महेन्द्रपुलको सडक भासियो, स्थानिय रातभर जागाराम

पोखरा । पोखरामा गएरातिदेखि नै भारी वर्षा भएको थियो । भारी वर्षाका कारण कहाँ के हुने हो ? भन्ने संशय पोखरेलीलाई भइरहेको थियो । नभन्दै आइतबार राति व्यस्त बजार महेन्द्रपुलमा सडक र पेटी एकाएक भासिन पुग्यो ।
‘हिजो बिहानसम्म सानो दुलो थियो । तर, बेलुका भत्कँदाभत्कँदै अहिले यो गति भयो,’ महेन्द्रपुलस्थित गरिमा विकास बैंक गण्डकी प्रादेशिक शाखा कार्यालयका सुरक्षागार्ड कृष्ण नेपालीले भने, ‘आँखै अगाडि नपत्याउँदो किसिमले जमिनै भासिँदा अचम्म पनि लाग्यो ।’

भारी वर्षाले गएराति महेन्द्रपुलस्थित गरिमा विकास बैंक र उत्तम भाँडा पसल अगाडिको सडक तथा पेटी भासिएको हो । यो ठाउँको ५० मिटर मात्र परबाट सेती नदी बग्छ ।

भासिएको सडक स्थानीयको सहयोगमा गएराति नै प्रहरीले पुरेको भए पनि हालसम्म फैलिँदा जाँदा सडकपेटीसम्म पुगेको छ । स्थानीयवासी यसखालको घटनाले त्रसित छन् । सडकपेटीबाट आवतजावत गर्न कसैलाई दिइएको छैन । पानी तर्काउन पाल टाँगिएको छ । प्रहरीले यस ठाउँमा निरन्तर पहरा दिएको छ ।

घटनाका प्रत्यक्षदर्शी सुरक्षागार्ड कृष्ण नेपालीले भने, ‘हिजो (आइतबार) बिहान पानी निरन्तर परिरहेको थियो । पानीले भरिएको सो प्वालमा ढुंगा फालेर हेर्दा ‘छप्लङ्ग’ आवाज आयो ।’

यो कुरा उनले छिमेकी घरका घरभेटीलाई भने । भुइँतलामा उत्तम भाँडा पसल रहेको भवनका घरभेटीलाई सो कुरा सुनाएपछि घरभेटीले दिउँसो पुरपार पारे । कसैलाई खबर गरेनन् । साँझ भयो ।

‘पानी रोकिएको थिएन । राति १० बजेतिर फेरि ‘घत्रक्क’ आवाज आयो । नभन्दै हेर्दाहेर्दै सडक भासिएर पेटिसम्म आइपुगेछ,’ उनले सुनाए ।

स्थानीयसहित सर्वसाधारण पनि के भएछ भनी जुटे । पछि प्रहरीलाई खबर भयो । पानी अविरल परिरहेकै थियो । खाडलमा पुरिनै लागेको नानो कार सुरक्षित स्थानमा उचालेरै लगियो । जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा ७ ट्रक गिट्टी र ढुंगा ल्याएर पुरपार भयो । तर भासिने क्रम रोकिएको थिएन । राति २ बजेसम्म त बैंक अगाडि र भाँडा पसल अगाडिको सडक भासिइसकेको थियो ।

प्रहरी टोलीले भ्वाङ परेको सडकसँगैका घरका बासिन्दालाई उठाउन सिठी फुकेर खतरा भएको संकेत दिए । त्यस छेउछाउका मानिसले आफूहरु रातभर नसुतेको बताए ।

वर्षासँगै बगेको भल सडकको भ्वाङभित्र पसेर थप घर नोक्सानी पार्ने खतरा बढेपछि ट्रकमा ढुंगा गिट्टी सहित ग्रेग्रान, बोरा, टिन प्रयोग गरेर भल तर्काउने प्रयास गरिएको हो । तेर्सापट्टि तथा नदीपुर हुँदै आउने पानीको भेल तर्काइयो । खाडलमा पर्न दिइएन ।

सडक भासिएको फोटो र समाचार एकाएक भाइरल बनेपछि सोमबार बिहानै मानिसहरुको त्यस ठाउँमा ठूलै भिड जम्मा भइसकेको थियो ।

पोखरामा विगतमा पनि यसप्रकृतिका घटना नदोहोरिएका होइनन् । किनकि पोखराको भूगोल नै कमजोर छ । यसपालि मात्र ठाउँ फरक हो । विगतमा न्यूरोड, गैह्रापाटन, विन्ध्यवासिनी लगायतका क्षेत्रमा जमिन भासिएर घर नै जोखिममा परेका थिए

पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले विगतमा त्यस ठाउँ जाइकाले पानीको पाइप बिछ्याउन खनेको र सामान्य पुरपार पार्दा यस्तो घटना भएको दाबी गर्छन् । उनले हालका लागि भलपानी तर्काउने, खाडल पुर्ने र दीर्घकालीन समस्या समाधानमा के गर्ने भन्ने बसेर छलफल गरिने बताए ।

पोखरास्थित जल तथा मौसम विज्ञान कार्यालयका मौसम सहायक सरोज अधिकारीले गएराति ७ बजेदेखि पोखरामा भीषण वर्षा भएको हो । बिहान ९ बजेसम्म १४ घण्टा अवधिमा पोखरामा २६० मिलिमिटर वर्षा भएको छ । उनका अनुसार भीषण वर्षाले पोखरा बजार यसरी भेलबाढी निम्तिएको हो । जसको असर महेन्द्रपुलमा प-यो ।

खानेपानी योजना बिस्तार क्रममा अघिल्लो महिना यहाँ पाइप बिच्छ्याउँदा खनिएको थियो । खाडल परेको ठाउँमध्ये १० मिटर दुरी ढलान बाँकी थियो ।सोही ठाउँमा गएराति भलबाढी परेको हो । महेन्द्रपुलमा दोहोरो पार्किङका कारण ढलानमा ढिलाइ भएको पोखरा महानगरले जनाएको छ । कमजोर बनेको ठाउँमा पानीले भित्रभित्रै खोक्रो पारेको र सडकसँगै नजिकैको पेटी भासिएको हुन सक्ने भूगर्भविद्को भनाइ छ ।

पोखरामा विगतमा पनि यसप्रकृतिका घटना नदोहोरिएका होइनन् । किनकि पोखराको भूगोल नै कमजोर छ । यसपालि मात्र ठाउँ फरक हो । विगतमा न्यूरोड, गैह्रापाटन, विन्ध्यवासिनी लगायतका क्षेत्रमा जमिन भासिएर घर नै जोखिममा परेका थिए । ५ वर्षअघि पोखरा अर्मलाको कैयौं रोपनी धानखेत नै भासिएको सायदै बिर्सेका होलान् ।

सेती नदीभन्दा पश्चिम क्षेत्रको भूभाग चुनढुंगायुक्त जमिनले बनेकोले पानीले चुन पगालेर जमिन खोक्रो बनाउने हुँदा जमिन भास्सिने गरेको भूगर्भविद् डा. कृष्ण केसी बताउँछन् ।

विज्ञले सेती किनारा आसपासका क्षेत्रलाई अति जोखिमपूर्ण कमजोर धरातल भन्दै त्यस क्षेत्रमा ठूला भवन बनाउन नहुने सुझाव दिँदै आएका छन् । तर स्थानीयले यसरी जोखिम निम्त्याउने गरी सेती किनारको जग्गा अतिक्रमण गर्दै मापदण्ड मिचेर अग्लाअग्ला भवन ठड्याउन छाडेका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

को सफल को असफल ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारका एजेन्डा: विकासभन्दा सुशासन प्राथमिकता