सहकारी ठगीविरुद्ध कांगे्रसले सडकबाट आन्दोलन चर्काउँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिन गर्न माग गर्दै गृहमन्त्री रवि लामिछानेविरुद्ध सडक संघर्ष सुरु गरेको छ । कांग्रेसले अनियमितताका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने अडान राख्दै आइरहेको छ ।

संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्री लामिछानेको नाम नै उल्लेख गर्न नहुने पक्षमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा छानबिनको काम अवरुद्ध भइरहेको कांग्रेसले आरोप लगाउँदै आएको छ । कार्यदल सदस्यसमेत रहेका सांसद जीवन परियारले कार्यदल बैठक कांग्रेसले अघि सारेको प्रस्तावमा जहाँको त्यहीँ भएको बताए । उनले आफूहरू गृहमन्त्री लामिछानेको नाम तोकेरै कार्यादेश बनाउनुपर्ने अडानमा कायम रहेको उल्लेख गर्दै सत्ता पक्ष सो कुरामा सहमत नभएको बताए ।

उनले सत्ता पक्ष विभिन्न शब्दमा खेलिरहेको आरोप पनि लगाए । उनले विभिन्न सहकारीको रकम अपचलन भएको गोर्खा मिडिया नेटवर्कसँग सम्बद्ध पदाधिकारीलाई छानबिनको दायरामा नल्याएसम्म कांग्रेस मान्नेवाला नरहेको स्पष्ट पारे । यसैबीच, आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा ‘सत्ताको बलमिचाइँ र सहकारी ठगीविरुद्ध’को नारा दिँदै कांग्रेसले विरोध प्रर्दशनसँगै सभा ग¥यो । जसको नेतृत्व पार्टीका शीर्ष नेताहरूले गरेका थिए । काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका २ निर्वाचन क्षेत्रबाट मान्छे भेला गराएर सरकारविरुद्ध कांग्रेसले भव्य विरोधसभा ग¥यो । विरोधसभालाई सम्बोधन गर्दै पार्टी महामन्त्री विश्वप्रकाश शर्माले सहकारी अनियमिततालाई बचाउनुपर्छ भन्नेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वयं अग्रसर भएर लागिपरेको आरोप लगाए । ओली सहकारी ठगी प्रकरणमा बचाउमा लाग्नुमा पहिलो कारण सत्ताबाट बाहिर जानुपर्ने हो कि भन्ने चिन्ताले घर गरेको शर्माको भनाइ छ । हाल माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन् । जसमा केन्द्रबिन्दुमा रास्वपा छ । जसको सांसद संख्या २१ छ । अंकगणित तलमाथि भए सरकार ढल्नसक्ने चिन्ताले ओलीले भरपुर शक्ति लगाएर रविलाई बचाउन उद्यत भएको कांग्रेस महामन्त्री शर्माको भनाइ छ । ‘सरकार टिकाउनका लागि, प्रदीप गिरीको शब्दमा भन्दैगर्दा लोकतन्त्रको कुरा होइन, संख्यातन्त्रको कुरा हो,’ शर्माले भने ।

दोस्रो कारण गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा परे मुलुकभर रहेका अधिकांश सहकारीमा आफ्ना कार्यकर्ता पनि पर्नसक्ने भएकाले नेकपा एमाले त्यसको संरक्षणमा लागिरहेको महामन्त्री शर्माको भनाइ छ । ‘सहकारी प्रकरणमा जोडिएका एमाले नेता–कार्यकर्ता जोगाउन खोजेर एमालेलाई नै बदनाम बनाउन केपी ओली उद्यत हुनुहुन्छ, दोष, आरोप र गाली रवि लामिछानेको भागमा थुपारिदिएर उहाँ (ओली)ले एमालेका सहकारी ठगको रक्षा गरिराख्नुभएको छ,’ शर्माले भने ।

तेस्रो कारणमा सहकारी प्रकरणमा लामिछानेलाई साथ दिने र गिरीबन्धु चिया बगान प्रकरणमा लामिछानेको साथ लिनेमा ओली रणनीति रहेको शर्मा बताउँछन् । गिरीबन्धु टि–इस्टेटका विषयमा ओलीमाथि नीतिगत भ्रष्टाचार गरेको आरोप लागेको छ । ओली नेतृत्वको सरकारले १३ असार २०७८ मा झापाको गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाका लागि नीतिगत निर्णय गरेको थियो ।

ओली अहिले नै सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन तयार नहुनुको कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिसन २०८४ भन्दै हिँडिरहेका अवस्थामा सत्तामै राखेर नयाँ दल पुरानो भन्दा पनि बिग्रेको र काम नलाग्ने हो भन्ने बनाउनका लागि भएको महामन्त्री शर्माको भनाइ छ । रास्वपालाई २०८४ सालसम्म उभिन नसक्ने अवस्थामा पु¥याएपछि ओली आफ्नै पार्टीले राखेको मिसन २०८४ पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेका छन् ।

ओलीको आफ्नो चाहनाअनुसार गृहमन्त्री लामिछानेलाई खुइल्याउन लागिरहेको शर्माको दाबी छ । ओलीको इच्छानुसार आफू चलेको बुझ्न गृहमन्त्री लामिछानेलाई समय लाग्ने शर्माले बताए । ‘झापाको विश्वप्रकाशले जति कमरेड केपी ओलीलाई बुझेको होला,’ शर्माले भने, ‘भरतपुरको रवि लामिछानेले बुझ्नका लागि समय लाग्छ ।’ ओलीले यही रूपमा अडान कायम राखिराख्दा एमालेभित्र गम्भीर समीक्षा जरुरी भएको उनले बताए । ‘एमाले उभिएको हिजोको ग्राउन्ड के हो ? एमालेले हिजो बोकेको राजनीतिक दर्शन के हो ?’ शर्माले प्रश्न गरे, ‘एमाले आज कुन वर्गको पक्षमा उभिन चाहन्छ ?’

सहकारीको रकम अपचलनमा रवि लामिछाने र राप्रपा सांसद गीता बस्नेतको उस्तै प्रकृतिको संलग्नता रहेको र सांसद बस्नेतमाथि मुद्दा चलाइएको शर्माले बताए । तर, सोही प्रकृतिको घटनामा गृहमन्त्रीमाथि संसदीय छानबिनका लागि पनि सत्तारूढ दल तयार नभएको उनको भनाइ छ ।

कांग्रेस सबैखाले चुनौती सामाना गर्न तयार छ : सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस चुनौती सामना गर्न तयार रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले कांग्रेससहितका प्रतिपक्ष दलले संसद्मा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे सो प्रवृत्तिलाई सामना गर्न कांग्रेस तयार रहेको बताए । सरकारले पेलेर जाने हो भने कांग्रेस सहेर नबस्ने उनको चेतावनी छ ।

उनले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउनुपर्ने बताए । जनताका हितमा काम नगर्ने सरकार र जनताका आवाज नउठाउने प्रतिपक्ष छिट्टै सकिने भन्दै सिटौलाले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसद्मा निरन्तर उठाउनुपर्ने बताए । उनले कांग्रेसले आफू मात्रै अन्याय भएको महसुस नगरेको भन्दै आमजनतामा अन्याय भएको कुरा कांग्रेसले उठाएको बताए ।

‘सरकारले जनताको हितमा काम गर्नुपर्छ, संविधानले जनतालाई दिएका हकहरूलाई प्रचलनमा ल्याउनुपर्छ, प्रतिपक्षले जनताका आवाज, जनतालाई संविधानले दिएको अधिकारका कुरा संसद्मा निरन्तर उठाउनुपर्छ, प्रतिपक्षले कुरा उठाएन भने प्रतिपक्ष सकियो, सरकारले जनताको हितमा काम गरेन, सरकार सकियो,’ सिटौलाले भने ।

प्रतिपक्षले संसद्मा जनताका आवाज उठाइरहेकाले सरकारले यसलाई छिट्टै गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । ‘सरकार पेलेरै जान खोज्छ भने पेलेर जाने प्रवृत्तिलाई हामीले त्यो चुनौतीलाई सामना गर्नेछौं,’ सिटौलाले भने, ‘हामीले भनेका पनि छौं, सरकार साँच्चै यसै ढंगले गइराख्ने हो भने कांग्रेस तयार छ, कांग्रेस सहेर त बस्न सक्दैन ।’ उनले कांग्रेसले आफू मात्रै अन्याय भएको महसुस नगरी आमजनतामा अन्याय भएको कुरा कांग्रेसले उठाएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'एमाले अध्यक्ष ओलीले पोखेको असन्तुष्टि वास्तविक होइन’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतगणना धमाधमः कांग्रेस एमालेबीच नै टक्कर