गायनमा करिअरको पर्खाईमा कर्णालीकी रुपा बुढा

जुम्ला । मेलापातमा निस्कँदा होस् या गोठालो जाँदा, जुम्ला पातारासी–३ तल्फी गाउँकी रुपा बुढा आफ्नो सुरिलो स्वरमा गाउन थालिहाल्छिन् । जीवनकै सपना भएर होला, एकान्तमा पुग्नासाथ गीत गाउने हतार हुन्छ उनलाई । घाँस दाउरा गर्न जाँदा सल्ला, धुपी र भोजपत्रका घना जंगल उनको स्वरले गुञ्जायमान हुन्छ । सुसाउँदै बग्ने जँवा नदीको किनारका खेतबारीमा गीत गाउँदै बितिरहेको छ, रुपाको दैनिकी । जवाँ आफ्नै शुर र बेगमा बगिरहेको छ, अनवरत, अविरल । अनि रुपाको स्वर मिसिन्छ, सुसाउँदै बग्ने जवाँको संगीतमा ।

कहिलेकाहीँ आफ्नो गीतका भिडियो फुटेज फेसबुकको रिल्स र स्टोरीमा पनि राख्ने गर्छिन् । पहिले उनको प्रतिभा देखाउने साथी बनेको थियो, टिकटक । लुकेको प्रतिभा देखाउने माध्यम बनेको टिकटक ब्याण्ड भएपछि भने अहिले फेसबुकलाई आफ्नो कला प्रस्तुत गर्ने माध्यम बनाएकी छन् । गाउँबस्ती, उकाली ओराली, भञ्याङ चौतारी जहाँ जस्तोसुकै परिस्थितिमा पनि गीत गाउन सुरु गर्नुको पछाडि रुपाको एउटा आशा लुकेको छ– आफ्नो गायन सुनेर कसैले सानैदेखिको सपना साकार पार्न सहयोग गर्छन् कि भन्ने । उनको स्वरमा गीत सुन्नेहरु तारिफ गर्दै ‘गायन क्षेत्रमा चम्किलो भविष्य छ, प्रयास गर’ भनेर हौसला दिने गर्छन् ।

नयाँ कर्णालीले प्रतिभा पहिचानको श्रृंखला चलाइरहेको छ । नयाँ कर्णाली डिजिटल पत्रिकामा आफ्नो प्रतिभा प्रष्फुटन गर्न जुम्ला खलंगा झरेकी रुपाले भनिन्, ‘जीवन भनेजस्तो, सोचेजस्तो कहाँ हुँदोरहेछ, रहर गरेर मात्र केही नहुँदोरहेछ । परिस्थिति र समयको गति अनुसार चल्नु पनि जीवन रहेछ ।’

उनको आवाजमा गीत सुन्ने कतिपयले त तुरुन्तै काठमाडौं गएर गीत रेकर्ड गराउन पनि सल्लाह दिन्छन् । स्रोताबाट पाएको सकारात्मक प्रतिक्रियाले रुपामा उत्साह त आउँछ, तर अवसर जुरेको छैन । लोकभाका, ठाडीभाका, देउडा, दोहोरी, आधुनिक, पप विधाका गीत गाउँदा रुपाको स्वर सुन्ने जति सबै मन्त्रमुग्ध हुने गर्दछन् ।

उनले पातारासीकै तल्फी गाउँमा विवाह गरेकी छन् । दुई सन्तानकी आमा रुपाको गीत गाउने इच्छा भने अझ बढेको छ । तर आर्थिक अवस्था उनको लागि बाधक बनेको छ । घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनको प्रतिभा देश दुनियाँले चिन्न नसकेको उनका आफन्तहरु बताउँछन् । उनको प्रतिभा आफूभित्रै सीमित रहन पुगेको छ । गरीबीकै कारण रुपाको कलालाई अगाडि बढाउन नसकिएको उनकी फुपू चाँदनी खड्काले बताइन् ।

रुपाले अवसर पाए जिल्लाकै होइन, नेपालकै एक गहनाको रुपमा स्थापित हुनसक्ने स्थानीय भक्तबहादुर बुढाले बताए । उचित अवसर पाएमा कृष्णाको पनि सपना साकार हुने र जिल्लाको पनि नाम हुनेमा उनको विश्वास छ । गरीब घरपरिवारमा हुर्किएकी रुपा आर्थिक अभावकै कारण पछि परेको उनको भनाइ छ । ‘गाउनमा मेरो बाल्यकालदेखिको रुची हो, गाउन त सक्छु तर के गर्नु ? यो पैसाको युग रहेछ । यदि हाम्रो घरको आर्थिक अवस्था राम्रो भएको भए अहिलेसम्म गायिका पो बनिसकेकी हुन्थेँ कि †’ रुपाले भनिन् ।

२०५७ सालमा जुम्ला पातारासी गाउँपालिका–५ लासीमा जन्मेकी रुपाले गाउँ छेउको ऋणमोक्ष माद्यमिक विद्यालयबाट कक्षा १२ सम्म पढेकी छन् । घरकी जेठी सन्तान रुपाले विद्यालयमा पढ्दा रेडियोका सांगीतिक कार्यक्रममा समेत गीत गाउने गर्थिन् । ‘त्यतिबेलादेखि नै मैले गाउनसक्छु भन्ने थाहा पाएका हुँ, त्यस बेलादेखि नै हौसला पाउँथे, त्यसपछि गाउनमा रुचि पनि बढेको हो,’ रुपाले सुनाइन् ।

‘विपन्नतामा गुज्रिएको जिन्दगी सम्झँदा पनि मन सारै दुख्छ, चाहेर पनि आफ्नो सपना पूरा गर्नसक्ने अवस्थामा छैन,’ उनी भावुक भइन् । नेपालमा लुकेका प्रतिभा पहिचान गर्ने विभिन्न रियालिटी शोहरु पनि छन् । तर के कसरी सहभागिता जनाउने भन्ने मेसोे नपाउँदा रुपालाई समस्या परिरहेको छ । उनलाई गायिका बन्न सघाउने भनी आश्वासन त धेरैले दिए तर कसैले पनि वास्तवमा सहयोग गरेका चाहिँ छैनन् । उनले भनिन्, ‘उचित अवसर पर्खिरहेकी छु, मौका मिलेको भए गायनमा करिअर बनाउने थिएँ ।’

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका ४ पालिकामा रेशम चौधरीको पार्टी, ३ मा काँग्रेस अगाडि