देउवासँग ओलीको गुनासो : तपाईं मौन किन ?

काठमाडौं । सरकार परिवर्तनको चर्चाका बीच सत्तारूढ प्रमुख दुई दलका शीर्ष नेताका बीचमा गम्भीर छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचमा छलफल भएको हो ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा भएको छलफलमा देउवाले गठबन्धन तलमाथि नहुने भन्दै प्रधानमन्त्री ओलीलाई ढुक्क हुन विश्वस्त पारे । पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आयु लामो नभएको भन्दै आएका छन् । साथै, प्रचण्डले देउवासँग मिलेर कांग्रेस–एमाले गठबन्धनको विकल्पसमेत खोजेका छन् । देउवासँग प्रचण्डले सरकारको नेतृत्व गर्न प्रस्तावसमेत गरेका बताइन्छ । प्रचण्डले सरकार परिवर्तनको टिप्पणी सार्वजनिक रूपमै गर्दा उता कांग्रेसकै शीर्ष नेताले सरकारको सार्वजनिक रूपमै आलोचना गर्न थालेपछि ओली सशंकित भएका हुन् ।

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, नेताहरू डा. शेखर कोइराला, एनपी साउदसहितका नेताहरूले सरकारको गति र शैलीमाथि प्रश्न उठाउँदै तिखो रूपमा आलोचना गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले सरकारको आयु लामो नभएको भन्नु र सत्तारूढ दलकै नेताले सरकारको आलोचना गर्न थालेपछि ओलीले देउवासँग गुनासो पोख्दै यस’boutमा बोल्नुपर्ने बताएको बालुवाटार स्रोतले जनाएको छ ।

मंगलबार बिहान ११ बजेदेखि सुरु भएको ओली–देउवा छलफल करिब १ घण्टा चलेको थियो । समसामयिक राजनीतिकदेखि शिक्षक आन्दोलन, गभर्नर नियुक्तिलगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले दुई नेताको भेटघाट नियमित भेटघाट भएको जनाएको छ ।

प्रचण्डको अभिव्यक्तिको सभापति देउवाले खण्डन गर्नुपर्ने र पार्टीभित्रैका नेताहरूले सरकारविरुद्ध दिइरहेको अभिव्यक्तिका ’boutमा समेत पार्टीभित्र छलफल गर्नुपर्ने ओलीले देउवासँग गुनासो पोखेका थिए । ‘सभापतिज्यू बोल्नुहुन्न्, प्रचण्डको अभिव्यक्ति त्यस्तै आइरहेको छ, कांग्रेसकै नेताहरूले सरकारको आलोचना गर्दै हिँड्नु ठीक भएन, यस’boutमा तपाईं पार्टीभित्र छलफल गर्नूस्, मैले पनि हिजो (सोमबार) सचिवालय बैठकमा छलफल गरे, नेताहरूले तपाईं (देउवा)सँग छलफल गर्न भन्नुभयो,’ देउवासँग ओलीले भनेका छन् ।

सत्तारूढदेखि विपक्षीले सरकारमाथि प्रश्न उठाउने, हमला गर्ने गरेको भन्दै देउवासँग गुनासो पोखेका ओलीले यसलाई मिलाएर अघि बढ्ने ’boutमा के–के गर्नुपर्ने छलफल गर्दै अगाडि बढ्नुपर्ने बताए । सरकारले काम गर्न नसकेको कुरामा सल्लाह गर्दै अगाडि बढ्नुपर्ला भन्दै ओलीले देउवा आफैं केही नबोल्दा विपक्षीले खेल्ने मौका पाएको गुनासोसमेत गरेका छन् ।

ओलीको गुनासो सुनेका देउवाले गठबन्धन तलमाथि नहुने भन्दै उनलाई ढुक्क हुन आश्वासन दिए । कांग्रेसभित्र आन्तरिक लोकतन्त्रको प्रयोग गर्दै प्रश्न उठाउने गरिएको भए पनि त्यसमा शंका नगर्न देउवाले ओलीसँग आग्रह गरे । यस्तै, गभर्नर नियुक्ति, शिक्षक आन्दोलनका ’boutमा छलफल गर्दै ओली र देउवाले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने र त्यहाँ पनि थप छलफल गर्दै अगाडि बढ्ने ’boutमा सहमति भएको स्रोतले जनाएको छ ।

दुई नेताका बीचमा भएको छलफलपश्चात अब छिट्टै नै प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने भएका छन् । यस्तै, देउवाले अगामी १७ वैशाखका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबारै बोलाइसकेका पनि छन् ।

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै ः गगन
यसैबीच, कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री ओली नेतृत्वको सरकारको तिखो आलोचना गरेका छन् । प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाका बीचमा बालुवाटारमा छलफल चल्दैगर्दा मंगलबार नै काठमाडौंमा कांग्रेस निकटको बौद्धिक पेसाकर्मीहरूको कार्यक्रममा थापाले सरकारको गति कछुवाको भन्दा पनि सुस्त रहेको टिप्पणी गरेका छन् ।
सरकारको गति कछुवाभन्दा सुस्त रहेको बताएका थापाले त्यसभन्दा एक कदम अघि बढ्दै बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै रहेको टिप्पणी गरे । यस्तै, उनले सरकारलाई राम–राम भन्ने बाहेक अर्को केही गर्न नसकिने अवस्था आएको समेत बताए ।

निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको बताउँदै थापाले अहिले अर्थतन्त्रमा समस्या बिचौलियाका कारणले आएको बताए । ‘हाम्रो इकोनोमी (अर्थतन्त्र)मा अहिले समस्या भएको भनेको बिचौलियाका कारणले हो, म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ,’ कांग्रेस महामन्त्री थापाले भने, ‘बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो, मलाई अहिलेसम्म थाहा थिएन ।’

सरकारले काम गर्न नसक्दा शिक्षक, सहकारीपीडित लगायत सडकमा आउने वातावरण बनेको थापाले आरोप लगाए । थापाले सरकारले गर्नुपर्ने कामचाहिँ नगरेको तर नगर्नुपर्ने कतिपय काम गरेको गम्भीर आरोप ओलीमाथि लगाए ।

‘कोही पनि मानिसहरू सडकमा आउनुपर्ने अवस्था आउँदैन थियो, सरकारले कतिपय निर्णयहरू गर्नुपर्ने आवश्यकता नै थिएन, चलाउँदै नचलाउनुपर्ने कर्मचारी चलाएर कतिपय ठाउँमा अनावश्यक रूपमा मानिसहरूलाई सडकमा आउनुपर्ने अवस्था बनाइदिएको छ, यस कुराले कस्तो भइदिएको छ भने हामीले रामराम भन्ने हो, गर्ने के हो त अब ?’ प्रश्न गर्दै थापाले भने ।

उनले ओली नेतृत्वको सरकार ट्याक्टरको गतिमा कुचकुचकुचकुच गरेर हिँडिरहेको टिप्पणीसमेत गरे । सरकारले गति नै पक्रिन नसकेको र मानिसहरूको अपेक्षालाई बुझ्नै नसकेको उनको दाबी छ ।

‘सुरुको चरणमा गए जोतिएर काम गरेको पनि हो, एकदम उत्साहका साथ धेरै कुरा बदल्न सकिन्छ भनेर लागेको पनि हो, विस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई कंकडको स्पिड चाहिएको छ,’ महामन्त्री थापाले भने, ‘आज एउटा, भोलि एउटा, पर्सी एउटा माहोल बनाउनुपर्नेछ, यहाँ राम्रो भएको छ भनेर माहोल बनाउनुपर्नेछ । सरकार ट्याक्टरको स्पिडमा छ ।’

प्रचण्डले फेरि भने– सरकारको आयु लामो छैन
सरकार परिवर्तन हुने बताउँदै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आयु लामो नभएको टिप्पणी पुनः गरेका छन् । पार्टी कार्यक्रममा सहभागी हुन नवलपरासी पुगेका प्रचण्डले कांग्रेस–एमालेको सहकार्य लामो नजाने र सरकारको आयुु लामो नभएको दोहो¥याएका छन् ।

ओली नेतृत्वको सरकारप्रति जनताको चरम असन्तुष्टि र गुनासो रहेको बताउँदै उनले सरकारको आयु लामो नभएको बताएका हुन् । यसअघि चैतको अन्तिम दिन चितवनमा एक टिभी अन्तर्वार्तामा प्रचण्डले सरकारको आयु लामो नभएको दाबी गरेका थिए । उनले सरकारको विषयमा कांग्रेस र एमालेभित्रै असन्तुष्टि बढेको दाबी गर्दै यस्तो जिकिर गरेका हुन् ।

उनले आफू कांग्रेस र एमालेका नेताहरूसँग निरन्तर संवादमा रहेको पनि खुलाएका छन् । प्रचण्डले अहिलेको सरकारबाट कांग्रेसका नेता तथा कार्यकर्ता स्वयं पनि असन्तुष्ट रहेको बताए । कांग्रेस मात्रै नभएर एमालेको ठूलो पंक्ति पनि सरकारबाट असन्तुष्ट भएको भन्दै माओवादी केन्द्र अध्यक्ष प्रचण्डले त्यही आधारमा आफूले यो सरकार धेरै लामो नजाने भनेर टिप्पणी गरेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 991 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

५ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित