नक्कली काम गर्ने नौ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर सरकारी जागिर खानेदेखि मृत्यु भएका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता बाँड्नेसम्मलाई विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आयोगले आइतबार तनहुँको धरमपानीस्थित जय नेपाल आधारभूत विद्यालय प्रावि शिक्षक पुष्पा गुरुङविरुद्ध मुद्दा दायर गरेको छ ।

गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्रमाथि अनुसन्धान हुँदा नक्कली भएको पुष्टि भएपछि मुद्दा दर्ता गरेको हो । अनुसन्धान हुँदा गुरुङले विहार विद्यालय परीक्षा समिति, पटनाबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली एवं झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति भई हालसम्म कार्यरत रही सरकारी लाभ तथा सुविधा लिइरहेको पुष्टि भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

त्यस्तै, आयोगले नक्कली शैक्षिक योग्यता प्रमाणपत्र देखाएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएका सन्तप्रसाद कुर्मीविरुद्ध मुद्दा दर्ता गरेको छ । रूपन्देहीको सिक्टहन माध्यमिक विद्यालयको व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष सन्तप्रसाद कुर्मीविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र भेटिएपछि मुद्दा दर्ता गरेको हो ।

अनुसन्धान हुँदा कुर्मीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश इलाहावादबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको नक्कली एवं झुटो शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पदमा छनोट भएको देखिएको अख्तियारको दाबी छ ।

यस्तै, आयोगले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको अभियोगमा तेह्रथुमको तत्कालीन थोक्लुङ गाविसका सचिव डम्बरकुमार गड्तौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । आयोगले सचिव गड्तौताविरुद्ध सामाजिक सुरक्षाको १ लाख १८ हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो । उमेर नपुगेको व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिएको, मृत्यु भइसकेका सयौं मानिसको नाममा पनि भत्ता निकासा गरी वितरण गरेको भन्दै गड्तौवाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्ने क्रममा उनी दोषी देखिएको अख्तियारले जनाएको छ ।

त्यस्तै, गलत लिखत तयार गरी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने मालपोत कार्यालय कपिलवस्तुका तत्कालीन कार्यालय प्रमूख रेशमबहादुर थापा क्षत्रीसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा गर्ने कामका दोषी भन्दै मालपोत कार्यालयका तत्कालीन प्रमुख थापा क्षेत्रीसहित नायव सुब्बा मोदनाथ पौडेल, रजिस्ट्रेसन फाँटका खरिदार बद्रीनाथ रेग्मी, मोठ फाँटका खरिदार बालकृष्ण अर्याल र मतिबुल हसन खाँविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

साविक भगवानपुर गाविस वडा–५ मा रहेको कित्ता नम्बर ९४ को बाटो कायम रहेको जग्गा किर्ते लिखत तयार गरी हालको शिवराज नगरपालिका—५ निवासी मतिबुल हसन खाँले बकसपत्रमार्फत आफ्नी श्रीमतीको नाममा नामसारी गर्दै बिक्री गरेको भन्दै परेको उजुरीमाथि छानबिन गर्दा पाँच जना दोषी देखिएको अख्तियारले जनाएको छ ।

वन अधिकृतविरुद्ध मुद्दा
आयोगले बाराका सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राष्ट्रपति चुरेको बाँस बिरुवा खरिदमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो । बारामा कार्यरत सहायक वन अधिकृत पटेलले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यक्रम वंगरी नदी प्रणालीतर्फ दुई हजारवटा दुई वर्षे बाँसको कलमी राइजोम उत्पादन वा खरिद तथा रोपण गरी नर्सरी ब्याड निर्माणका लागि खरिद गरेको बिरुवामा भ्रष्टाचार गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ ।

२०७५ फागुन मसान्तभित्रमा कार्य सम्पन्न गरी सक्ने तीन लाखको कार्यादेशअनुसार कुनै पनि काम नगरी नर्सरीमा पहिले नै मौज्दात रहेको बाँसको बिरुवालाई देखाएर नक्कली बिल बनाएर भुक्तानी लिएको आरोपपत्रमा उल्लेख छ । अख्तियारले पटेललाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद बिगो र जरिमाना गर्न माग गर्दै आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हुम्लाकी रंगमति शाही बनिन् जिल्लाकै पहिलो महिला वडाध्यक्ष