स्याङ्जा । फागुन १५ गते रेविज लक्षण देखिएका जनावर किनबेच गरेको आरोपमा पक्राउ परेका दुईजनालाई जिल्ला अदालत स्याङ्जाले पुर्पक्षका लागि जेल पठाइदिएको छ । वालिङ ५ का ५५ बर्षिय राजेन्द्र केसी र वालिङ ८ बस्ने शंसुदिन मियालाई जिल्ला अदालत स्याङ्जाले संक्रामक रोग फैलाउने कार्यमा संलग्न रहेको ठहर गर्दै पुर्पक्षका लागि जिल्ला कारागार स्याङ्जा पठाएको हो । रोगी पशु किनबेचमा ४ जना संलग्न भएपनि २ जना मात्रै पक्राउ परेका थिए भने दुईजना अझै फरार रहेका छन् ।
जिल्ला अदालत स्याङ्जाका न्यायधिस सरीता रायमाझीको इजलासले प्रतिवादीको थुनछेक बयानका आधारमा दुईजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अनुसार जेल चलान गरिएको श्रेस्तेदार भुमिप्रसाद शर्माले जानकारी दिए । केसी र मिया चैत्र ११ गते जिल्ला कारागार पुर्पक्षका लागि जेल चलान भएको शर्माले बताए । उक्त कार्यमा संलग्न रहेका भीरकोट १ का नजबुन हसन मिया र भीरकोट २ का प्रेमबहादुर सार्की फरार रहेका छन् । सार्की सवारी चालक हुन भने मिया भैसी किन्ने व्यपारी रहेको बताइएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका ५ राजेन्द्र बहादुर केसीको भैसीमा रेविज संक्रमण देखिएको थियो । केसीले आफ्नै घरमा पालेका संक्रामक रोग रेविजको लक्षण देखिएका जनावरहरु भैसी, भैसीको पाडा, बाख्रा र बाख्राको पाठी एक एक वटा गरी जम्मा ४ वटा घरपालुवा जनावर वालिङ नगरपालिका ८ बस्ने ५० वर्षीय शंसुदिन मियाँलाई बिक्री गरेका थिए । रेविज रोग लागेका पशुहरु वालिङ नगरपालिकाले निगरानीमा राखेको थियो । नगरपालिकाले निगरानीमा राखेकै बेला केसीले शंसुदिन मियालाई बिक्रि गरेका थिए । मियाले रोग लागेका जनावरहरु खरिद गरी ग २ च २७६० नम्बरको सवारी साधनमा राखेर वालिङ बजार हुँदै भीरकोट नगरपालिका बयरघारी तर्फ लैजादै गरेको अवस्थामा वालिङ नगरपालिका १ बाट प्रहरीको टोलीले फेला पारेको थियो ।
मृतक भैसीको वालिङ नगरपालिकाबाट पशु प्राविधिक टोलीबाट किटद्धार परीक्षण गर्दा संक्रामक रोग रेविजको लक्षण पुष्टि भएको थियो । दुवै जनालाई सङ्क्रामक रोग फैलाउन नहुने कसूरमा प्रहरीले मुद्धा चलाएको थियो । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ मा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको उपदफा १०४ संक्रामक रोग फैलाउन नहुने कानुन अनुसार पक्राउ परेका थिए । उक्त दफामा कसुर गर्ने वा गराउने व्याक्तिलाई दश बर्ष कैद र १ लाख जरिवाना, लापरवाही पुर्वक गरेको भएमा ५ बर्ष कैद र ५० हजार जरिवाना तथा हेलचक्राई गरेको भएमा तीनबर्ष कैद र तीसहजार जरिवानाको व्यवस्था छ ।
सम्बन्धित समाचार










