सुनकोशी–मरिण डाइभर्सनः दुई महिनापछि सुचारु भयो सुरुङ निर्माण

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी– मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दुई महिनादेखि अवरुद्ध भएको सुरुङ निर्माण कार्य सुचारु भएको छ । शुक्रबारदेखि आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको आयोजनाले जनाएको छ । विगत ६० दिनदेखि अवरुद्ध रहेको सुरुङ निर्माण कार्यलाई सामान्य रूपमा सुचारु गरिएको आयोजना प्रमुख मित्र बरालले बताएका छन् ।

महाभारत शृंखलाको जटिल एवं प्रतिकूल भौगर्भिक अवस्था, सोही अवस्थामा भूमिगत पानीको संयोजनका कारण आएको पहिरोले टीबीएम मेसिन जाम भएपछि अवरुद्ध सुरुङ निर्माण कार्य सुरु भएको उनले बताए । सुरुङको दायाँबायाँ दुवैतर्फ पाउडर जस्तो माटो झरेर सुरुङ खन्ने टनेल बोरिङ मेसिनलाई थिचेपछि ६० दिनदेखि १० दशमलव ५४४ किलोमिटरमा सुरुङ निर्माणको काम रोकिएको थियो ।

आयोजना प्रमुख बरालका अनुसार रविन्स अमेरिका, कोभिक चाइना र स्मेक अस्ट्रेलियाका विज्ञ प्राविधिक टोली र आयोजनास्थलमा रहेका स्वदेशी तथा विदेशी प्राविधिक तथा विज्ञ टोलीको संयुक्त प्रयासबाट आयोजनाको सुरुङ निर्माण कार्य सुचारु गरिएको हो । आयोजनाको सुरुङ निर्माण यसपटक सबैभन्दा लामो समय अवरुद्ध भएको हो ।

यसअघि तेस्रोपटक ९ दशमलव २२७ किलोमिटरमा ५६ दिन काम अवरुद्ध भएको थियो । भौगर्भिक समस्याले गर्दा निर्माणक्रममा यो छैटौंपटक काम अवरुद्ध भएको हो । बाइपास निर्माण गरी हिलो, पहिरो पन्छाएर आयोजनाको काम सुचारु गरिएको छ । काम सुचारु गरी १० दशमलव ६६३ किलोमिटर सुरुङ खनिएको समेत बरालले जानकारी दिए ।

टनेल बोरिङ मेसिनबाट सुरुङ निर्माण कार्यका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक)ले ठेक्का पाएर काम गरिरहेको छ । यस्तै, आयोजनाको बाँध निर्माणको कामसमेत सुरु भएको छ भने पावरहाउस निर्माण मरिण नदीको तटबन्धनलगायतका कामसमेत भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुलीमा कांग्रेस र माओवादीको मात्र गठबन्धन हुने