काठमाडौं । तीन वटा चलचित्रमा अनुबन्धित भएका बसेका अभिनेता विपिन कार्कीले यतिबेला नयाँ चलचित्र कर्मालाई समय दिएका छन् । आफ्नो नयाँ चलचित्र ‘तेल भिसा’को प्रचारमा जुटेका यी अभिनेताले अर्को साताबाट कर्माको काम सुरु गर्ने बताएका छन् । ७ मँसिरमा उनको नयाँ चलचित्र तेल भिसा नेपालमा रिलिज हुँदैछ ।
त्यसपछि केही दिन अभिनय कार्यशालामा बसेर २० मँसिरबाट आफु कर्माको छायाँकनमा जाने पनि विपिनले बताएका छन् । चलचित्र कर्मामा विपिनसँगै अर्का अभिनेता मुकुन भुसाल र अभिनेत्री उपासना सिंह ठकुरी पनि जोडिएकी छिन् । चलचित्र कर्मा एक्सन प्रधान भएकाले यसको लागि विपिन अहिले एक्सनको अभ्यासमा छन् । उनीसँगै पनि मुकुन पनि एक्सन अवतारमै यो चलचित्रमा देखिने भएका छन् ।
यो चलचित्रलाई गत वर्ष प्रदर्शित चलचित्र ‘अगस्त्य’का निर्देशक सौरभ चौधरीले निर्देशन गर्दैछन् । चलचित्रलाई दशैंपछि छायाँकन गर्ने भनिए पनि कलाकारको व्यस्ताको कारण २० मँसिरबाट छायाँकन सुरु गर्न लागेको सौरभले राजधानीलाई बताएका छन् । चलचित्रलाई दाङ, रुकुम आसपास छायाँकन गर्ने र आगामी २९ चैतबाट नयाँ वर्षको अबसरमा नेपालमा रिलिज गर्ने पनि उनले बताएका छन् ।
चलचित्रको शिर्ष कलाकार चयन गरिसकिएको पनि सौरभले बताएका छन् । यो चलचित्रमा विपिन र मुकुनलाई यसपटक दर्शकले विगतको चलचित्र भन्दा भिन्न चरित्रमा देख्न पाउने पनि यी निर्देशकको दाबी छ । अभिनेता मुकुन भुसाल यसमा नकारात्मक भूमिकाको लागि अनुबन्धित भएको पनि सौरभले खुलाएका छन् । मुकुनको अहिले नयाँ चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा उच्च सफलता हाँसिल गरिरहेको छ ।