काठमाडौं । नेपालले निर्यात व्यापारमा उल्लेखनीय प्रगति गरेको छैन ।
नेपालले गरिरहेको निर्यात व्यापार फुलेको बेलुनका रूपमा मात्र रहेको छ । नेपालको आफ्नै भूमिमा उत्पादन भएको सामग्री निर्यात गर्ने नभइकन आयात गरेर ल्याइएका सामानलाई नै प्रशोधन गरेर निर्यात गर्ने भएकाले नेपालको निर्यात व्यापार दिगो हुने खालको छैन ।
नेपालको आफ्नै उत्पादनको निर्यात नभएकै कारणले गत वर्ष नेपालबाट निर्यात हुने दर एकै आर्थिक वर्षमा २१ दशमलव ४ प्रतिशतले घटेको छ ।
पाम, भटमास, तोरी आयात गरी टिकेको निर्यात व्यापार
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८–७९ मा २ खर्ब रुपैयाँको वस्तु नेपालबाट निर्यात भएकोमा गत वर्ष २०७९–८० मा ४३ अर्ब रूपैयाँले घटेर १ खर्ब ५७ अर्ब रुपैयाँको मात्रै निर्यात भएको तथ्यांक रहेको छ ।
निर्यात घट्नुको प्रमुख कारण नै खाने तेल हो । भारत र अन्य मुलुकबाट पाल्म, तोरी र भटमास आयात गरेर नेपालमा प्रशोधन गरी निर्यात गर्ने गरेका कारण निर्यात घटेको हो ।
अर्को मुलुकबाट कच्चा पदार्थ आयात गरेर प्रशोधन गर्ने मात्र होइन, प्याकेजिङ गरेरै मात्र भारत निकासी गर्ने अन्य वस्तु पनि छन् । सुपारी, मरिच, छोकडा, केराउजस्ता वस्तु नेपाललाई आवश्यक पर्नेभन्दा बढी आयात गरेर अवैध बाटोमार्फत भारत पठाउने गरेको पनि पाइएको छ ।
गत आर्थिक वर्षमा तोरी मात्रै २४ अर्ब ६ करोड ३ लाखको आयात भएको तथ्यांक छ । यसैगरी कच्चा पाम आयल मात्र २५ अर्ब ९१ करोड ५४ लाख ८७ हजारको आयात भएको देखिएको छ । यसमा पनि प्रशोधित पाम आयलका अन्य कच्चा पदार्थ ३० अर्बभन्दा बढीको आयात भएको देखिएको छ ।
भटमासको तेल पनि १२ अर्ब ६७ करोडको आयात भएको देखिएको छ ।
गत वर्ष पाम, सूर्यमुखी तथा भटमास तेलसँगै धागो, जुट र जुटका उत्पादन, उनीबाट बुनेका कपडा, अन्य कपडा, कटनका बोरा तथा झोला, जुस, कागज तथा कागजका उत्पादनको निर्यात घटेको छ ।
नेपालले गत वर्ष २० अर्ब ५० करोड रुपैयाँको पाम तेल निर्यात गरेको तथ्यांक रहेकोमा ऊनी गलैंचाको ११ अर्ब ५० करोड रुपैयाँ कुल निर्यातमा हिस्सा ७ प्रतिशत रहेको छ । यसैगरी पोलिस्टर धागो १० अर्ब ५५ करोड रुपैयाँ निर्यातमा हिस्सा ६ दशमलव ७ प्रतिशत रहेको छ ।
भटमासको तेल भने ८ अर्ब ४७ करोड निर्यात भएको छ । यो निर्यात हिस्सामा ५ दशमलव ४ प्रतिशत हो । गत आर्थिक वर्षमा ८ अर्ब २५ करोड रुपैयाँको अलैंची निर्यात भएको छ । यो कुल निर्यातको ५ दशमलव ३ प्रतिशत हो ।
गत वर्ष पाम आयल १० अर्ब ७१ करोड ८९ लाख ५० हजारको निर्यात भएको छ । भटमासको तेल भने ८ अर्ब ४७ करोड ५९ लाख ९२ हजारको भएको थियो ।
गत आर्थिक वर्षमा कुल निर्यात व्यापार नराम्रोसँग खस्केको बेलामा ऊनी गलैंचाको निर्यातले भने केही राहत दिएको छ । कुल निकासी व्यापारमा ऊनी गलैंचा एक्लैको हिस्सा ७ दशमलव २ प्रतिशत पुगेको छ ।
भारतले तेल निर्यातमा नयाँ नीति लिएको र नेपालबाट तेलको निर्यात घटेसँग समग्र नेपालको निर्यात व्यापारमा असर गरेको हो ।
२०५० सालको दशकसम्ममा नेपालबाट विदेशी बजारमा सबैभन्दा बढी निर्यात हुने वनस्पति घिउ रहेको थियो । त्यो बेला नेपालकै दुधबाट घिउ बनेर निर्यात हुने गरेको थियो । तत्पश्चात् गलैंचा र तयारी पोसाकले निर्यात व्यापार धानेकोमा पछिल्लोपटक आएर तेलले बजार धानेसँगै निर्यातको दिगोपनामाथि प्रश्न उठेको छ ।
निर्यातलाई विज्ञले स्वेलिङ निर्यात भन्ने गरेका छन् । नेपालले आयातकै भरमा निर्यात गरेरे लाभ उठाउने गरेका कारणले गर्दा यस्तो भनिएको हो । स्वेलिङ निर्यातका कारण भारतले सम्बन्धित देशबाट नै तेलको निर्यात गर्न थालेपछि नेपालबाट निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७८–७९ मा भएको कुल निर्यातमा ४७ प्रतिशत योगदान सूर्यमुखी, पाम र भटमासको तेलको थियो। गत वर्ष भने जम्मा ३३ अर्ब रुपैयाँको मात्रै यस्तो तेल निर्यात भएको छ ।
यी तीन प्रकारको तेलमा नेपालको उत्पादन नभई तेस्रो मुलुकबाट निर्यात गर्ने र भारतले नेपाललाई दिएको छुटलाई प्रयोग गर्दै नेपालबाट भारत निर्यात हुने गरेको कारण यो निर्यातलाई भरपर्दो नमानिएको हो ।
निर्यातमा पाम आयल र धागो ऊनी गलैंचा माथि भए पनि ती वस्तुका लागि अधिकांश कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने अवस्था छ । यद्यपि, ऊनीको गलैंचा बुन्नका लागि आवश्यक ऊनमध्ये धेरै नेपालमै उपलब्ध भएकाले यसलाई नेपालकै निर्यात भन्न सकिने अवस्था रहेको छ । यस हिसावले नेपालको खास निर्यात हुने वस्तुमा ऊनी गलैंचा पहिलो नम्बरमा आउँछ ।
गलैंचा नेपालबाट जर्मनी, संयुक्त राज्य अमेरिका, भुटान, फिलिपिन्सलगायतका मुलुकमा निर्यात हुने गरेको तथ्यांक रहको छ ।
नेपालले दैनिक उपभोग्यदेखि बिलासिताका सूचीमा रहेका वस्तुसम्मको परनिर्भरता बढ्दो छ । चियाकफीदेखि टुथपेस्ट र ब्रससम्म, डाइपरदेखि, तास, सियो र शृंगारका सामग्रीसम्म आयातका लागि ठुलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ । यो अवस्थामा गत वर्ष नेपालले १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ ।
यसैंगरी आर्थिक वर्ष २०७९–८० मा कुल ५ अर्ब ८३ करोड रुपैयाँको तयारी पोशाक निर्यात भएको तथ्यांक रहेको छ । यो कुल निर्यातको हिस्सा ३ दशमलव ७ प्रतिशत हो ।
भन्सार विभागका अनुसार जुटका सामान मात्र ७ अर्ब २४ करोड रुपैयाँको निर्यात भएको छ । यो निर्यातमा हिस्सा ४ दशमलव ६ प्रतिशत हो । यसैगरी जिंक सिट (जस्ता पाता) ७ अर्ब ७० करोड रुपैयाँको निर्यात भएको छ ।
चिया भने ३ अर्ब ९३ करोड रुपैयाँको निर्यात भएको तथ्यांक रहेको छ ।
पश्मिना भन ३ अर्ब १९ करोड रुपैयाँको निर्यात भएको छ ।
२ अर्ब ३० करोड रुपैयाँको पिना , २ अर्ब २९ करोड रुपैयाँको चाउचाउ
निर्यात हुँदा १ अर्ब ८४ करोडको जडीबुटी, १ अर्ब ७ करोड रुपैयाँको अदुवा निर्यात भएको छ । आयुर्वेदिक औषधीको पनि निर्यात १ अर्ब २८ करोड रुपैयाँको भएको छ ।
विदेशी मुद्रा तिरेर ल्याइएका पाम र भटमासको तेल प्रशोधन गरेर निर्यात हुने भएकाले नेपालको गार्हस्थ उत्पादनमा यसले कुनै भूमिका खेल्न सकेको छेन । पाम, भटमास र सूर्यमुखी तेलको निकासी भने ओरालो लागिरहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो महिना अर्थात् साउनको तथ्याङ्कले खाने तेलको निर्यात परिमाण खस्क्दिो छ ।
पहिलो महिनामै पाम नेपालको निर्यात ३ अर्ब ३१ करोड रुपैयाँ बढीले घटेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनमा ४३ करोड २० लाख रुपैयाँ बराबरको पाम तेल नेपालले निर्यात गरेको छ । अघिल्लो वर्षको साउनमा ३ अर्ब ७४ करोड २७ लाख रुपैयाँ बराबरको पाम निर्यात भएको थियो । गत वर्षभर कुल २० अर्ब ५० करोड ९१ लाख रुपैयाँ बराबरको पाम तेल नेपालबाट बाहिरिएको थियो ।
अघिल्लो वर्षको साउनमा ७ करोड ९१ लाख रुपैयाँ बढीको सूर्यमुखी तेल निर्यात भएकोमा चालु आवको सोही महिनामा भने ४ करोड ८३ लाख रुपैयाँमा झरेको छ । गत वर्षभर ४४ करोड १८ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेलको निकासी भएको थियो ।
अघिल्लो वर्षको साउनमा १ अर्ब ५९ करोड ६२ लाख रुपैयाँ बराबरको भटमास तेल निर्यात भएकोमा चालू आवको पहिलो महिनामै १४ हजार रुपैयाँ मात्रैको यस्तो तेल नेपालले निर्यात भएको तथ्यांक भन्सार विभागको छ ।
नेपाली व्यवसायीले मलेसिया, इन्डोनेसियालगायतका मुलुकबाट कच्चा पाम तेल ल्याएर प्रशोधन गरी भारततर्फ गर्दै आएका छन् । यता, अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेसिया तथा युक्रेनबाट कच्चा भटमास आयात गरी प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन् ।