जसले जगाए इलाम ‘गोल्ड कप’

इलाम । पूर्वी पहाडकै ठुलो धनराशि पुरस्कार भनिएको ’अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली फुटबल गोल्ड कप’ ले निरन्तरता पाउन सकेन । छैटौँ संस्करण सम्म निरन्तर सञ्चालनमा रहेको प्रतियोगिताले निरन्तरता पाउन सकेन । २०७६ साल फागुन २४ गते शनिवार छैटौँ संस्करणको माई भ्याली गोल्ड कप सम्पन्न भए यता प्रतियोगिता आयोजना नै हुन सकेको छैन ।

गत वर्ष माई भ्याली गोल्ड कप गर्ने भने पनि आयोजकले केही समयपछि स्थगित ग¥यो । छैटौँ संस्करण सम्म सञ्चालन भएको प्रतियोगिता ०७६ साल यता सञ्चालन हुन सकेको छैन । माई भ्यालीले प्रतियोगिता गर्न छोडेपछि राष्ट्रिय प्रतियोगिता हुन छोडेको इलाममा गत वर्षबाट इलाम गोल्ड कप सञ्चालन भयो । रेड हर्ष फुटबल क्लबले एउटा टिम बनाएर विभिन्न प्रतियोगितामा भाग लिँदै आएको थियो ।

त्यही बिचमा २०८० सालमा रेड हर्ष नेतृत्वमा आए साङ्गे एल्मु र होमिए गोल्ड कप गराउन तर्फ । उनी भन्छन् ०८० सालमा ताप्लेजुङमा भएको प्रतियोगिताको फाइनल जितेपछि खेल्ने मात्रै होइन अब जिल्लामा खेलाउनु पनि पर्छ भन्ने भयो र टिममा सल्लाह गरेर प्रतियोगिता थालनी गरियो । इलाम गोल्ड कपको थालनीमा टिमका सबै जनाको उत्तिकै महत्त्व छ भने माई भ्याली गोल्ड कप सञ्चालन गर्नुभएका दाइहरूको साथ र सल्लाह अनुसार दुई संस्करण सम्पन्न भइसकेको छ ।

‘इलाममा एउटा पुरुष र एउटा महिला अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गराउनै पर्छ, साङ्गे भन्छन्, फुटबलप्रतिको क्रेज र नयाँ खेलाडी उत्पादन र प्रोत्साहनका लागि पनि प्रतियोगिता महत्त्वपूर्ण हुँदो रहेछ ।’ इलामको माटोबाट राष्ट्रिय टोलीमा समेत खेली सकेका खेलाडी छन् त्यही भएर होला इलामको फुटबल प्रतियोगितामा दर्शकको साथ पनि उत्तिकै देखिन्छ । रेड हर्ष फुटबल क्लब धेरैले सुनेका थिएनन् । जब इलाम गोल्ड कप सुरु भयो अनि चर्चामा आउन थाल्यो रेड हर्ष ।

हिले रेड हर्ष भन्दा पनि इलाम गोल्ड कपले परिचित बनी सकेको छ । २०८१ मा पहिलो संस्करणको सुरु भएसँगै २०८२ मा दोस्रो संस्करण पनि सम्पन्न भइसकेको छ । दोस्रो संस्करण सँगै तेस्रो संस्करणको जिम्मा सेवक देवानको काँधमा पुगेको छ ।

प्रतियोगितामा प्यारा पेटको अभाव
पक्की प्यारा पेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गर्नुपर्ने समस्या रहेको साङ्गे एल्मो बताउँछन् । ‘बाँसको अस्थायी प्यारा पेट निर्माण गर्नुपर्ने बाध्यता छ’ उनी भन्छन्, सदरमुकामको खेलमैदानमा पक्की प्यारा पेट नभएपछि बाँसको अस्थायी प्यारा पेट निर्माण गर्नु आयोजकको बाध्यता बन्ने गर्दछ । जसका कारण प्रतियोगिता खर्चिलो बन्ने गर्दछ । टुँडिखेलको तीन क्षेत्रतर्फ अस्थायी प्यारा पेट निर्माण गरेर प्रतियोगिता सञ्चालन हुने गरेको छ ।

महिला फुटबलमा पनि इलाम
महिला फुटलमा पनि इलामको योगदान मूल्यवान् छ । इलामको पूर्वी भेग महिलालाई फुटबल खेल्न परिवेश अनुकूल बनेपछि त्यसको फाइदा धेरै महिलाले लिए । कति जना राष्ट्रिय स्तरका खेलाडी बने भने कतिपयले लामो समय सम्म फुटबललाई साथ दिन सकेनन् । रमा सिंहको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा इलामका जनु खड्का, सङ्गीता रावत र शोभा राई, जमुना पाण्डे समावेश थिए । उनीहरूबाट अन्य खेलाडीलाई पनि प्रेरणा मिल्यो ।

२०४० साल आसपास महिला फुटबलका लागि इलाम महिला खेलाडीको हब नै बन्यो । २०४३ सालमा राष्ट्रिय महिला फुटबल टोलीमा इलामका १२ जना खेलाडी समावेश भएका थिए । त्यही क्रमलाई पच्छ्याउँदै रञ्जना दर्जी, संरचना प्रधान, एन्जिला सुब्बा लगायतले महिला फुटबलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिसकेका छन् । जसका कारण पनि इलाम फुटबलको उर्वर भूमि मानिन्छ ।

गाउँ गाउँमा फुटबल
स्थानीय तहमा खेलमैदानको विकास भएसँगै एन्फा मान्यताप्राप्त रेफ्री ल्याएर प्रतियोगिता सञ्चालन गरिने हुँदा पनि फुटबलमा आकर्षण बढ्दो छ  । हरेक जसो वडामा इलेभेन साइडका खेल मैदान निर्माण भएका छन् भने कतिपय ठाउँमा निर्माण हुने क्रममा छन् । जिल्लामा पर्यटकीय गतिविधि बढेसँगै फुटबललाई पर्यटनसँग जोडेर हेर्ने गरिएको छ ।

स्थानीय तहहरूले पनि कार्यक्रम नै राखेर खेलकुदका गतिविधिलाई प्राथमिकता दिएपछि प्रतियोगिता आयोजना हुने क्रम बढेको हो । परम्परागत शैली छोड्दै आधुनिक फुटबल खेलाउने अभ्यास बढेकाले पनि यस्ता प्रतियोगिताप्रति आकर्षण बढेको फुटबल प्रेमी बताउँछन् ।

इलामको इतिहासमा फुटबल
फुटबलमा इलामले इतिहास बोकेको छ । सुगौली सम्धीपछि सन १८२६ मा दार्जिलिङ भारतमा गाभिएपछि इलाम र भारतको आउजाउ राम्रो सँग हुन थाल्यो । त्यही बेला ब्रिटिस सेनाको भर्ती गुम पहाडमा भयो । भारतमा काम गर्ने र सेनामा भर्ती भएका नेपाली आउँदा कोसेलीको साथमा भकुन्डो अर्थात् फुटबल लिएर आउन थाले ।

इलाममा फुटबल टिम बनाएरै खेल्ने चलन भने विक्रम सम्मत १९८० को दशकमा सुरु भएको पाइन्छ । इलामलाई फुटबल सँग परिचय दिलाएको श्रेय राज शमशेरलाई जान्छ । वि.स. १९९० मा जर्नेल महावीर शमशेर जबरा बडाहाकिम भएर इलाम पुगे । त्यसपछि फुटबलको रङ्ग बदलियो । इलामे टिमलाई बडाहाकिमको टिमले नजितेसम्म खेल जारी रहने इतिहास छ । राति भए मैदानको चारैतिर पेट्रोलमेक्स बालेर खेल्ने चलन थियो । ‘बडाहाकिमको टिमले जितेपछि तोप पडकाएर भोजको सङ्केत गरिन्थ्यो र दुवै टिमका खेलाडीलाई बडाहाकिमले दरबारमा लगेर भोज खुवाउने गरेको इलामका अग्रज युद्धप्रसाद वैध सुनाउँछन् ।

बडाहाकिमले सुरु गरेको फुटबल बिस्तारै फस्टाउँदै गयो । त्यसपछि इलाममा खेलाडी उत्पादन हुन थाल्यो । त्यसपछिको छोटो समयमा इलामले धेरै राम्रा राम्रा खेलाडी पायो । रूपकराज शर्मा नेतृत्वको विश्वकप छनौट खेलेको नेपाली राष्ट्रिय फुटबल टोलीमा इलामका धिरेन्द्र प्रधान (जो एन्फाको महासचिव समेत भए) र गणेश पाण्डे समावेश थिए ।

त्यसपछि झ्याङ्गिएको फुटबलले लोकबन्धु गुरुङ, सुवास राई जस्ता हस्ति दियो । बिस्तारै नवयुग श्रेष्ठ जस्ता भरपर्दा खेलाडी इलामले जन्मायो । अहिले छिरिङ गुरुङ, मनिष थापा र दर्शन गुरुङको पुस्ता सम्म पुग्दा इलामको फुटबल उस्तै उल्लासमय छ । इलाममा यति धेरै स्टार खेलाडीहरू छन् कि काठमाण्डौका धेरै क्लबमा इलामका खेलाडीले ठाउँ पाउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मन्त्रिपरिषद् बैठक स्थगित, गभर्नर नियुक्ति अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा तीन दलीय गठबन्धन, ७ पालिका कांग्रेसलाई, चार माओवादी र दुई एसलाई