काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ र अर्को चलचित्र ‘पिआर’को छायांकन एकसाथ सकिएको छ । यी दुवै चलचित्रको सोमबार बेलुका छायांकन सकिएको हो ।
जनै हराएको बाहुनको निर्माण टिमले सोमबार बेलुका ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा सञ्चारकर्मीको उपस्थितिमा चलचित्रको छायांकन सकिएको घोषणासहित इन्डक्ल्याप कार्यक्रम आयोजना गरेको थियो । यो चलचित्रका निर्माता विमल न्यौपानेले चलचित्रको सम्पूर्ण छायांकन ३५ दिनमा सम्पन्न भएको जानकारी सो कार्यक्रममा गराए ।
यो चलचित्रलाई हिमाल न्यौपानेले निर्देशक गरेका हुन् । आफ्नो चलचित्र पारिवारिक एवम् सामाजिक कथामा आधारित रहेको बताउँदै जनै हराएको बाहुनलाई आगामी तिजमा रिलिज गरिने हिमालले जानकारी गराए । निर्देशक न्यौपानेका अनुसार यो चलचित्रको छायांकन काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको हो । यो चलचित्रका एसोसियट निर्देशकमा मनिष राउत हुन ।
यस चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ । चलचित्रको छायांकन समापन समारोहमा अभिनेताहरू विजय बराल, गौरव पहाडी, सुशांक मैनालीले जनै हराएको बाहुनमा काम गर्दाको अनुभव सुनाए ।
इन्डक्ल्याप कार्यक्रममा बोल्दै अभिनेता विजय बरालले भने,‘यो चलचित्रमा आमा–छोराको संघर्षको कथा छ । पूर्णबहादुरको सारंगी जस्तै यसले पनि दर्शकको मन छुनेछ भन्ने विश्वास लिएको छु ।’
पेपर क्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्माता कमल न्यौपाने, विमल न्यौपाने, सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी रहेका छन् । जनै हराएको बाहुनको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रमा प्रशान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत रहेको छ ।
यस्तै निर्देशक शोभित बस्नेतको चलचित्र ‘पीआर’को छायांकन २८ दिनमा सोमबार बेलुका सकिएको छ । यो चलचित्रको निर्माण टिम छायांकन सकेर कास्कीबाट मंगलबार काठमाडौँ फर्किएको छ । निर्देशक बस्नेतले यो चलचित्रको अस्ट्रेलियामा १८ दिन र नेपालमा १० दिनको सेड्युलमा छायांकन गरिएको राजधानीलाई बताए ।
सलोन सलिना फिल्मसको व्यानरमा छायांकन भएको यस चलचित्रमा विदेशमा रहेका नेपालीहरूले पिआरको लागि गरेको संघर्ष’boutको कथा समेटिएको पनि निर्देशक बस्नेतले जानकारी गराए । आर एफ एम फ्यास्लिटी म्यानेजमेन्ट र लेन वे डम्प्लिङको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी, आर ए सुरज पौडेल, राजन कुँवर, विनीता कार्की, पूजा चौधरी, विमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, नवीन घायललगायतका कलाकारहरूको अभिनय रहेको छ ।
ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल, इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा र रञ्जित शाह यो चलचित्रको निर्माताका रूपमा रहेका छन् । चलचित्र पिआरमा मानस राज र भीम बिसीको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, शोभित बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहेको छ ।
सम्बन्धित समाचार











