मधेसमा स्वतन्त्र पार्टीको जमानत जफत

काठमाडौं । तीन क्षेत्रमा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चितवन र तनहुँमा भारी मतले विजयी भए पनि बारा (मधेस) मा भने जमानत जोगाउन सकेनन् ।

चितवन २ मा रास्वपा अध्यक्ष रवि लामिछाने करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भए । उनी ५४ हजार १ सय ७६ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत ल्याएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत ल्याएका छन् । यहाँ कुल ७८ हजार २ सय ७७ मत खसेको थियो ।

त्यसैगरी, तनहुँ १ मा रास्वपाकै उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईभन्दा करिब १५ हजारबढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् ।

यता, बारा २ मा जसपा उम्मेदवार उपेन्द्र यादव विजयी भएका छन् । जसपा अध्यक्षसमेत रहेका यादवले आफ्ना निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन् ।

यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए । त्यस्तै, तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् । पूर्वडीआईजीसमेत रहेका रास्वपा उम्मेदवार रमेश खरेलले २ हजार ८ सय २९ मत मात्र प्राप्त गरे । उनीपछि रहेका आमजनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका खरेलको यहाँ जमानत जफत भएको छ । त्यस्तै आजपाका ज्ञवालीले यसअघि ४ मंसिरको निर्वाचनमा यही क्षेत्रबाट चुनाव लड्दा झन्डै ८ हजार मत ल्याए पनि यसपालिको उपनिर्वाचनमा आफ्नो जमानतसमेत जोगाउन सकेनन् ।

बारा–२ का ३४ उम्मेदवारमध्ये खरेल र ज्ञवालीसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ । बारा–२ मा कुल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेकामा ६९ हजार २२ मत खसेको थियो । त्यसमध्ये ८ सय ३० मत बदर भई ६८ हजार १ सय ९२ मत सदर भएको थियो । यस हिसाबले जमानत जोगाउन उम्मेदवारले कम्तीमा कुल सदर मतको १० प्रतिशत अर्थात् ६ हजार ८ सय १९ मत प्राप्त गर्नुपथ्र्यो ।

के भन्छन् राजनीतिक दलका नेता ?
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका नयाँ पार्टीको उदय सकारात्मक भएको टिप्पणी गरेका छन् ।

भट्टराईले एकअर्काको अनुभवबाट सिक्दै देशको अर्थ–राजनीति र भू–राजनीतिको विशिष्ठताअनुकूल नयाँ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न पनि आह्वान गरेका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक दशकदेखि देशमा नयाँ शक्ति÷वैकल्पिक शक्तिको पैरवीकर्ताका नाताले पछिल्लो चरणमा रास्वपा, जनमत, नागरिक उन्मुक्तिलगायतका नयाँ पार्टीहरूको उदय सकारात्मक ठान्दछु ! सबैले एकअर्काका अनुभवबाट सिकौं, देशको अर्थ–राजनीति र भू–राजनीतिको विशिष्ठताअनुकूल नयाँ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गरौं !’

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको बताएका छन् । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समयअनुरूप आफूलाई बदल्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले उपनिर्वाचनको परिणामले आफूहरूलाई रूपान्तरित हुन सन्देश दिएको जनाएका छन् । सामाजिक सञ्जालमा शर्माले आफूहरू नवीन अभियानमा, नयाँ ढंगले जुट्ने पनि दाबी गरेका छन् ।

यसैगरी, कांग्रेसका नेता डा. शेखर कोइरालाले उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिन सन्देश दिएको धारणा व्यक्त गरे । कोइरालाले मतदाताले पुराना पार्टीलाई भोट नदिएर नयाँ पार्टीलाई दिनुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको सन्देश दिएको बताए । उनले विगतको र अहिलेको उपनिर्वाचनको समीक्षा हुनुपर्ने बताउँदै कांग्रेसले युवाको भावनाअनुसार काम नगरे ठूलो मूल्य चुकाउनुपर्ने बताए ।

एमाले उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनको अंकगणितीय मात्र होइन, मनोवैज्ञानिक सन्देश पनि रहेको जनाएका छन् । सामाजिक सञ्जालमा संक्षिप्त समीक्षा गर्दै रिमालले लेखेका छन्, ‘अंकगणित सत्ता समीकरणमा तात्विक फरक पार्ने खालको छैन, मनोवैज्ञानिक सन्देश भने महत्वपूर्ण छ ।’

ठूला पार्टी लक्षित ‘सच्चिने’ शब्दको भाव ‘अहिलेकोमा सुधार गर’ भन्ने रहेको उनले उल्लेख गरेका छन् । मनोवैज्ञानिक सन्देश भने ‘कार्यशैली सुधार गर’ भन्ने मात्र नभएको उनको बुझाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो: अर्थमन्त्री पुन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लामा चार पालिकामा काँग्रेस,दुईमा माओवादी र एकमा स्वतन्त्र विजयी