सामाजिक सञ्जालभित्र असामाजिक गतिविधि !

यतिबेला फेरि एकपटक सामाजिक सञ्जालअन्तर्गत टिकटकमा सरकारले लगाएको प्रतिबन्ध बहसको विषय बनेको छ । अघिल्लो साता सरकारले नेपालमा चल्ने टिकटकमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । त्यसको केही दिनअघि गृह मन्त्रालयले सामाजिक सञ्जालको दुरूपयोग भइरहेकाले सदुपयोग गर्न सार्वजनिक सूचना नै जारी गरेको थियो । यतिबेला सामाजिक सञ्जालअन्तर्गत खासगरी टिकटक, फेसबुक, ट्वीटर आदिमा हेरिनसक्नु असभ्य, अश्लील र आपत्तिजनक विषयहरूले ठाउँ पाइरहेका छन् । एकले अर्कोको मानमर्दन गर्ने मात्र होइन कतिपय विषय त परिवारका सदस्य जम्मा भएर एकैसाथ सुन्न-हेर्न पनि नसकिने खालका देखिन्छन् । यी उच्छृंखल विषयवस्तु सार्वजविक नगर्न र गरेमा सम्बन्धित व्यक्तिलाई कानुको कठघरामा उभ्याउनैपर्ने स्थिति थियो । तर, सरकारले यो बाटोको सट्टा सञ्जाल नै प्रतिबन्ध गर्ने बाटो अवलम्बन ग¥यो । ‘नरहे बास नबजे बाँसुरी’को नीति सरकारको रोजाइमा प-यो ।

सञ्चार शक्तिशाली माध्यम
सञ्चार आजको युुगको शक्तिशाली माध्यम हो । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले ‘एडासिटी अफ द होप’ नामक पुस्तकमा ‘म त्यो मानिस हँु जस्तो सञ्चारले सम्प्रेषण गर्छ, मैले त्यो गर्छु सञ्चारले जे गरेको भनिदिन्छ’ भनेका छन् । सम्पत्ति विवरण किन ढाँटेको ? भनी प्रश्न गर्दा एक जना मन्त्रीले टेलिभिजनकर्मी राजु थापाको जागिर खाइदिएका थिए । अर्का पूर्वउपप्रधानमन्त्री कमल थापाले एक अन्तरवार्ता कार्यक्रममा सञ्चारकर्मीलाई ‘तपार्इं मसँग अन्तरवार्ता लिने हैसियतको मान्छे नै होइन’ भनेर हपारेका थिए । अलिकति मन नपर्ने प्रश्न गर्दासाथ एमाले अध्यक्ष केपी शर्मा ओलीले त ‘तपाईं माओवादीको पत्रकार हो’ भनेर राजनीतीकरण गरिदिन्छन् । यो अवस्था संसारका अन्य मुलुकहरूमा भने विरलै पाइन्छ । मतलव, सञ्चार सबैको प्राथमिकतामा परेको स्वतन्त्र र प्रिय विधा नै हो । संसारका कैयन् मानिसले समाचार र सञ्चारमा आएका खबरकै आधारमा आफ्नो धारणा र दृष्टिकोण बनाएका हुन्छन् ।

आजकल सञ्चारका लागि सामाजिक सञ्जाल निकै लोकप्रिय बनेर आएको छ । सामाजिक सञ्चालका तीनवटा विधा यतिबेला निकै चर्चित रहेका छन् । सर्वसाधारणदेखि विशिष्ट व्यक्तिहरूसमेत सामाजिक सञ्जालका यी दुुई विधा फेसबुक र ट्वीटर र टिकटकमा निकै रमाएको पाइन्छ । सामाजिक सञ्जालमा भारतका प्रधानमन्त्री मोदीलाई ४० करोड नागरिकले पछ्याउँदै उनको समर्थन तथा प्रभाव वृद्धि गर्न विभिन्न सुझाव दिएको पाइन्छ । अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प यस्ता समर्थन पाउनेहरूको अग्र सूचीमा छन् । हाम्रा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि सामाजिक सञ्जालमा समकालीन नेताभन्दा माथि देखिन्छन् । पूर्वसचिव भीम उपाध्याय त सञ्जालमार्फत् दैनिक नवीनतम् विचारहरू पस्कने गर्छन् ।

गलत प्रयोग
सामाजिक सञ्जाल सधै, सबैले असल नियतले नै प्रयोग गरेका छन् भन्न सकिने अवस्था भने छैन । सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर रमाउनेको जमात बढ्दो छ । हिजोआज सामाजिक सञ्जालमा मन नपरेका विषय, व्यक्ति र समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्नेहरूको जमात पनि उत्तिकै सक्रिय छ । खासगरी राजनीतिक हिसाबले बदख्वाइँ गर्ने, व्यक्तिगत आकांक्षा पूरा हुन नसक्दा कसैको चरित्रहत्या गर्ने तथा विभिन्न रूप र स्वरूपमा आकृति बिगार्दै प्रस्तुत गर्ने काम हिजोआज बढी मात्रामा हुने गरेको पाइन्छ । कतिले सञ्जालमार्फत टर्चर नै दिएर आत्महत्यासम्म गर्न पु¥याएका घटनाहरू पनि हामीकहाँ देख्न, सुन्न सकिन्छ । यो अत्यन्त निर्लज्जताको पराकाष्ठा नै हो । खासगरी ‘टिनएज’का किशोर÷किशोरीहरू यस मामलामा बढी पीडित देखिन्छन् । ललाइफकाइ फोटो खिच्ने, पछि क्रप गर्ने, फोटोसपबाट शंकास्पद बनाएर प्रस्तुत गर्ने र मनोकांक्षा पूर्तिका लागि ब्लाकमेलिङसमेत गर्ने गरेको पनि पाइन्छ ।

नियमन जरुरी
नेपालमा फेसबुक, टिकटक र ट्वीटरकै माध्यमबाट मानिसहरूले मनमा लागेको कुरालाई अभिव्यक्त गर्छन् र त्यसको परिणाम खोज्छन् । अझ आजकल त यीभन्दा पनि अन्य धेरै माध्यम विकसित भएका छन् । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको पहुँच विस्तार भएको छ । ‘घरघरमा इन्टरनेट, हातहातमा मोबाइल’ तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महराले अघि सारेको सञ्चार नीति थियो । दुुर्भाग्य आज उनै महरालाई सामाजिक सञ्जालमा व्यापक विरोध र आलोचना गरिएको छ । न्यायालयको क्षेत्राधिकारभित्र प्रवेश गरिसकेको विषयलाई न्यायालयले दिने अन्तिम फैसला नआउँदासम्म क्रिया, प्रतिक्रिया दिनु अदालतकै मानहानी हो भन्ने सामान्य कुरा पनि हाम्रा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले बुुझ्न सकेका छैनन् या बुुझेर पनि बुुझ पचाइरहेका छन् ।

सामाजिक सञ्जाल सबैले सधै असल नियतले प्रयोग गरेका छन् भन्न सकिने अवस्था छैन

सामाजिक सञ्जालमा सहज पहुँचका कारण आममानिस यसमा अभ्यस्त भइसकेका छन् । यो सकारात्मक पक्ष हो । तर, यसको गलत प्रयोग र यसैलाई अभीष्ट पूर्तिको साधन बनाउँदा समस्या आएको छ । यसलाई नियमन गरेर बेलैमा नरोक्ने हो भने थप विकृति र विसंगति आउनसक्छ । यसतर्फ नियामक निकायको ध्यानाकर्षण बेलैमा हुन जरुरी छ ।

आज कयौं मानिसहरू सामाजिक सञ्जालबाट रोमाञ्चित मात्र होइन त्रसित पनि छन् । आधारहीन कुराहरूलाई ठीक बनाउन खोजेको पनि देखिन्छ । फरकसमय, सन्दर्भ र स्थानका फोटो र भिडियोहरू अर्कै सन्दर्भमा प्रकाशित र प्रसारित गराएर विषयान्तर गराउन खोजेको पनि पाइन्छ ।

सदुपयोगमा जोड दिऊँ
टिकटकलाई सरकारले निषेध गरेसँगै यसको विरोध र समर्थनमा व्यापक प्रतिक्रियाहरू आइरहेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले त यसका विरुद्ध सर्वोच्चमा रिट नै दर्ता गरेका छन् । सञ्जाललाई बन्द होइन नियमन गर भन्ने आवाज धेरै मात्रामा उठ्नेगरेको छ । प्रविधिलाई निषेध गरेर होइन नियमन गरेर उपयोग गर्नुपर्ने आवाज सबैले उठाउँदै आएका पनि छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो सञ्जाललाई सन्देशमूलक बनाउन जरुरी छ । कुनै पनि हालतमा मनोगत कुण्ठा पोख्ने भरपर्दो माध्यम यी सञ्जाल हुनै सक्दैनन् । एक समारोहबीच प्रधानमन्त्री प्रचण्डले फेसबुक हेर्नै नहुने भयो, खाली हुँदो नहुँदो लेखेको छ, चरित्र हत्या गरेको छ भनेर गुनासो गरेका थिए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई राँगो चढेर आएको कार्टुन पोस्ट गरेको विषयलाई लिएर प्रतिनिधिसभा बैठकमा नेपालमा जे पनि गर्छन् । सामाजिक सञ्जाल छाडा छन् भनेर बोलेका थिए ।

यी सबै भनाइले सञ्जाल नियमन हुन जरुरी देखाएको छ । उनको भनाइमा सत्यता छ । नेताहरूलाई नंग्याएर, नेतृहरूको चरित्रहत्या गराएर हामीले सामाजिक सञ्जालमार्फत कसलाई गुन लगाउन खोज्दै छौं ? विचार गर्नैपर्ने हुन्छ ।

हाम्रा नेताको चरित्र हत्या गराएर हामीले के विकल्प दिन खोजेका हौं ? राजनीतिको विकल्प राजनीति नै हो । दलको विकल्प अझै राम्रो दल हो । नेताको विकल्प नेता नै हो । यसर्थ, सुधारात्मक टिप्पणी दिन सकिएला तर नंग्याउने प्रयास सबैतर्फ हानिकारक छ । अझ चरित्र हत्या गर्ने जस्ता निकृष्ट काम त निन्दनीय नै ठहर्छ । यस्ता सञ्जालमा प्रस्तुत हुने कतिपय सामग्रीले व्यक्तिको भावनामा चोट पुगेको हुन्छ । संघसंस्थाको छविमा आँच पु¥याउने काम पनि गरिरहेको हुन्छ ।

सदुपयोग गर्न सिकौं
आज मानवता, सहिष्णुता, ज्ञान, विज्ञान पूर्वाधार विकासका कुराहरू आवश्यक छ । यसका लागि सामाजिक सञ्जालबाट विज्ञान र प्रविधिको उपयोगिता बाँड्न सकिन्छ । प्रयोगकर्ताहरूको ध्यान त्यता जानुपर्छ । गरिबहरूको उपचारका लागि, आकस्मिक सहयोगका लागि, ज्ञानगुनका नवीनतम भण्डारको खोजका लागि पर्याप्त मात्रामा यी सञ्जालहरू उपयोगी हुन सक्छन् । समाजमा भए, गरेका असल अभ्यास, उल्लेख्य सकारात्मक घटनालाई पनि सञ्जालमार्फत सेयर गरेर लाभान्वित हुन सकिन्छ । त्यतातर्फ पनि यसका प्रयोगकर्ताहरूले ध्यान दिने हो भने २१औं शताब्दीमा सूचना र सञ्चारले ल्याएको क्रान्तिको सही सदुपयोग हुनसक्छ ।

राम्रा पुस्तकका अंशहरू, विद्वान्का भनाइहरू, उपयोगी स्वास्थ्य सल्लाहहरू, समाज निर्माणका कुराहरू, विद्वान्का प्रवचनहरूचाहिँ सामाजिक सञ्जालमा अत्यन्त कम पोस्ट हुन्छन् । कतिपय सकारात्मक सोच र चिन्तनका कुरा गुगलमा खोज्दा पनि पाइँदैन तर हेर्नै मन नलाग्ने नकारात्मक कुराहरू सामाजिक सञ्जाल खोल्दा आफ्नो वालमा ट्याग गरेको भेटिन्छ । यो कुनै पनि हालतमा ठीक होइन ।

आजको आवश्यकता यी सञ्जालको सही प्रयोग गर्नु हो । यसको दुरुपयोग गर्ने पात्र वा प्रवृत्तिउपर कडा निगरानी र कारबाही गर्न जरुरी छ । निषेध वा प्रतिबन्ध मात्र समस्याको समाधान होइन । प्रविधिको भरपुर उपयोग गरेरै छाड्नुपर्छ । तर, यो उपयोग शिक्षाप्रद, ज्ञानप्रद, सूचनामूलक र उपयोगितावादमा आधारित भने हुनैपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आरजुलाई निर्वाचन आयोगकाे २४ घन्टे स्पष्टीकरण