजी सुरु भएको छ । काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै दोस्रो संस्करणको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल सार्वजनिक गरिएको छ । कार्यक्रममा विजेताले पाउने पुरस्कारको रकम पनि सार्वजनिक गरिएको छ ।

यो प्रतियोगितामा नेपालमै अहिलेसम्मकै सर्वाधिक धनराशीको पुरस्कार राखिएको पनि आयोजिक टिमले पत्रकार भेटघाटका क्रममा जानकारी गरायो । आयोजकका अनुसार यो प्रतियोगितामा मेरो भ्वाइस युनिर्भसको बिजेताले एक करोड रुपैयाँ र मेरो डान्स युनिर्भसको बिजेताले पनि एक करोड रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै यी दुबै प्रतियोगिताको उपविजेताले जनही २० लाख र तेश्रो हुनेले जनही १० लाख रुपैयाँसँगै एउटा गीत रेकर्डिङ गर्ने अबसर पनि प्राप्त गर्ने आयोजक पक्षले पत्रकार सम्मेकलनमा जानकारी गरायो । तर यो पैसाबाट आयकर काटिने की नकाटिने भन्ने’bout आयोजक पक्षले जानकारी गराएन ।

गत वर्षबाट आयोजना हुँदै आएको यो प्रतियोगितालाई बिगतमा गैरकानूनी रुपमा नेपालमा आयोजना गरिएको आरोप लागेको थियो । तर यसपटक भने इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन दर्ता गरेर यो कार्यक्रम आयोजना गरिएको पनि आयोजक डिल्ली अधिकारीले कार्यक्रममा बताए ।

‘नेपालमा कानुनी रुपमा कार्यक्रम आयोजना गर्नका लागि हामीलाई संस्था खोल्न निकै गाह्रो भयो । बाबुराजा कार्कीको अध्यक्षतामा इन्ट्र नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन दर्ता गरेर सो संस्थामार्फत नेपालमा यो कार्यक्रम आयोजना गर्न लागेका हौं ।’ मुख्य आयोजक संस्था इन्ट्रा वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष समेत रहेका डिल्ली अधिकारीले पत्रकार भेटघाटका क्रममा भने । विश्वभरी छरिएका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिरहन सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको पनि अधिकारीले बताए ।

कार्यक्रममा डिल्ली अधिकारीले भने,‘हामीले यो कार्यक्रममार्फत नेपाली कला, संस्कृति र भाषालाई प्रवर्द्धन गर्न खोजेका हौँ । सोही कारण नेपाली संस्कृति र कला झल्किने प्रस्तुतीलाई अनिवार्य गरेका छौँ र यसमा मौलिक नेपाली बाहेक रक, ¥याप जस्ता बिदेशी शैलीका गीत संगीतहरु प्रस्तुत गरिने छैन ।’ आफुले अमेरिकामा विभिन्न स्कुल खोलेर १५ सय नेपाली वालकालिकालाई नेपाली शास्त्रीय गायन र शास्त्रीय नृत्य सिकाउँदै आएको जानकारी पनि उनले गराए ।

बिगतमा यो प्रतियोगितामा नेपालसहित ५३ देशमा रहेका नेपालीहरुले अडिसनमा सहभागिता जनाएका थिए । यसपटक विश्वका ६० मुलुकमा रहेका नेपालीहरुले सहभागिता जनाउने लक्ष्य आफुहरुले लिएको पनि आयोजक अधिकारीले सञ्चारकर्मीलाई जानकारी गराए ।

पत्रकार भेटघाट कार्यक्रममा दोश्रो संस्करणको लागि निर्णायक टोली समेत सार्वजनिक गरियो । जसमा मेरो भ्वाइस युनिर्भसको निर्णायकमा अग्रज गायक दीप श्रेष्ठ, अग्रज संगीतकार सुरेश अधिकारी, गायक पुष्पन प्रधान र गायिकाहरु अन्जु पन्त, तृष्णा गुरुङ रहेका छन् ।

यसैगरी मेरो डान्स युनिर्भसको निर्णायकमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दीलिप रायमाझी, नृत्य निर्देशक शंकर विसी, किरण थापा र अभिनेत्री शिल्पा मास्केलाई अनुबन्धित गरिएको पनि सो कार्यक्रममा जानकारी गराईयो । यी दुबै प्रतियोगितालाई नेपाल टेलिभिजनबाट प्रशारण गरिने भएको छ ।

यस्तै यी दुबै कार्यक्रमलाई सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री रीमा विश्वकर्मा, हास्य कलाकार राजा राजेन्द्र पोखरेल र पूर्व मिस नेपाल नम्रता श्रेष्ठले सञ्चालन गर्ने पनि कार्यक्रममा जानकारी गराईयो । मेरो भ्वाइस युनिर्भस प्रतियोगितालाई सुरेश पौडेल र मेरो डान्स युनिर्भस प्रतियोगितालाई मौसमी गुरुङले निर्देशन गर्ने भएका छन् ।

माघको पहिलो साता अर्थात २५ जनवारीबाट यी दुबै प्रतियोगिताको अडिसन सुरु गरिने भएको छ । जस अन्तर्गत क्यानडामा २५ जनवरीमा, अमेरिकास्थित कोलम्बस र ओहायोमा २६ जनवरीमा अडिसन गरिने आयोजकले जनाएको छ । यस्तै १५ र १६ फेब्रुअरीमा बेलायतको लन्डन, पोर्चुगलको लिस्बन, हङकङ र जापानको टोकियोमा अडिसन हुनेछ ।

यस्तै २२ र २३ फेब्रुअरीमा युएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैकक, अस्ट्रेलियाको सिड्नी, नेपालको कास्कीस्थित पोखरमा अडिसन गरिने पनि आयोजक पक्षले जनाएको छ । १ र २ मार्चमा भारतको मुम्बई र नेपालको नेपालगञ्जमा, ८ र ९ मार्चमा भारतको सिलिगुरीमा, १५ र १६मार्चमा झापाको दमकमा, २९ र ३० मार्चमा काठमाडौँमा अडिसन गरिने पनि आयोजक पक्षले जानकारी गरायो । अडिसनबाट प्रतियोगी चयन सकिएपछि विभिन्न चरणको प्रतियोगिता तत्कालै सुरु गरिने पनि आयोजक अधिकारीले कार्यक्रममा बताए ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रबि लामिछानेमाथिकाे अनुसन्धान प्रतिबेदन बुझाइयाे

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे भगवतिमाईमा माओवादीका थापा अध्यक्षमा,उपाध्यक्ष काँग्रेसकी खड्का विजयी