समाज परिवर्तन र समाज विकास

गाँउघरमा रातिराति सत्यनारायणको पुजामा ‘सत्यनारायण पुजाकी जय’ भन्न, सेलरोटी र कुराउनी नैवेद्यको खोसाखोस गर्न, झयाउरे र भजनमा नाँच्न गाँउन रमाउन असाध्यै रमाइलो हुन्थ्यो । माघीमा देवघाट र रियार मेलाको रात्रिकालीन माहोलमा पनि त्यस्तै रमाइलो हुन्थ्यो । आजकल रात्रिकालीन पूजाआजा, रोधी, रत्यौली, गौरा, तीज र जात्रा सामाजिक सुरक्षाकोको अभावमा घटेर गए वा छठबाहेक त छँदै छैन भन्दा पनि हुन्छ । छाउ बस्ने चलन र छुवाछूतका विरुद्ध कठोर कानून बनाएर राक्ने प्रयास पनि भइरहेकोछ भने अन्तरजातीय विवाहको लागि सरकारले नै प्रेरित गरिरहेको छ ।

नेपाल एकीकरणताका चौकोटमा सबै कपडा खोलेर भात खानै लागेका सैनिकमाथि शत्रुपक्षले आक्रमण गरेपछि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले सैनिकले कपडा नखोली भात खाए पनि जात नजाने निर्देशन जारी गर्नुभयो, जुन संस्कृति बनेर हुर्कियो । तराई र उत्तरी भेकका जिल्लाका बासिन्दालाई सडकमा दिसापिसाब गर्नु हुँदैन । टवाइलेटमा दिसापिसाब गर्नपर्छ भनेर सिकाउँदा सिकाउँदै थोरै भने पनि बानी परेको छ । नेपाली र अंग्रेजी नयाँ वर्षमा रमाउन युवापिँढीलाई कसैले सिकाइरहनुपरेको छैन । अनलाइन खाना मगाएर खाने प्रवृति अब नयाँ संस्कृति र सभ्यता बन्दै गएको छ । हाम्रा आफ्ना चाडबाड मनाउने चालचलनमा पनि समयको कालखण्डमा आमूल परिवर्तन भएर गएका छन् ।

मानिस एक चेतनशील, गतिशील र परिवर्तनशील प्राणी हो । मानिस आदिमकालमा भिन्नभिन्न भएर बसे पनि आधुनिक युगमा समुदायमा बस्न र समाजमा रम्न मन पराउँछ । भिन्न भिन्न जातजाति, भाषा, वर्ण, रंग, संस्कृति वेशभूषा, मूल्यमान्यता, आस्था, सिद्धान्तमा आबद्ध मानिसहरूको समूह समाज हो । समाजमा समाजको व्यवस्थापनका लागि घरमुली, गुठियार, पञ्चभलादमीजस्ता सामाजिक संस्थाहरू खडागरिएका हुन्छन् । संस्कृति व्यक्ति समाज र समुदायको प्राण हो । मानिस आफनो संस्कृतिलाई अगाध माया गर्छ, त्यसैमा सबैभन्दा बढी रमाउँछ र जहाँ जान्छ बोकेर हिड्छ । समाजमा समाजका सदस्यहरूबीच व्यक्तिगत र सामूहिक स्वार्थको लागि अन्तरक्रिया भैरहने गर्दछ । समाज निराकार, असीमित, र गतिशील चरित्रको हुन्छ भने समाजमा समानता र असमानता दुवै पाइन्छ । समाज विविधताको संरक्षक र प्रवद्र्धक दुवै हो । अन्तरसम्बन्ध, अन्तरनिर्र्भरता र अन्तरविरोध समाजका विशिष्ठ गुणहरू हुन् । यसकारण समाजमा जहिले पनि सहकार्य, सहयोग र द्वन्द्वको वातावरण विद्यमान रहिरहेको हुन्छ ।

परिवर्तन एउटा गतिशील क्रिया हो । परिवर्तन आफै वाहेक अन्य सबै परिवर्तनशील छन् । समाज यथास्थितिमा रहन सक्दैन । समाजको परिवर्तन र समाजको विकास प्राकृतिक एवं निरन्तर चलिरहने प्रक्रिया हो । समाज परिवर्तन बहुआयमिक प्रकृतिको हुन्छ भने योजनाबद्ध वा आकस्मिक रूपमा समाजको परिवर्तन गर्ने गरिन्छ । समाज परिवर्तनलाई समय र सामाजिक वातावरणको कसीमा राखेर हेर्ने गरिएको हुन्छ । समाज परिवर्तनको उद्देश्य मानिसको व्यवहार, ज्ञान र क्षमता, विश्वास, आस्था तथा सामाजिक संंरचना र संस्कृतिमा परिवर्तन गर्नु हो । समाज परिवर्तन जहिले पनि मानवमुखी हुनुपर्दछ ।

नेपाल एकीकरणताका चौकोटमा सबै कपडा खोलेर भात खानै लागेका सैनिकमाथि शत्रुपक्षले आक्रमण गरेपछि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले सैनिकले कपडा नखोली भात खाए पनि जात नजाने निर्देशन दिएपछि संस्कृति बनेर हुर्कियो

समाज परिवर्तन एक नियमित प्रक्रिया हुँदाहुँदै पनि समाज परिवर्तनमा विभिन्न तत्वहरूले महŒवपूर्ण भूमिका खेलिरहेका हुन्छन् । मानसिको मनोवैज्ञानिक सोच, परिपूर्ति गर्नुपर्ने सामाजिक आवश्यकता, सामाजिक सक्षमता विकासको जरुरी, सामाजिक समस्या र द्वन्द्वको निराकरण, प्राकृतिक वातावरणसँग समरूप सम्बन्ध स्थापना, मानिसको जन्ममृत्यु र बसाइँसराइको प्रवृतिमा परिवर्तन, व्यक्तिगत एवं सामाजिक मूल्यमान्यतामा आएको बदलाब, सूचना सम्बन्ध र नेटवर्कको विस्तार तथा प्रविधि परिवर्तन समाज परिवर्तनका कारणहरू हुन् ।

सामाजिक विकास भनेको व्यक्ति तथा समाजको सुखसमृद्धि अभिवृद्धि गर्नु, सामाजिक आवश्यकता परिपूर्ति गर्न तथा शासन सञ्चालनका समावेशी निर्णय प्रक्रियामा नागरिक सहभागी हुनु हो । सामाजिक विकास समाजको अपेक्षा हो । समाज विकास आफंैमा सामाजिक परिवर्तनको सूचक हो भने सामाजिक परिवर्तन समाजिक विकासको माध्यम पनि हो । समाज विकासले समाजको निर्माण, विकास र परिवर्तनलाई अभिन्न आयामको रूपमा लिएको हुन्छ । जनताका सामाजिक, आथिर्क एवं राजनीतिक चासाहरूलाई सार्वजनिक विकास नीति निर्माणमा समेटेको हुन्छ । समाज विकासले सम्पूर्ण सामाजिक पक्षहरूको न्यून स्वरूपबाट उन्नत स्वरूपको चाहनालाई परिपूर्ति गर्दछ । सामाजिक परिवर्तन र विकास एक्लोरूपमा समाजको विकाससँग मात्र सम्बन्धित नभएर यसले उच्च राष्ट्रिय आय, लामो औसत आयु, न्यून बाल मृत्युदर, राम्रो शैक्षिक अवसर र स्वास्थ्य सुविधा, सूचना प्रविधिको उपयोग र नेटवर्क व्यवस्था, रोजगारीको उपलब्धता तथा आधारभूत पूर्वाधार विकासलाई समेटेको हुन्छ ।

समाज परिवर्तन र विकासका पक्षमा विभिन्न सिद्धान्तहरू प्रतिपादन भएका छन् । समाज विकासलाई अब्राहम मास्लोको उत्प्रेरणा सिद्धान्तको आधारमा विश्लेषण गरिएको हुन्छ । मास्लोअनुसार शारिरीक आवश्यकता, सुरक्षाको आवश्यकता, सामाजिक सम्मानको आवश्यकता, मानसिक अमूर्त चिन्तन र आत्मसन्तुष्टि जस्ता आवश्यकताहरूको एउटा पदसोपान हुन्छ । आवश्यकताहरूको शृंखलामा एउटा पूर्ति हुना साथ मानिसमा अर्को आवश्यकता पूरा गर्ने ऊर्जा पैदा हुन्छ । यसरी मानिस आफनो आवश्यकता पूरा गर्न क्रियाशिल हुन्छ र नवीन खोज, आविष्कार र सिर्जनामा तल्लीन हुन्छ । जसले समाजमा नवीन परिवर्तन र विकास ल्याउँछ । थोमस सेलिङको क्रिटिकल मास (सक्रिय समूह) सिद्धान्तले समाजलाई अर्याप्तता, अभाव र विकृतिविरुद्ध सघर्ष गर्न अभिप्ररित गर्दछ भन्ने दृष्टिकोण राख्दछ । अर्थात उनको बाण्डवागेन प्रभावअनुसार मानिस कसैले गरेको काम वा प्रगति वा मूल्यमान्यताको देखासिखी गरेर आफ्नो काम गर्दछ वा बानी व्यवहार विकास र परिवर्तन गर्दछ भन्ने रहेको छ ।

चाल्र्स डारविनको क्रमागत उन्नति (इभोल्युसन) सिद्धान्तले वर्तमान समाज विगत परिवर्तनको परिणाम भन्दै समाज परिवर्तन अपरिहार्य हो जुन निरन्तर एवं क्रमागत रूपमा चरण वा बिनाचरण सरलबाट जटिलतर्फ उन्मुख हँुदै जान्छ भन्ने धारणा राख्दछ । चुनौति र प्रतिक्रिया (च्यालेन्ज रेस्पोन्स) सिद्धान्तले समाजको चरणबद्ध रूपमा परिवर्तन हुने विश्वास गर्दछ । जसको मुख्य प्रेरक समाजका समस्याहरू र तीनको समाधान खोज्ने प्रयासलाई मानेको छ ।

दुर्खिमको कार्यात्मकता (फंसनालिज्म) सिद्धान्तले मानव शरीरले झंै समाजले धेरै कार्यहरू गर्दछ र समाजका विभिन्न संस्थाबीच सन्तुलन कायम गरेको हुन्छ । त्यस्तो सन्तुलन आन्तरिक वा बाह्य वातावरणले भंग भयो भने सामाजिक संस्थाहरूले वातावरणसँग एडप्ट गरी त्यसलाई पुनः नवीन सन्तुलनमा राख्दछन् र स्थायित्व दिन्छन् भन्ने वकालत गर्दछ ।

समाजमा एउटा शक्तिशाली वर्ग हुन्छ जो यथास्थितिलाई बनाई राख्न चाहन्छ । कार्ल माक्सको द्वन्द्व सिद्धान्तले समाजका शक्तिशाली र कमजोर वर्गबीच वर्ग संर्घष हुन्छ र सामाजिक मूल्यमान्यता तथा शासन प्रणालीमा परिवर्तन हुन्छ भन्ने विश्वास गर्दछ । प्रविधि परिवर्तनसिद्धान्तले प्रविधिमा भएको विकासले समाजलाई परिवर्तन गर्दै नयाँ दिशातर्फ लैजान्छ भन्ने विश्वास गर्दछ भने सूचना सञ्चार प्रविधिको विकासले सार्वजनिक सेवाहरूलाई डिजिटलाइज्ड र मानिसलाई नेटवर्कमा आबद्ध गराई मानिसका काम कारवाही, चालचलन र व्यवहारमा आमूल परिवर्तन गर्दै लगेको दृश्य हाम्रो अगाडि प्रस्ट छ ।

हरेक समाजमा अनुपम ज्ञान, क्षमता र सीप भएका मानिसहरू रहेका हुन्छन् । समाज परिवर्तनको लागि भइरहेको बानी, व्यवहार, सँस्कृति र मूल्य मान्यता परिवर्तन गर्न धेरै उर्जा प्रयोग गर्नुपर्दछ । समाजको परिवर्तन र विकास मूलतः सरकारले अख्तियार गर्ने सामाजिक नीति र कार्यक्रममा पूर्ण रूपमा निर्भर गर्ने गर्दछ । समाजले परिवर्तनबाट सामाजिक विकासको अवसर देखेको खण्डमा परिवर्तनलाई सजिलै आत्मसात गर्दछ । सामाजिक व्यवहार परिवर्तन गर्न शिक्षा, सूचना, चेतना, पर्दशन तथा उत्प्रेरणा जस्ता तत्वहरूले महŒवपूर्ण भूमिका खेल्दछन् । समाजको विकास र परिवर्तनमा राजनीतिक प्रणाली, सामाजिक सांस्कृतिक व्यवहार विरुद्धका आन्दोलन, विद्रोह र आवाज तथा आर्थिक नीतिहरूमा गरिने परिवर्तनले महत्वपूर्ण भूमिका खेल्दछन् भने शिक्षा प्राप्तिको अवसर, वाक स्वतन्त्रता तथा सूचनाको हकको अभ्यासले सामाजिक परिवर्तनमा अहं योगदान दिएको हुन्छ ।

समाज विकासमा जनतालाई सेवा दिने अर्थात् जनतालाई चाहिएको छ वा छैन् त्यो नहेरी सरकारी सार्वजनिक नीति कार्यक्रम बनाएर सेवासुविधा दिने परम्परागत नीतिले खासै विकास र परिवर्तन गर्न सक्दैन् । समाज विकासमा कल्याणकारी अवधारणा र अधिकारमा आधारित धारणाको व्यापक प्रयोग भएको पाइन्छ । कल्याणकारी अवधारणाको विकास पँुजीवादी आर्थिक एवं राजनीतिक प्रणाली भएका मुलुकमा भएको हो । सरकारले जनताको कल्याण्को लागि लगानी गर्नुपर्दछ भन्ने सोचबाट विकास भएको यस धारणाले नागरिकको कल्याण्का लागि सरकारको नेतृत्वदायी भूमिका र धनको समान वितरणको अपेक्षा गर्दछ । अधिकारमा आधारित धारणाले सार्वजनिक सेवा प्राप्त गर्ने अधिकार नागरिकको हो । नागरिकको हक अधिकारअनुरूपको सेवा दिनु राज्यको कर्तव्य हो भन्ने विश्वास गर्दछ ।

समाज परिवर्तन भनेको समाजमा सकारात्मक परिवर्तन हुनु हो । समाजका उन्नत विशेषताहरूको संरक्षण गर्दे विकृति र अडमिल्दा चरित्रहरू परिवर्तन गर्नु हो । समाज परिवर्तन र विकासमा अनेकांै बाधाहरू रहेको पाईन्छ । राजनीतिक प्रतिबद्धता र सक्षमताको कमी, पुरातनवादी एवं अन्धविश्वासमा आधारित सामाजिक मूल्यमान्यता, न्यून मानव संसाधन विकास, गरिवी, अशिक्षा, फराकिलो डिजिटल डिभाइड, भ्रष्ट्राचार, राजनीतिक अस्थिरता, सामाजिक असुरक्षा, समाजिक द्वन्द्व, कमजोर एवं अनुत्तरदायी सरकार, न्यून स्रोतसाधन उपयोग, विश्वव्यापीकरणको नकारात्मक प्रभाव, अन्तर्राष्ट्रिय सहयोगमा अनिश्चितता, सामाजिक न्यायमा आधारित विकासको कमी तथा नागरिक समाजको गतिशीलताको कमी समाज परिवर्तन र विकासका बाधा रहेको पाइन्छ ।

समाजको परिवर्तन र विकास नगरिकन सुखी समाज र कल्याणकारी राज्यको स्थापना गर्न तथा समृद्धि हासिल गर्न पनि सकिँदैन

सामाजिक परिवर्तन र समाज विकासमा खासगरी एजेन्टको महŒवपूर्ण भूमिका रहन्छ । एजेन्ट भनेको नेतृत्व हो । नेतृत्वले समाजका समस्या र विकृति तथा अवसर र खुबी पहिचान गरी विकृति नियन्त्रण गर्ने र खुबीअनुरूप अवसरको लाभ लिन नागरिकलाई सक्षम बनाउने भूमिका खेल्न सक्दछ । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सार्वजनिक प्रशासन, राजनीतिक दलहरू, मिडिया,विकासका साझेदारहरू, विज्ञ, नागरिक समाज, व्यवसायी एवं उद्यमीहरूले समाज परिवर्तन र विकासमा एजेन्टको रूपमा महŒवपूर्ण भूमिका खेल्ने गर्दछन् । कल्याणकारी एप्रोच र अधिकारमा आधारित एप्रोचअनुरूप सरकारले जनताको अधिकारमा केन्द्रित तथा कल्याणोन्मुख जनमुखी नीति कार्यक्रमहरू बनाएर समाजको विकास र परिवर्तन गर्न महŒवर्पूण भूमिका खेल्न सक्ने भएकाले सरकार नै समाज परिवर्तन र विकासको नेता हो भन्ने तथ्य प्रमाणित छ ।

सन् २०२० मा प्रकाशित सामाजिक प्रगति सूचकांक (एसपीआई)मा नेपाल १६३ देशहरू मध्ये ११४ औं स्थानमा रहेकोछ । नेपालको स्थान श्रीलंका, मालिदप्स भुटानको भन्दा सामाजिक प्रगतिमा पछाडि र भारत र पाकिस्तानभन्दा राम्रो भएर अगाडि रहेको छ । सामाजिक प्रगति सूचकांकमा आधारभूत आवश्यकताको रूपमा पोषण र आधारभूत चिकित्सा सुविधा, खानेपानी र सरसफाइ, आवास सुविधा तथा व्यक्तिगत सुरक्षालाई समेटिएको हुन्छ । भलाइ कल्याणअन्तर्गत ज्ञान प्राप्तिमा सहज पहुँच, सूचना सञ्चारमा सहज जहुँच, अनलाइन शासन प्रणालीमा सहज पहुँच, स्वतन्त्र मिडिया, जनताको शारीरिक तम्दुरुस्ती तथा वातावरण गुणस्तर र प्रदूषणको स्तर हेर्ने गरिन्छ ।

यसैगरी अवसर शीर्षकमा व्यक्तिगत अधिकार, व्यक्तिगत स्वतन्त्रता र छनौटको अवसर, समावेशिता तथा स्तरीय शिक्षा सुविधामा पहुँचलाई लिईएकोछ । सामाजिक प्रगति सूचकांकमा नेपालको अवस्था राम्रो नदेखिनु भनेको हाम्रो समाजमा अझै पनि जातीय भेदभाव, छुवाछुत, छाउपडी, बोक्सी मान्ने विकृति कायमै छन् भन्नेहो भने पोषण, आधारभूत चिकित्सा सुविधा, खानेपानी, सरसफाई र आवास सुविधा, व्यक्तिगत सुरक्षा, ज्ञान प्राप्ति, सूचना प्राप्ति, र अनलाइन शासन प्रणालीमा नागरिकको सहज पहुँच, स्वतन्त्र प्रेस र वातावरणीय गुणस्तर पनि कमजोर रहेको स्पष्ट गर्दछ । सामाजिक प्रगति सूचकांकका सूचकहरूको शीर्षकगत रूपमा हेर्दा हाम्रो अवस्था थप निराशाजनक छ । राष्ट्रिय मानव विकास सूचकांक, २०२० अनुसार नेपालनको मानव विकासको अवस्था मजधार (०.५८७) मा रहे पनि भौगोलिक, प्रदेशगत र लैंगिक एवं जातीय रूपमा भने अत्यन्त असन्तुलित छ ।

द्वन्द्व वा विवाद वा समग्र अनुत्तरदायीपनले सामाजिक परिवर्तन र विकास सम्भव छैन । नेपालका महान राजनीतिज्ञ एवं साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (विपि कोइराला)ले राष्ट्रिय शक्तिहरूबीच मेलमिलाप नगरिकन राजनीतिक, आर्थिक र सामाजिक परिवर्तन र विकास सम्भव छैन् र भएको परिवर्तन पनि दिगो हुन सक्दैन भन्ने सिद्धान्त प्रस्तुत गर्नु भएको थियो । यसकारण सरकार वा समुदायको एक्लो प्रयासले समाज परिवर्तन हुन सक्दैन् । समाजको परिवर्तन र विकास नगरिकन सुखी समाज र कल्याणकारी राज्यको स्थापना गर्न तथा समृद्धि हासिल गर्न पनि सकिँदैन । राष्ट्रिय मेलमिलाप राष्ट्रिय शक्ति हो । यसर्थ, व्यक्ति, समुदाय, समाज, सरकार तथा राष्ट्रिय शक्तिहरूबीच मेलमिलाप गरेर सबै पक्षले गम्भीर भएर आआफनो जिम्मेवारी रकर्तव्य पूरा गरेको खण्डमा समाज परिवर्तन र विकास सहज रूपमा हुने निश्चित छ ।

तपाइको प्रतिक्रिया
(Visited 20,911 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जहाँ स्वतन्त्रले जिते