काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको शुक्रबार भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा सभापतिका उम्मेदवार थापाले छ हजार ५८४ मत ल्याएर विजयी भएको निर्वाचन संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।
निर्वाचनमा सभापति थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा सात हजार १३ मत खसेकामा ५४ मत बदर भएको थियो । २०४६ सालको जनआन्दोलनका क्रममा कक्षा ९ मा पढ्दै गर्दा आन्दोलनमा सहभागी भएका थापा झण्डै चार दशकपछि कांग्रेसको नेतृत्वमा पुगेका हुन् ।
नवनिर्वाचित सभापति थापाले २०४६ सालमा बालकांग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरेका थिए । २०४८ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) काठमाडौं वडा नं ३३ को सचिव बनेका उनी २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य, २०५३ सालमा सचिव र २०५५ सालमा सभापति निर्वाचित भएका थिए ।
२०५५ सालमा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बनेका थापा २०५७ सालमा नेविसंघको केन्द्रीय उपाध्यक्ष र २०५९ सालमा महामन्त्री बनेर विद्यार्थी राजनीतिलाई उचाइमा पु¥याएका थिए । विसं २०६१ मा राजाको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनमा अग्रपङ्क्तिमा रहेर नेतृत्व गरेका थापामाथि राजद्रोहको मुद्दासमेत लागेको थियो ।
अन्तरराष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले उनलाई ‘आस्थाको बन्दी’ घोषणा गरेको थियो । २०६२÷६३ सालको जनआन्दोलनमा गणतन्त्र र लोकतन्त्रको पक्षमा सक्रिय भूमिका निर्वाह गरेपछि उनी राष्ट्रिय राजनीतिमा थप चर्चित बनेका थिए ।
२०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् बनेका थापा संविधान निर्माण, मौलिक हक, बालअधिकार, नागरिकता र ऊर्जा सुरक्षालगायत विषयमा सक्रिय रहेका थिए । २०७० सालमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपछि संविधान मस्यौदा प्रक्रियामा योगदान पु¥याएका थिए । २०७१ सालमा कृषि तथा जलस्रोत समितिको सभापति बनेर कृषि, ऊर्जा र जलस्रोतसम्बन्धी नीतिगत बहसमा भूमिका खेलेका थिए ।
२०७३ मा स्वास्थ्यमन्त्री बनेका थापाले आफ्नो नौ महिने कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बिमा र चिकित्सा शिक्षा सुधारका विषयलाई प्राथमिकता दिएका थिए । २०७४ र २०७९ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा निर्वाचित हुँदै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनका विषय संसदमा उठाउँदै आएका थिए ।
२०७८ सालमा भएको कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाले पार्टीभित्र नीतिगत बहस र संगठन सुधारको पक्षमा काम गर्दै आएका थिए । २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि पार्टीभित्र युवा सहभागिता अगाडि बढाउनुपर्ने भन्दै पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशन आह्वान गरेका थापा विशेष महाधिवेशनपछि पार्टी सभापति सर्वसम्मत निर्वाचित भएका थिए ।
विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व लिएका सभापति थापाले नौ महिनापछि पार्टीको १५औँ महाधिवेशन गरेर पुनः सभापति पदमा निर्वाचित भएका हुन् । राजनीतिसँगै अध्यापन, सञ्चार र सामाजिक अभियानमा समेत संलग्न उनले विद्यार्थी जीवनदेखि नै शिक्षा र सार्वजनिक सेवामा सुधारको वकालत गर्दै आएका थिए ।
थापाले युवालाई स्वदेशमै अवसर, सार्वजनिक शिक्षामा लगानी, स्वास्थ्य सेवामा समान पहुँच र सुशासनलाई उनले आफ्नो राजनीतिक यात्राका प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आएका छन् । विद्यार्थी राजनीतिबाट राष्ट्रिय नेतृत्वसम्मको उनको यात्रा नेपाली कांग्रेसको भावी दिशा, सगठन सुधार र नयाँ पुस्ताको राजनीतिक सहभागितासँग जोडेर हेरिँदै आइएको छ ।
(रासस)
सम्बन्धित समाचार
‘मूलधार कांग्रेस’मा नेता व्यवस्थापनको सकस
कांग्रेस महाधिवेशनः युवा नेतृत्व नाराबाट कोटामा
अन्तर्राष्ट्रिय अभ्यासविपरीत ४० दिनमै खोज–उद्धार स्थगित
पूर्वराष्ट्रपति विद्या एमालेमा अध्यक्ष ओलीपछि शक्तिशाली
सर्वोच्च अदालतमा ४ न्यायाधीश सिफारिस
निर्वाचनपछि बागमतीमा हाम्रो पार्टीको सरकार बन्छः कुलमान घिसिङ
गगन र विश्वको नाममा कसले बनायो आफूअनुकूल उम्मेदवारको सूची ?
कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो





