लम्पी स्किनबाट १३ लाख गाइवस्तु संक्रमित

काठमाडौं । यस वर्ष किसानलाई सबैभन्दा बढी पीडा दिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार अझै सफल हुन सकेको छैन । लम्पी स्किन रोगका कारण गाइगोरु थला परेपछि किसानले समयमा धान रोपाइँसमेत सिध्याउन सकेनन् ।

किसानको जीवनपद्धतिसँग जोडिएको विषयमा राज्य उदासीन

पहिलोपटक २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकामा गाईमा देखापरेको लम्पी स्किन रोगको संक्रमण मुलुकभरि फैलिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पाँच महिनाको अवधि संक्रमित पशु संख्या १३ लाख ५ हजार ३ सय ६१ पुगेको छ ।

अझै पनि १ लाख ७५ हजार ५ सय ५३ रहेको छ । किसानको जीवनपद्धतिसँग गाँसिएका पशु बिरामी हुँदा पनि राज्य भने गम्भीर हुन सकेको छैन भने राज्य संयन्त्र पनि पशु मरेको त हो नि भनेर उदासीन हुने गरेको आरोप किसानकोे छ ।

यद्यपि, अहिलेसम्म उपचारपश्चात् निको भएको पशुको संख्या भने १० लाख ८२ हजार १ सय ५९ पुगेको छ ।

हाल सक्रिय संक्रमणबाट ४७ हजार ६ सय ४९ पशुको मृत्यु भइसकेकोे छ । ती पशुको मृत्युबाट किसानको करोडौं नोक्सानी भएको छ । एउटा पशुको मूल्य नै ५० हजारभन्दा बढी पर्ने र अन्य कृषि उत्पादनसँग जोडिने भएकाले किसान मर्माहत भएका छन् । अधिकांश कृषकको पशु बिमा नभएका कारणले पनि पीडा भएको हो ।

कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार हालसम्म आयात भएको खोपको मात्रा १३ लाख ६९ हजार डोज पुगेको छ । हालसम्ममा ६ लाख ८६ हजार ४ सय ५० पशुमा मात्र खोप लगाइसकिएको छ ।

गाई, भैंसी, गोरु, राँगो, बाच्छाबाच्छी, पाडापाडीलगायमा लाग्ने यो रोग मनाङ र मुस्ताङमा भने खासै असर नगरेका कारण सो क्षेत्रमा नियन्त्रणमा आइसकेको छ ।

यस रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोसी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशु बढी प्रभावित भएकोमा पछिल्लो जानकारीअनुसार यो रोग पहाडी जिल्लामा क्रमशः घट्दो क्रममा रहेको र मधेस तथा बाग्मती प्रदेशका केही जिल्ला तराईका जिल्लामा यो रोगको संक्रमण देखापरिरहेको छ ।

राष्ट्रव्यापी रूपमा बृहत खोप कार्यक्रम सञ्चालन गर्न लम्पी स्किन रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउन छिमेकी राष्ट्र भारत र चीनसँग समन्वय गरिरहेको मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ पशु चिकित्सकडा तपेन्द्रप्रसाद बोहराले बताए ।

यस क्रममा कृषिमन्त्रीले भारतमा गरेको भ्रमणका क्रममा भारतीय समकक्षी तथा अन्य सरोकारवाला निकायसँग भएको समन्वयमा लम्पी स्किन रोगविरुद्धको खोप र स्वदेशमै लम्पी स्किन रोगविरुद्धको खोप उत्पादन गर्न आवश्यक मास्टर सिड निःशुल्क उपलब्ध गराउन समन्वय भएको जानकारी पनि उनले दिए ।

भारतीय पक्षबाट माग गरेअनुसार खोप उत्पादन तथा तत्काल प्रयोगका लागि खोपको उपलब्ध गराउन अवधारणापत्र परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारमा पेस गरिएको पनि उनले बताए ।

लम्पी स्किन रोगको हालको प्रकोप नियन्त्रणका लागि छिमेकी मुलुकमा रोग नियन्त्रणका लागि प्रयोग गरिएको र विश्व पशु स्वास्थ्य संगठनले प्रकोप नियन्त्रणका लागि वैकल्पिक उपायका रूपमा सिफारिस गरेको गोट पक्स खोपसमेत प्रयोग गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट सहमति प्रदान गरिएको बताइएको छ । लम्पी स्किन (निथ्लिङ स्ट्रेन) खोपको अतिरिक्त गोट पक्स खोप आयात र प्रयोग गर्न सकिने पनि वरिष्ठ पशु चिकित्सकडा तपेन्द्रप्रसाद बोहराले बताए ।

देशमा देखापरेको लम्पी स्किन रोगको प्रकोप रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा गत साउन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल, सम्बद्ध सचिव तथा पदाधिकारीको बैठकबाट विगतमा छिमेकी मुलुकमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न अवलम्बन गरिएका अनुभवसमेतलाई आत्मसात् गर्दै लम्पी स्किन रोगलगायतका अन्य सीमाविहीन पशुपन्छीका रोगको नियन्त्रण गर्न सतर्कता अपनाई पूर्वतयारीसहितको प्रतिकार्य योजना कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

विश्व पशु स्वास्थ्य संगठनले लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणका लागि सिफारिस गरेका तथा छिमेकी मुलुकमा समेत प्रयोग गरिएका खोप प्रकोप नियन्त्रणका लागि प्रयोगमा ल्याउने, लम्पी स्किन रोगको दीर्घकालीन नियन्त्रण गर्न स्वदेशमै खोप उत्पादन गर्न आवश्यक तयारी गर्ने तथा रोगबाट प्रभावित कृषकलाई राहत सुविधा उपलब्ध गराउने निर्णय भएको पनि मन्त्रालयले जनाएको छ ।

लम्पी स्किनलाई नियन्त्रण गर्न सबै प्रकारका लामखुट्टे, भुसुना, झिंगा, डास, किर्नालगायतका टोक्ने किराले यो रोग सार्ने हुँदा गोठ सफा राख्नुपर्नेहुन्छ । गोठ वरिपरिका पानीका खाल्टाखुल्टी पुर्न र गोठ निःसंक्रमण गर्नुपर्ने पनि विज्ञको भनाइ छ ।

संक्रमित पशुलाई बथानबाट छुट्याई राख्ने, रोगी पशुको ओसारपसार बन्द गर्ने, बिरामी पशुको स्याहारसुसारमा विषेश ध्यान दिने पनि यो रोग नियन्त्रणका अस्थायी उपाय हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मजदुरका कुरा : दिनभर गिटी नकुटे भात पाक्दैन, उम्मेदवारका कुरा सुन्ने फुर्सद कहाँ पाउनु ?