स्वप्निल उडान

स्वप्निल उडान भर्न चाहनेहरूका लागि सम्भावना सायद असीमित हुन्छन् । त्यसैले त सगरमाथाको चुचुरो, समुद्रको गहिराइ, चन्द्रमाको दूरी, ग्रेटवालको लम्बाइ, प्रशान्तको छाल स्वप्निल उडान भर्नेहरूका अघि पुड्को साबित भएका होलान् । तपाईं हामीले प्रारम्भमा यस्तै मूर्खताको पर्याय मानेका कैयन व्यक्ति र परियोजनाको परिणाम देखेपछि धेरैचोटि जिब्रो काटेका छौं होला ।

स्वप्निल मनका लागि भूगोलले कुनै अर्थ राख्दैन । ब्रम्हाण्ड नै उसको खेल्ने खेल मैदान बनिदिन्छ । बैंकर्स भएको नाताले एकांकी बन्दै गरेको हृदयलाई उद्धेलित पार्ने खालका परियोजना कहिलेकाहीँ सम्मुखमा आइदिन्छन् । लगानी, बजार, ज्ञान र भविष्यका हिसाबमा जोखिमले भरिपूर्ण तैपनि कहिलेकसो आँखा चिम्लिदिन मन लाग्छ । स्वप्निल उडान भर्न चाहनेहरूको सपना सँगसँगै उड्न कम्ता आनन्द आउँदैन । अपत्यारिलो, अजिब र उदेकलाग्दा उडान स्वप्निल र साहसिक मनले मात्रै भर्न खोज्छन् । यिनका सपनाका उडान, गाँजा र भाङको नसामा लठ्ठिएका गजेडीका गफजस्तै नसालु लाग्छन् । यस्तै स्वप्निल मनका धनीमध्येका एक हुन् राजु कार्की र उनले उडान भरेको स्वप्निल परियोजना हो–‘द क्लिफ नेपाल’ ।

सिन्धुपाल्चोकका राजु आफ्नै गाउँठाउँको पाखापखेरा, भीरका थाप्ला र एकोहोरो सुसाइरहने भोटेकोशीको सम्मोहनलाई चटक्कै छोडेर पश्चिम हानिएका थिए । घुमन्ते उनको बानीले उनलाई नयाँ ठाउँ र साहसिक पर्यटनका लागि नयाँ सम्भावना चाहार्न निकै प्रेरणा दिन्थ्यो । स्थापित पर्यटकीय ठाउँभन्दा केही दूर, केही अपरिचित, केही अविश्वसनीय परियोजना स्थलको खोजीमा थिए । उनको सोच नै भिन्न थियो, त्यसैले त उनी बेवारिसे भीर र गहिरो खोंचको परिक्रमा लगाउँदै पर्वतको कुश्मा र बागलुङको बिचमा कालीगण्डकीले छुट्याएको तारे भीरमा गएर थामिए । उनको त्यो यात्रा गन्तव्यसम्म पुग्न त्यसै ठाउँका नेत्र पराजुली र युवराज जोशी सहयात्री बन्न तयार भएपछि यात्रा झनै सहज र सरल बन्यो ।

स्वप्निल मनका लागि भूगोलले कुनै अर्थ राख्दैन । ब्रम्हान्ड नै उसको खेल्ने चौर बनिदिन्छ । ‘द क्लिफ’ समूहले नेपालका अन्य सम्भावित ठाउँमा पनि केही नयाँ नौला योजना लिएर अघि बढिरहेको छ भने मित्र राष्ट्रमा पनि विशेषज्ञ सेवा उपलब्ध गराउने सम्झौता गरी काम सुरु गरिसकेको छ

प्रेमील पोखराबाट ६० किलोमिटर पर र पवित्र तीर्थस्थल मुक्तिनाथ, बागलुङ कालिका, गलेश्वरधाम, देशकै एक मात्र सिकार आरक्ष ढोरपाटन, विश्वकै गहिरो अन्धगल्छी, घोरेपानी (पुनहिल), विश्वमै शालिग्राम पाइने एक मात्र नदी कालीगण्डकी र चौबिसे राजा र राज्यमध्येका गलकोटे, पर्वते र मुस्ताङे राजा र राज्यहरूको इतिहासलगायतका विश्व चर्चित धरोहरबीच मसक्क मस्किएर मुस्कराइरहेकी परीझैं लाग्छ, ‘द क्लिफ नेपाल’ । साहसिक खेलको पर्याय बनिसकेको ‘द क्लिफ नेपाल’ स्वदेशी र विदेशी युवायुवती र पर्यटकको पहिलो रोजाइमा पर्न थालिसकेको छ । कोभिड–१९ ले विश्व नै विक्षिप्त हुँदा यो परियोजना पनि थलिसकेको थियो । तर, एउटा झिनो आशा र क्षितिजपारीको न्यानो घामलाई धैर्यतापूर्वक पर्खनको विकल्प उनीहरूसँग थिएन ।

सन् २०१३ को राजु कार्कीको ब्रेन चाइल्ड हो ‘द क्लिफ नेपाल’ । स्वदेशी र विदेशी परियोजनाको अध्ययन, विशेषज्ञसँगको शृंखलाबद्ध छलफल, भूगोल र भौगर्भिक बनावट, नाप नक्सा, अनुमानित खर्चलगायत अन्य विविध समस्या र तगारोलाई छिचोल्दै गर्दा सन् २०२० देखि रिसोर्ट र दर्जन बढी साहसिक खेलसहित परियोजना सञ्चालनमा आयो । पवित्र कालीगण्डकी नदीमाथि दुई जिल्ला बागलुङ र पर्वत जोड्ने गरी ५ सय २० मिटर लामो बिहंगम फलामे झोलंगे पुल निर्मित छ ।

पुलको बनोटमा आधुनिक कारिगरीको ज्वलन्त नमुना देख्न पाइन्छ । पुलको बिचतिर विश्वकै दोस्रो अग्लो २२८ मिटरको बन्जी र विश्वकै अग्लो स्विङ गर्नका लागि गोलाकार गुम्बज बनाइएको छ । पुल तरेर पारी बागलुङतर्फ गएपछि बाँकी खेल र मनमोहक रिसोर्टको आँगनीमा पुगिन्छ । जहाँ विश्वकै अग्लो र लामो स्काइ साइक्लिड, स्काइ क्याफे, स्काइ ग्लाइडिङ, शुभ हात, स्काइ चेयर, क्रेजी ब्रिज, जाएन्ट पिङ, फेमिली पिङ, घोडचढीलगायतको मज्जा लिन सकिन्छ । तर, यी सबै खेल खेल्न मन चाहिँ दह्रो हुनु भने पर्छ है ।

‘द क्लिफ नेपाल’को सञ्चालनसँगै प्रविधि भित्रिएको छ । रोजगारी बढेको छ । स्थानीय उत्पादनले बजार पाएका छन् । धेरैको घरमा खुसीले बास गरेको छ र यसका प्रर्वद्धकले मात्र होइन, दुई जिल्लाका धेरै युवा र नवउद्यमीले पनि सपना देख्न थालेका छन् र स्वप्निल बन्न पे्ररित गरिरहेको छ । ‘द क्लिफ’ समूहले नेपालका अन्य सम्भावित ठाउँमा पनि केही नयाँ नौला योजना लिएर अघि बढिरहेको छ भने मित्र राष्ट्रमा पनि विशेषज्ञ सेवा उपलव्ध गराउने सम्झौता गरी काम सुरु गरिसकेको छ ।

मैले माथि भनेजस्तै स्वप्निल मनका लागि भूगोलले कुनै अर्थ राख्दैन । ब्रम्हाण्ड नै उसको खेल्ने चौर बनिदिन्छ । यही लेखोटलाई यिनले यथार्थता दिँदै पनि छन् । स्वप्निल उडान भरिरहेका स्वप्निल मनहरूले उचाइलाई निरन्तर कायम राख्दै नयाँनयाँ सपना बाँडिरहन्छन् कि आफ्नै बाध्यता विवशताको परिबन्दमा बाँधिन्छन् ? समयलाई नै यसको निर्णायक बन्न दिऔं ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मजदुरका कुरा : दिनभर गिटी नकुटे भात पाक्दैन, उम्मेदवारका कुरा सुन्ने फुर्सद कहाँ पाउनु ?