कांग्रेस १४औं महाधिवेशनः सभापतिको परिणाम आजै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ४५ सय मत खसेको छ । जारी महाधिवेशनमा १३ पदाधिकारीसहित १ सय ३२ पदमा ४ सय ८९ जना उम्मेदवार छन् ।

देशका १ सय ६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संघसंस्था र विदेशस्थित जनसम्पर्क समितिबाट कुल ४७ सय ४३ जना १४औं महाधिवेशनका लागि मतदाता रहेकोमा ४५ सय मत खसेको हो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार मतदान सकिएलगत्तै मतगणना सुरु गरिएको छ । सभापतिको मतगणना राष्ट्रिय सभामा गृहमा नै गरिएको छ । अन्य पदमा खसेको मत पेटिका भने पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको छ ।

एक सभापति पदमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ गरी पाँच जना प्रतिस्पर्धामा छन् ।

यसैगरी, उपसभापतिमा देउवा समूहबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छेदार उम्मेदवार छन् । यस्तै डा. कोइरालाको समूहबाट डा. चन्द्र भण्डारी र धनराज गुरुङ उपसभापतिको उम्मेदवार छन् भने सिंहको समूहबाट नेत्री सुजाता कोइराला उपसभापतिको उम्मेदवार बनेकी छन् । यस्तै, निधिको समूहबाट दिवेश्वरी शाह उपसभापतिको उम्मेदवार छन् ।

यसैगरी, नेता महेश अचार्यलेसमेत उपसभापतिमा उम्मेदवारी दिएका छन् । कांग्रेस विधानमा दुई उपसभापति निर्वाचनमार्फत चयन हुने व्यवस्था छ ।

यसैगरी, दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवार छन् । संस्थापन समूहबाट डा. प्रकाशसरण महत र युवा नेता प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार हुन् । पौडेल सिटौला समूहबाट देउवा टिममा परेका हुन् ।

यसैगरी, कोइरालाको समूहबाट गगन थापा र डा. मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार बने भने सिंहको समूहबाट विश्वप्रकाश शर्मा महामन्त्रीको उम्मेदवार बनेका छन् । यस्तै निधिको समूहबाट डा. राजाराम कार्कीले महामन्त्रीको उम्मेदवारी दिएका थिए ।

यसैगरी, विभिन्न आठवटा क्लस्टरबाट छानिने आठजना सहमहामन्त्रीका लागि १९ जना उम्मेदवार बनेका थिए ।

देउवा समूहबाट महिला सहमहामन्त्री पदमा महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फ भीष्मराज आङ्दाम्बे, दलित सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, मधेसी सहमहामन्त्रीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारु सहमहामन्त्रीमा उमाकान्त चौधरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाहीलाई उम्मेदवार बनेका हुन् ।

यसैगरी, कोइराला समूहबाट आठ सहमहामन्त्रीमा दलिततर्फबाट जीवन परियार, महिलातर्फ कमला पन्त, मधेसीतर्फ रामकृष्ण यादव, थारुतर्फ तेजुलाल चौधरी, जनजातितर्फ विकास लामा, खस आर्यतर्फ देवराज चालिसे, मुस्लिमतर्फ शेख वकिल र अल्पसंख्यकतर्फ बद्री पाण्डे उम्मेदवार छन् ।

यसैगरी, सहमहामन्त्री रञ्जित कर्ण, गंगा सुनार र चेतराज बजालको उम्मेदवारी कायम भएको थियो । कांग्रेसले सोमबार बिहान ८ बजेबाट मतदानको समय तोकेको भएपनि करिब ४ घण्टा ढिलो अर्थात् १२ बजेपछि मात्रै मतदान सुरु भएको थियो भने राति ९ बजेसम्म मतदान भएको थियो ।

कांग्रेसले देश तथा विदेशबाट आएका प्रतिनिधिलाई तीन मतदान स्थलमा गरी ११ सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाएको थियो । राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ–शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदानको व्यवस्था गरिएको थियो ।

यस्तै, भृकुटीमण्डप मैदानमा प्रदेश २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको थियो भने भृकुटीमण्डपको हलमा प्रदेश १, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका मतदाताले मतदान गर्ने गरी व्यवस्था मिलाइएको थियो ।

१३ पदाधिकारीसहित १ सय ३२ नेता चुन्न कांग्रेसले २९ प्रकारका मतपत्रमार्फत नयाँ नेतृत्व चयनका लागि मतदानको व्यवस्था गरेको थियो । मतदानका लागि राष्ट्रिय सभागृहमा २ सय ९३, भृकुटीमण्डपमा २ सय ९३ बुथ र भृकुटीमण्डपभित्रै हलमा ५ सय १४ बुथ कायम गरिएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांबाट एक सदस्य गरी कुल १ सय ३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । तर, दुई जना भने सर्वसम्मत भइसकेका छन् । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा व्यवस्था छ ।

५१ प्रतिशत मत नआए पुनः निर्वाचन
नेपाली कांग्रेसको विधानअनुसार सभापति पदमा निर्वाचित हुन खसेको कुल मतको ५१ प्रतिशत प्राप्त गर्नुपर्छ । तर, कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेमा भने बढी मत प्राप्त गर्ने पहिलो र दोस्रो उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

जारी महाधिवेशनमा सभापति पदका लागि शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ गरी पाँच जना प्रतिस्पर्धामा छन् । यीमध्ये कसैले पनि ५१ प्रतिशत पु¥याउन नसके बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः निर्वाचन गरिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका सचिव श्रेष्ठले मतगणनाबाट प्राप्त परिणाममा ५१ प्रतिशत कुनै पनि उम्मेदवारको नपुगेको अवस्थामा तत्कालै मतदानको प्रक्रिया सुरु गर्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए ।

कांग्रेस महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले दोस्रो चरणमा मतदानमा जाने अवस्था आए देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने अनुमान लगाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 406 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी