सङ्खुवासभा गोल्डकप फुटबल : सुनसरी फाइनलमा

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका –३ मानेभञ्याङमा सञ्चालन भइरहेको संखुवासभा गोल्डकप फुटबल प्रतियोगितामा सुनसरीको न्यू स्टार क्लब फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई ट्राइबेकरमा ६–५ गोलले पराजित गर्दै न्यू स्टारले उपाधि यात्रालाई अघि बढाएको हो ।

महेन्द्र माविको खेलमैदानमा भएको खेलमा निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । प्रतिस्पर्धात्मक खेलमा न्यू स्टारका सञ्जय श्रेष्ठले खेलको २६औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ६४औँ मिनेटमा प्लानिङ ब्वाइजका अनिष परियारले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

दुवै टोलीले जितका लागि निरन्तर प्रयास गरे पनि थप गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । खेलका क्रममा पटक–पटक कर्नर किकको अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा प्लानिङ ब्वाइजले अग्रता लिन सकेन । अन्ततः ट्राइबेकरमा ६–५ को रोमाञ्चक जित निकाल्दै न्यू स्टारले फाइनलमा आफ्नो स्थान सुरक्षित ग¥यो ।

त्यस्तैगरी, प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल खेल बिहीबार दिउँसो सङ्खुवासभाको लोहरुङ क्लब र सेकाहा सामुदायिक क्लब बीच प्रतिस्पर्धा हुनेछ । लोहरुङ क्लबले क्वार्टरफाइनलमा सिरहाको सलहेश युवा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । सेकाहा सामुदायिक क्लबले झापा–११ लाई हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । घरेलु जिल्लाको प्रतिनिधित्व गरिरहेका लोहरुङ र सेकाहामध्ये एक टोलीले फाइनलमा स्थान बनाउनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

डा.गोविन्द केसीको सत्याग्रहमा सरकारको परीक्षा, आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न रास्वपालाई चुनौती