खोटाङ । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज) ले शनिबार खोटाङको त्रि–धार्मिकस्थल हलेसी र दिक्तेल स्थित कालिका भगवती मन्दिरमा दर्शन तथा पूजापाठ गरेका छन् । दिक्तेलस्थित धार्मिक तथा पर्यटकीय स्थल कालिका भगवती मन्दिरको प्रचार–प्रसारका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र मझुवा कालिका भगवती संरक्षण तथा विकास समितिको आमन्त्रणमा उनी हेलिकोप्टरमार्फत खोटाङ आइपुगेका थिए ।
हलेसीको दर्शन पश्चात् कालीदास बाबाले दिक्तेलको मझुवा कालिका भगवती मन्दिरको दर्शन नगरेमा पूर्ण पुण्य प्राप्त नहुने बताए । उनका अनुसार, दूधकोशी नदीको शुद्ध जलले स्नान गरेर पहिलो चरणमा हलेसी महादेव मन्दिरको दर्शन गर्नुपर्ने र त्यसपछि दिक्तेलस्थित मझुवा कालिका भगवतीको दर्शन गरेमात्र पूर्ण पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ । कालिका भगवती मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कालीदास बाबाले भने, “हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने भक्तजनले दिक्तेलको कालिका भगवती मन्दिरसमेत पुग्नुपर्छ ।
यसरी गरिएको पूजाअर्चनाले मात्रै भक्तजनको मनोकांक्ष पूरा हुने धार्मिक ग्रन्थमा लेखिएको छ ।” उनले थप उल्लेख गरे, “जसले हलेसी मन्दिरको दर्शन गरेर कालिका भगवतीको दर्शन गर्छ, उसले मात्र पुण्य कमाउँछ ।” धर्मग्रन्थमा समेत हलेसी र कालिका भगवतीको बीचमा घनिष्ठ सम्बन्ध रहेको उल्लेख भएकाले आगामी दिनमा हलेसीको दर्शनपछि दिक्तेलको मझुवा कालिका भगवतीको दर्शन अनिवार्य रूपमा गर्न उनले भक्तजन तथा दर्शनार्थीलाई आग्रह गरे ।
सयौँ भक्तजनको उपस्थितिमा कालीदास बाबाले कालिका भगवतीको दर्शन तथा पूजाआजा गरेका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र मझुवा कालिका भगवती संरक्षण तथा विकास समितिले कालीदास बाबालाई कार्यक्रममा सम्मान गर्नुका साथै मायाँको चिनो समेत प्रदान गरेको थियो । नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार, विश्वप्रसिद्ध कालीदास बाबाको दर्शन र पूजापाठले कालिका भगवती मन्दिरको प्रचार–प्रसारमा ठूलो टेवा पुगेको छ ।
ऐतिहासिक तथ्य अनुसार, वि.सं. १७५० मा रणवीर राई र विरञ्ची आचार्यले एउटै किसिमको सपना देखेपछि मझुवामा गएर हेर्दा कालिका भगवती पत्ता लागेको इतिहास छ । किरात ऐतिहासिक स्थल मझुवागढी नजिकै रहेको कालिका भगवती मन्दिरमा मनोकांक्ष पूरा होस् भनेर वर्षेनी हजारौँको संख्यामा बाख्राको पाठी बलि दिने धार्मिक परम्परा रहिआएको छ । करिब एक घण्टा कालिका भगवती मन्दिर परिसरमा बिताएपछि कालीदास बाबाले हेलिकोप्टरबाट त्रि–धार्मिकस्थल हलेसी पुगेर त्यहाँको पनि दर्शन गरे । हलेसीमा उनलाई हलेसी तुवाचुङ नगरपालिका र हलेसी विकास समिति तथा मन्दिर व्यवस्थापन समितिले बाजागाजासहित स्वागत गरेको थियो ।
हलेसी मन्दिरको प्रमुखद्वारमा आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै कालीदास बाबाले त्रि–धार्मिकस्थल हलेसी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । दिक्तेल र हलेसीको धार्मिक यात्रा सम्पन्न गरेपछि कालीदास बाबा शनिबार नै काठमाडौँ फर्किएका छन् ।
सम्बन्धित समाचार











