राजस्व छलीमा संलग्न अग्रवालविरुद्ध मुद्दा

काठमाडौं । राजस्व छलीमा संलग्न भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले ७ करोड ६० लाख ६३ हजार ७ सय ४ रुपैयाँ असुलउपर गर्ने मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले मूल्य अभिवृद्धि कर छली गरेको आरोपमा भारतीय नागरिक विमला इन्टरनेसनलका सञ्चालक अग्रवालविरुद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

भारत पश्चिम बंगाल राज्य सिलगुरी थाना स्थायी ठेगाना घर भई हाल काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने ३२ वर्षीय अग्रवालविरुद्ध ३ करोड ८० लाख ३१ हजार ८ सय ५२ रुपैयाँ बिगो र सोही बराबरको जरिमाना गरी कुल ७ करोड ६० लाख ६३ हजार ७ सय ४ रुपैयाँ असुलउपर गरिनुपर्ने मागदाबीसहित अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

अनुसन्धानका क्रममा राजस्व छलीमा संलग्न अग्रवालसँग रहेको भारतको आधारकार्ड र भारतीय राजदूतावासबाट प्राप्त जारी भएको परिचयपत्रका आधारमा भारतीय नागरिक रहेको खुलेको विभागले जनाएको छ । उनले विमला इन्टरप्राइजेजका नामबाट व्यवसाय गरिरहेका थिए ।

सो फर्मले राजस्व चुहावट गर्ने मनसायले कानुनबमोजिम बिजक जारी नगरी अर्डर र इस्टिमेट फर्म, रफ बिल र गैरबिजक जारी गरी मालसामान बिक्री गरी भएको आयलाई आफ्नो आधिकारिक आयमा समावेश नगरी ठूलो परिमाणमा नगद घरमा राख्ने गरेको भेटिएको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेले यस्तो कार्यमा संलग्न अग्रवालमाथि राजस्व अनुसन्धान तथा नियन्त्रण ऐनअनुसार कारबाही हुने बताए । पाण्डेका अनुसार अनुसन्धानको क्रममा केही दिनअघि अग्रवालको ताहाचलस्थित कोठाबाट डेढ करोड रुपैयाँ नगद दराजमा लुकाएर राखिएको अवस्थामा फेला परेको थियो । बरामद भएको सो रकम प्रहरीलाई बुझाइएको थियो । उनले अग्रवालको कोठामा फेला परेको नगद १ करोड ५० लाख रुपैयाँ जफत गरी बाँकी २ करोड ३० लाख ३१ हजार ८ सय ५२ रुपैयाँ असुलउपर गर्न माग गरिएको जानकारी दिए ।

उनको यस्तो कार्यबाट नियतवस आयकर र मूल्य अभिवृद्धि कर (भ्याट)समेत छली गरेको देखिएको विभागले जनाएको छ । उनको फर्म विमला इन्टरप्राइजेज र सञ्चालक अग्रवालबाट सो रकम असुलउपर गरिनुपर्ने र सजाय मागदाबी गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार अग्रवालले राजस्व छलीका क्रममा कानुनले निर्देशित गरेको व्यवस्थाविपरीत गएर बिलबिनाको कारोबार गरेको, नगद कारोबार गरी नगद जति घरमै राख्ने गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

बिलबिजक जारी नगरी अवैध कारोबार गर्दै अग्रवालले ३ करोड १७ हजार ९९ रुपैयाँ मूल्य अभिवृद्धि कर र ८० लाख १४ हजार ७ सय ५३ रुपैयाँ आयकर छली गरेको अभियोगमा विभागले ३ करोड ८० लाख ३१ हजार ८ सय ५२ रुपैयाँ बिगो दाबी र सोही बिगो बराबरको जरिमाना र सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको बताएको छ । अब उनलाई राजस्व अनुसन्धान तथा चुहावट ऐनअनुसार कारबाही हुने विभागले जनाएको छ ।

राजस्व छल्ने अग्रवालले अर्डर स्टमेट फर्मबाट प्राप्त आयलाई आफ्नो व्यवसायको आधिकारिक बिक्री आयमा समावेश नगरी ठूलो परिमाणको नगद घरमा राख्ने गरेको, आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको विभागको आरोप छ । यसअघि पनि विभिन्न तरिका अपनाएर राजस्व छल्नेहरूलाई यसैगरी, विभिन्न अदालतमा मुद्दा दायर गर्दै आएको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः अध्यक्ष ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी