धार्मिक पर्यटनको विशाल भूमि नेपाल

गत १६ माघका दिन चन्द्र गणनाअनुसार माघकृष्ण औंसी रहेछ । प्रत्येक वर्ष माघकृष्ण औंसी आउँछ र त्यस दिन भारतको उत्तरप्रदेशस्थित प्रयागमा गंगा, जमुना र लुप्त सरस्वती नदीको संगममा स्नान गर्ने सनातनी परम्परा रहिआएको छ । त्यस ठाउँमा श्रद्धालुहरूको अभूतपूर्व भीड जम्मा हुन्छ । यस वर्ष त ग्रह नक्षत्रको अभूतपूर्व संयोगका कारण अझ विशेष मानियो । केही किलोमिटरको सानो भूभागमा करोडौं मानिस जम्मा भए । गत पौष शुक्ल पूर्णिमाका दिन सुरु भएर आगामी शिवरात्रिका दिन सम्पन्न हुने सो कुम्भमेलामा ४० करोडको हाराहारीमा श्रद्धालुले संगममा स्नान गर्ने अनुमान गरिएको छ । माघकृष्ण औंसी अर्थात् मौनी अमावश्याका दिन अत्यन्तै विशेष हुँदा सो दिन प्रयागको संगममा १० करोडभन्दा बढी भक्तजनले गंगा स्नान गरेको बताइन्छ । मेला सुरु भएपश्चात हालसम्म २२ करोडको हाराहारीमा श्रद्धालुले स्नान गरिसकेको बताइन्छ । कल्पना गर्नुहोस् त एउटा सानो भूभागमा एकैदिन नेपालको जनसंख्याको साढे तीनगुणा मानिस जम्मा भए ! अनि डेढ महिनाको अवधिमा ४० करोडभन्दा बढी मानिस त्यस क्षेत्रमा आउँदै छन् । सामान्यतया हाम्रा लागि त्यो कल्पनाभन्दा बाहिरको कुरा हो । तर, हजारौं नेपाली नै त्यस घटनाको प्रत्यक्ष साक्षी भए । त्यस दिन ठूलो दुर्घटना पनि भयो । भीडमा किच्चिएर ३० जनाको हाराहारीमा भक्तजनको ज्यानसमेत गयो । निश्चित रूपमा यो निकै दुखद घटना हो । तर, अचम्मको कुरा के हो भने त्यत्रो ठूलो दुर्घटना भएको स्थलमा श्रद्धालुहरूको स्नान अनवरत चालू रह्यो । मेला भर्न आउने भक्तजनलाई त्यस त्रासदीले न्यूनतम प्रभाव पारेको देखियो । आमभक्तजनको अत्यधिक चापका कारण साधु सन्त सन्यासीहरूको अमृत स्नानचाहिँ केही घण्टा धकेलियो । पहिला स्नान गर्ने अधिकार पाएका अखाडाहरूले आमभक्तजनलाई अग्राधिकार दिन मञ्जुर गरे ! शिवरात्रिसम्म स्नान जारी रहने भए पनि आगामी २१ माघ अर्थात् वसन्त पञ्चमीका दिन पनि गत औंसीमा झैं विशेष स्नान हुँदै छ । त्यस दिन कति भीड लाग्ने हो ? हेर्न बाँकी नै छ । एउटा उल्लेखनीय कुरा के छ भने २० लाखको हाराहारीमा जनसंख्या भएको प्रयाग सहरको एउटा क्षेत्रमा ४० करोड तीर्थालु जम्मा हुनुको अर्थ के हो भने अधिकांश व्यक्ति बाहिरबाट आएका पर्यटक हुन् ।

भारतका अधिकांश तीर्थस्थलको अवस्था यस्तै हो । अयोध्या र मथुरा अथवा वृन्दावन भारतका साना सहर हुन् । अयोध्याको राम मन्दिरमा दैनिक सरदर ३ लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने गरेको तथ्यांक छ । मथुराको कृष्ण जन्मभूमि र बाँके बिहारी मन्दिरमा प्रत्येक दिन आउने हजारौंको भीड प्रायः भारतका अन्य सहरबाट आउने हुन् । केदारनाथ र विश्वनाथजस्ता द्वादश ज्योतिर्लिंग होस् वा बद्रीनाथजस्ता तीर्थस्थल हुन् अथवा आसामको कामरूप कामाख्या मन्दिर होस्, दर्शनार्थी पर्यटककै संख्या अत्यधिक हुन्छ । दक्षिण भारतको तिरूपती बालाजी मन्दिरमा श्रद्धालुले केश खौरेर चढाउने चलन छ । मन्दिर ट्रस्टले भक्तजनले चढाएको केश विग बनाउने कम्पनीलाई बेचेर सालाखाला दैनिक भारतीय रुपैयाँ ५ लाखभन्दा बढी कमाउँदो रहेछ ! बिहारको गयाको घाटमा पितृमोक्ष श्राद्ध गर्ने चलन छ । त्यस ठाउँमा लगभग हजार पेसेवर पुरोहित पण्डितहरू यजमानको पर्खाइमा रहने अनुमान छ । एक रिपोर्टका अनुसार प्रत्येक पुरोहितको सरदर कमाइ दैनिक भारतीय रुपैयाँ २ हजार २ सय हुँदो रहेछ !

पाठकलाई यो गन्थन किन त भन्ने लाग्दो हो । कतिपय प्रगतिशील भनाउँदालाई त जडसूत्रवादी चिन्तनको प्रचारप्रसारजस्तो लागेको पनि हुन सक्छ । कैयन धर्मनिरपेक्ष आधुनिक जमातलाई पुरातनवादी हिन्दू धर्मको प्रचारजस्तो पनि लाग्न सक्छ । निश्चित रूपमा म हिन्दू हुँ र सनातनी हुनुमा गौरवको अनुभूति गर्छु । तर, म यहाँ सनातन धर्मको महिमागान वा हिन्दू धर्मको प्रचारप्रसार गर्दै छैन । म त फगत ‘तीर्थयात्रा’ नाम गरेको एउटा विशाल बजारको सानो आँकलन गर्न मात्र खोज्दै छु । अनि त्यो तीर्थयात्रा नाम गरेको विशाल बजारमा हाम्रो भूमि नेपालले पनि ठाउँ पाउन सक्छ र ? भन्दै विचार गर्दै छु । यदि, नेपाल पनि त्यस बजारको हिस्सा हो भने यो कत्रो बजार हो त भनेर सम्भावनाको खोजी गर्ने सानो जमर्को गर्दै छु ।

झन्डै १० वर्षअघि एउटा विदेशी विश्वविद्यालयले गरेका अध्ययनअनुसार प्रत्येक वर्ष १० करोड हिन्दू र २० करोड बौद्ध तीर्थयात्राकै उद्देश्यले घरबाट निस्कँदा रहेछन्

झन्डै १० वर्षअघि एउटा विदेशी विश्वविद्यालयले गरेको अध्ययनअनुसार प्रत्येक वर्ष १० करोड हिन्दू र २० करोड बौद्ध तीर्थयात्राकै उद्देश्यले घरबाट निस्कँदा रहेछन् । ७० लाखभन्दा बढी हिन्दू हरेक वर्ष नबिराई तीर्थाटनका लागि यात्रा गर्दा रहेछन् । हालका वर्षहरूको प्रवृत्तिबाट यो संख्या निकै बढेको हुनुपर्छ भनेर अनुमान गर्न सकिन्छ । १० करोड हिन्दू र २० करोड बौद्धलाई नै आधार मान्ने हो भने पनि यो संख्या निकै ठूलो हो । १ वर्षमा पर्यटक संख्या १० लाख नाघ्यो भने निकै ठूलो उपलब्धि मान्ने हाम्रा लागि त यो संख्या भयानक नै होइन र ? कुल ३० करोडको १० प्रतिशत मात्र पनि ३ करोड हुन्छ ! ३ करोड धार्मिक पर्यटक नेपाल आउन थाल्यो भने ?!

भारतमा १२ ज्योतिर्लिंग छन् तर नेपालको पशुपतिनाथ स्वयम्भू महाज्योतिर्लिंग हो । समस्त द्वादश ज्योतिर्लिंगको दर्शनपश्चात् पनि पशुपतिनाथको दर्शन नगरी पूर्ण पुण्य प्राप्त हुँदैन भन्ने मान्यता छ । ज्योतिर्लिंग दर्शन मात्र नभई कुनै पनि तिर्थालुको तीर्थयात्रा पशुपति दर्शनबिना अपूरो नै मानिन्छ । यो मैले भनिरहेको होइन, यो सनातनी मान्यता हो । कुनै पनि बौद्धका लागि भगवान बुद्धसँग सम्बद्ध चार स्थल सर्वोच्च पवित्र स्थान हुन् । बुद्धको जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया, प्रथम प्रवचन थलो सारनाथ र महापरिनिर्वाणस्थल कुशिनगर ती चार स्थान हुन् । एक बौद्ध तीर्थयात्रीका लागि यी चारै स्थानको यात्रा जरुरी छ । यस दृष्टिले तीर्थयात्राका लागि निस्कने सम्पूर्ण हिन्दू एवं बौद्धले नेपाल भूमिमा पाइला टेकेर नतमस्तक हुनै परेन र ?

कुम्भका बेलामा प्रयागमा सम्पूर्ण देवगण र ऋषिमुनिहरू पनि स्नान गर्न आउँछन् भन्ने विश्वास रहेको हुँदा उनको संगतिमा स्नान गर्दा मोक्ष प्राप्त हुने आशाले भक्तजनको अपार भीड लाग्ने हो । हाम्रो कागबेनी वा देवघाटले त सदासर्वदा भगवान विष्णुको साक्षात् स्वरूप शालिग्रामलाई आफ्नो पवित्र जलले स्नान गराइरहेकै हुन्छन् । शालिग्रामसँगै स्नान गर्दा कुन हदको मोक्ष प्राप्त होला त ! यहाँ कुनै योग वा मुहूर्त कुर्नै पर्दैन । गया वा पुष्करको पितृश्राद्धका लागि आफ्नै महत्ता होला ! तर, के शालिग्रामको उद्गमस्थल कागबेनीमा गरिने पितृमोक्ष श्राद्ध कम महŒवको होला र ! माता सतीको योनी पतन भएको स्थान कामाख्या देवी तन्त्र साधनाका लागि अत्यन्तै शक्तिशाली शक्तिपीठ मानिन्छ । के माता सतीको गुह्यस्थान पतन भएको गुह्येश्वरी देवी, दसमहाविद्यामध्येकी माता दक्षिणकाली र माता बंगलमुखीको कृपा प्राप्त भयो भने कस्ता सिद्धी प्राप्त हुन सक्छन् भन्ने उजागर गर्न पर्दैन ? अनि, पशुपतिनाथको अघोर दक्षिण मुख वा द्वारसम्मको दर्शनले मात्र पनि अति भयंकर मारण दोषसमेत नाश हुन्छ भन्ने तथ्य लुकाएर राख्ने ? भारतको दिल्लीको अक्षरधाम पुग्नुभएको छ ? त्यो विशाल धाम सन्त स्वामी नारायणप्रति समर्पित छ । सन्त स्वामी नारायणले हाम्रो मुक्तिनाथमा तपस्या गरेर ज्ञान प्राप्त गरेका हुन् भन्ने तथ्य लुकाउनुपर्ने हो र ?

म पुनः दोहो¥याउँदै छु । म यहाँ धर्म प्रचारको कुरा गर्दै छैन । सनातनी हिन्दू एवं बौद्धहरूको विद्यमान आस्था र विश्वासको कुरा गर्दै छु र भन्दै छु– त्यो आस्था र विश्वास आफैंमा एक विशाल बजार हो । त्यो विशाल बजारको महत्वपूर्ण ठूलो हिस्सा नेपाल हो भन्दै छु । थोरै मेहनतको जरुरत छ ! तर एउटा गम्भीर प्रश्न भने गर्नैपर्ने हुन्छ । के ‘धर्मनिरपेक्ष’ नेपालले त्यो विशाल बजारको दोहन गर्न सक्छ ?

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२७ वर्षपछि दिल्लीमा भाजपा सरकार, केजरीवाल पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
त्रियुगाकाे प्रमुखमा कांग्रेस र उपप्रमुख एमाले विजयी, गाईघाटमा एमालेलाई कांग्रेसकाे टक्कर