दसैंमा देश छोड्ने आशीर्वाद !

हिन्दुहरूको महान् चाड बडादसैं भर्खरै समापन भएको छ । दसैंलाई सद्भावको चाड भनेर पनि चिनिन्छ । मान्यजनबाट दसैंको टीका लगाउन र आशीर्वाद प्राप्त गर्न देशविदेशबाट नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू आआफ्नो जन्मथलो फर्किने गर्छन् । यसबेला अग्रजले दिने आशीर्वादले नेपाली संस्कारमा निकै महŒव राख्ने गरेको छ । एकातिर मान्यजनले दिएको आशीर्वाद पुग्ने विश्वास गरिन्छ भने अर्कोतर्फ आशीर्वाद प्राप्त गर्ने व्यक्तिमा आत्मविश्वास समेत बढाउने गरेको पाइन्छ । विगतका वर्षमा जस्तै यो वर्ष पनि मान्यजन दसैंको टीकासँगै आशीर्वाद दिने क्रम चलिरह्यो तर अहिले भने आशीर्वचनमा केही फरक स्वादको अनुभव प्राप्त गर्ने मौका मिल्यो । मान्यजनले दिएका अधिकांश आशीर्वादमा देशको वर्तमान अवस्थालाई जोडेर देश नै छोड्दा राम्रो हुने प्रकारका नयाँ आशीर्वचनको प्रयोग धेरै गरेको पाइयो ।

केही समय अघिसम्म नेपालका अधिकांश ठाउँमा दसैंका बेला टीका लगाउँदा दिइने आशीर्वाद लगभग एकै प्रकारका हुने गथ्र्याे । सन्तानले डाँडाकाँडा ढाकून्, छिट्टै जागिर खाएर पैसा कमाउनु, सरकारी जागिर खानु, मास्टर भएस्, ज्ञानी भए, ठुलो मान्छे भए आदि आशीर्वचनहरू प्रचलित थिए । वर्तमान समयमा भने यस्ता वचनहरू बिरलै सुन्न पाइन्छ । अहिले धेरैजसो मान्यजनले दसैंको टीका निधारमा लगाइदिँदै फलाक्ने आशीर्वादमा मुख्यतः चाँडै भिसा लागोस्, छिट्टै विदेश गए, धेरै पैसा कमाए, हामीलाई पनि उतै बोलाए जस्ता आशीर्वचनहरू प्रयोग गरेका भेटिन्छन् । यी आशीर्वचनहरू सुन्दा युवाहरूमा छुट्टै प्रकारको खुसी तथा हर्सौल्लास समेत देखिन्छ । उनीहरूमा आत्मबल बढेको जस्तो आभास देखिन्छ । उता अभिभावकसमेत आफ्ना सन्ततिको मुहारमा देखिएको आशाका किरणबाट सन्तुष्ट देखिएको पाइन्छ । यसबाट के अनुमान लगाउन सकिन्छ भने देशमा युवावर्ग मात्र नभई पाका र उमेर पुगेका मानिसहरू समेत मुलुकभित्र भविष्य सुनिश्चित नरहेको अनुमान लगाउन थालेका छन् । मौका मिलेको खण्डमा जुनसुकै उमेर समूहमा व्यक्तिहरू मुलुक छोड्न चाहेको देखिन्छ ।

‘चाँडै भिसा लागोस्, छिट्टै विदेश गए, धेरै पैसा कमाए, हामीलाई पनि उतै बोलाए’

दसैंका बेला मुलुकका सबैजसो घरपरिवारमा पारिवारिक जमघट हुनेगर्छ । यो जमघटमा चर्चा हुने गरेको मुख्य विषय विदेश जाने नै हुने गरेको छ । कसको भाइबहिनी, कसको छोराछोरी कुन देशमा छन्, उनीहरूले कति कमाए, के के पठाए, अब को जादै छ जस्ता विषयहरूमा ठुलो बहस चलेको देखिन्छ । धनी होस् या गरिब, शिक्षित होस् या अशिक्षित, सहरिया होस् या गाउँले सबै वर्ग तथा क्षेत्रका मानिसहरू यो विषयवस्तुबाट अछुतो छैनन् । कोही विदेश पढ्न जाने योजनामा छन्, कोही कामको खोजीमा देश छाड्ने तयारीमा छन्, कोही स्थायी बसोबासकै लागि विदेश पलायन हुने चर्चा गरिरहेका हुन्छन् । जोकोही पनि कुनै न कुनै रूपले अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने बाटो खोजिरहेका भेटिएका छन् । उनीहरूको योजनामा अभिभावकको समेत सतप्रतिशत समर्थन देखिएको छ । दसैं मेलमिलापको चाड भए पनि दसैंको टीकासँगै उनीहरूकै इच्छा अनुरूप अभिभावकले आफूसँग छुट्टिने आशीर्वाद दिने गरेको पाइएको छ ।

विदेश जाने लहरले गर्दा देश युवाविहीन हुने त होइन भन्ने चर्चा चल्न थालेको छ । विशेषगरी, मुलुकका अधिकांश ग्रामीण क्षेत्रका मानिसको बस्ती पातलिँदै गएको अवस्था छ । वृद्धवृद्धा र महिलाको वर्चश्व रहेकाले सक्रिय श्रमशक्तिको अभाव देखिएको छ । यसैकारण धेरैजसो खेतीयोग्य भूमि बाँझो नै देखिन्छन् । कुनै अप्ठ्यारो समयमा अथवा मर्दापर्दा समेत सहयोगका लागि पर्याप्त युवाहरू गाउँमा छैनन् । जिउँदाका जन्ती तथा मर्दाका मलामीहरू समेत नराखेर साँझ–बिहान हातमुख जोर्नकै लागि अभिभावकले आफ्ना सन्तानलाई विदेश पठाउन खोजिरहेका देखिन्छन् । यस्तो अवस्थामा सरकारले युवालाई स्वदेशमै रोक्ने योजना बनाएको भन्नु हास्यास्पद जस्तो देखिन्छ । वर्तमान समयमा युवाले विदेशबाहेक अरू विकल्प देखेका छैनन् । अभिभावक युवाको रोजाइमा पूर्णसहमत देखिन्छन् । यस्तो अवस्थामा सरकार एक्लैले रोक्छु भन्दैमा कुनै ठोस योजनाबिना युवाहरू स्वदेशमै रोकिने सम्भावना देखिँदैन ।

मुलुकमा वार्षिक करिब ५ लाख युवाहरू कामको खोजीमा श्रमबजारमा प्रवेश गर्ने गर्छन् । देशभित्र पर्याप्त मात्रामा रोजगारीका अवसर सिर्जना हुन नसक्दा युवाहरू बिदेसिनुबाहेक अरू उपाय छैन । यसैकारण युवाहरू बिदेसिनु प्रमुख कारण मुलुकभित्र व्याप्त बेरोजगारीको समस्यालाई लिन सकिन्छ । अहिले दैनिक करिब २५ सयभन्दा बढी युवाहरू विदेश पलायन हुने गरेका छन् । मुलुकको आन्तरिक श्रमबजारमा एकातिर रोजगारीका अवसरहरू अपर्याप्त छ भने अर्कोतर्फ भएका रोजगारीका अवसरमा समेत श्रमिकको आर्थिक तथा सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा उनीहरूलाई आकर्षित गर्न सकेको छैन । यसकोविपरीत नेपालीहरूको श्रम गन्तव्य बनेका खाडी मुलुकका साथै अन्य युरोप, अमेरिका जस्ता मुलुकमा समेत श्रमको उचित सम्मान हुने भएकाले युवाहरू विदेशतिर आकर्षित भएको देखिन्छ । यसैकारण मुलुकभित्र रोजगारीका अवसरका साथै श्रमिकको सुरक्षाको प्रत्याभूति नहुँदासम्म युवाहरू बिदेसिने क्रम रोकिने सम्भावना देखिँदैन ।

युवाहरू बिदेसिने अर्को प्रमुख कारक तत्वका रूपमा परिवर्तित सामाजिक संरचनालाई पनि लिन सकिन्छ । अहिले मुलुकको सामाजिक एवं पारिवारिक संरचनामा आएको परिवर्तनले एउटा निश्चित उमेरपछि व्यक्तिमा आत्मनिर्भर बन्नुपर्ने बाध्यता हुँदै गएको छ । जनसंख्याको ठुलो हिस्सा ग्रामीण क्षेत्रबाट सहरतिर बसाइसराइ हुनु, संयुक्त परिवारबाट एकल परिवारमा परिणत हुनु, बढ्दो मुद्रास्फिति, सूचना प्रविधिको विकास आदिले व्यक्तिका इच्छा, आकांक्षा र आवश्यकतामा पनि वृद्धि हुँदै गएको छ । यी आवश्यकताको परिपूर्तिका लागि परिवारभित्रका आयआर्जन गर्न सक्ने हरेक सदस्य जिम्मेवार हुनुपर्ने जरुरी हुँदै गएको छ । यसका लागि स्वदेशमा रोजगारीका अवसर प्राप्त गर्न नसक्दा अधिकांश युवाहरू देश छाड्न हतार देखिन्छन् । अर्कोतर्फ, सामाजिक परिवेश कस्तो बनेको छ भने कुनै परिवारको सदस्यले देश छाड्ने विषयलाई आफ्नो प्रतिष्ठासँग जोड्न थालिएको छ । जुन परिवारका धेरै सदस्य बिदेसिएका छन् त्यो परिवार सफल परिवारका रूपमा चित्रण हुन थालेको छ । यसले गर्दा पनि अन्य परिवारलाई आफ्ना सदस्य विदेश पठाउन उत्प्रेरित गरिरहेको देखिन्छ ।

सिंगो तन्नेरी पुस्ता विदेश हिड्न तम्तयार हुँदा मुलुक उन्नतिको सम्भावना भने थप खुम्चिँदो क्रममा छ

कुनै पनि मुलुकका नागरिकले आफ्नो वर्तमान सँगसँगै भविष्य पनि सुनिश्चित भएको हेर्न चाहनुलाई स्वाभाविक मान्न सकिन्छ । उनीहरू आफू र आफ्ना सन्ततिको भविष्यप्रति चिन्तित हुन्छन् । सुनिश्चित भविष्यको निर्धारण मुलुकको नेतृत्व पंक्तिमा रहेका व्यक्तिको क्षमता तथा दूरदर्शीतामा निर्भर गर्छ । असल र क्षमतावान् नेतृत्वले मात्र सुनिश्चित भविष्यको आशा जगाउन सक्छ । यदि देशको नेतृत्व नै असक्षम, भ्रष्ट, स्वार्थी, दुराचारी तथा लालचीको हातमा परेको छ भने उनीहरूबाट कुनै पनि आशाको गुञ्जायस रहँदैन । यस्तै परिस्थिति अहिले हाम्रो मुलुकमा रहेको छ । मुलुकको नेतृत्व पंक्तिमा देखिएको असक्षमता र अनुशासनहिनताले गर्दा राजनैतिक, आर्थिक, न्यायिक, सामाजिक तथा शैक्षिक क्षेत्रलगायतमा बेथिति मौलाएको छ । यसले मुलुकको आर्थिक संवृद्धिको बाटोमा मात्र अवरोध पु-याएको छैन, यहाँका नागरिकमा समेत मुलुकप्रति नै वितृष्णा फैलाएको छ ।

मुलुकमा आफ्नो भविष्यसँग आश्वस्त नभएर सिंगो तन्नेरी पुस्ता नै विदेश हिंड्न तम्तयार हुँदा मुलुकको उन्नतिको सम्भावना भने थप खुम्चिँदो क्रममा छ भन्दा फरक पर्दैन । यसैकारण जबसम्म स्वार्थी र दिशाहीन राजनैतिक नेतृत्वले मुलुकका प्रमुख निकायमा प्रभाव जमाई राख्नेछन् तबसम्म मुलुकबाट युवा पलायनलाई रोक्न सकिँदैन । बेथितिलाई जरैदेखि निर्मुल नपारेसम्म मुलुकमा शान्ति र संवृद्धिको आशा गर्न सकिँदैन । यसका लागि मुलुकको शासनसत्ताको बागडोर असक्षम, भ्रष्ट, स्वार्थी, दुराचारी तथा लालची नेतृत्वको हातबाट खोस्नुपर्ने समय आएको छ । देशका जागरुक युवाहरू एकजुट हुनुपर्ने समय आएको छ । विद्यमान राजनीतिक नेतृत्वले विभिन्न क्षेत्रमा स्थापना गरेका बेथितिका खम्बालाई ढाल्नुपर्ने देखिएको छ । मुलुकमा बस्ने अवस्थाको सिर्जना युवावर्गले नै गर्नुपर्ने देखिन्छ । मुलुक नै छोडेर हिड्दैमा समस्याको समाधान हुने देखिँदैन । यसले समस्यालाई अझै बढवा मात्र दिन्छ । मुलुकभित्रै बसेर असक्षम नेतृत्वलाई प्रक्रियागत रूपमा पाखा लगाएर सक्षम र दूरदर्शी युवाले देश हाकेमा मात्र बेथितिको अन्त्य हुने सम्भावना देखिन्छ । जसरी असत्यमाथि सत्यको विजय भएको अवसरमा विजया दशमी पर्व मनाउने परम्परा छ, त्यसैगरी भ्रष्ट, स्वार्थी तथा लालची नेतृत्वलाई परास्त गरी मुलुकमा सुख, शान्ति र संवृद्धिको ढोका खोल्नुपर्ने समय आएको छ । यसपछि मात्र युवावर्गका साथै पाका उमेरका अभिभावकले समेत आफ्ना सन्ततिको भविष्य आफ्नै मुलुकमा सुनिश्चित भएको महसुस गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगरमा रेनु दाहाल सात हजार मतले अगाडी