सर्वोच्चमा न्यायाधीश नियुक्ति राजनीतिक भागबन्डामा

काठमाडौं । सर्वोच्च अदालतमा रिक्त सात न्यायाधीशमध्ये न्याय परिषद् बैठकले ६ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले सर्वोच्चको न्यायाधीश नियुक्तिको सिफारिस टुंग्याएको हो ।

कांग्रेस र एमालेको कोटामा एक–एक जना, माओवादीको कोटा बाँकी

बैठकले उच्च अदालतका न्यायाधीश शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना तथा कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतमा बसेको बैठकले दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको कोटामा एक÷एक जनासहित ६ जनाको नाम सिफारिस गरेको हो । माओवादी कोटामा भने माओवादीभित्रै कुरा मिल्न नसक्दा नाम नदिएपछि एउटा कोटा रिक्त राखेर न्याय परिषद् बैठकले नाम सिफारिस गरेको छ ।

विगतमा माओवादी कोटामा सिफारिस गर्दा पूर्वपञ्च पर्ने गरेकोमा माओवादी पार्टीभित्रै तीब्र आलोचना हुने गरेको थियो । यसपटक भने माओवादीले आफूले गरेको सशस्त्र युद्धलाई आत्मसात गर्ने कानुन व्यवसायीलाई न्यायाधीश बनाउन चाहन्छ ।

सर्वोच्चमा आफ्नो पक्षको न्यायाधीश नभएकाले धेरै मुद्दा प्रभावित हुने गरेको माओवादीको बुझाइ छ । त्यसैले यसपटक भने सर्वोच्चमा प्रधानन्यायाधीश हुने लाइनमा न्यायाधीशको सिफारिस गर्ने तयारीमा रहेको स्रोतले बतायो ।

हाल चर्चामा रहेमध्ये महान्यायाधिवक्ता दीनमणि पोखरेल र डीएन पराजुलीको नाम चर्चामा रहे पनि माओवादीले सबैलाई स्वीकार्य हुने नाम दिन नसक्दा नियुक्ति सिफारिस हुन सकेन । ‘प्रधानमन्त्रीले निरन्तर रूपमा आफ्नातर्फबाट महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको नाम सिफारिस गर्नुभएको थियो, त्यसमा परिषद्का वरिष्ठ सदस्यको असहमति थियो,’ न्यायपरिषद् स्रोतले भन्यो, ‘तपाईंका लागि एउटा पद खाली रहने भयो । सर्वस्वीकार्य वरिष्ठ अधिवक्ताको नाम पठाउनुहोस् भन्ने सन्देश प्रवाह भएको छ । नाम आउनासाथ परिषद्बाट निर्णय भएर सिफारिस हुनेछ ।’ महान्यायाधिवक्तालाई न्यायाधीशको नाम सिफारिस गरेपछि न्याय परिषद्का दुई सदस्यले आपत्ति जनाउँदै वरिष्ठतम् न्यायाधीश सबैबाट स्वीकार्य हुनुपर्ने आवाज उठेपछि माओवादीको कोटामा रहेको न्यायाधीश खाली रहन गएको न्याय परिषद्का एक सदस्यले राजधानीलाई बताए ।

न्यायाधीश सिफारिस भएमध्ये वरिष्ठ अधिवक्ता सुनिल पोखरेल नेपाली कांग्रेस निकट हुन् भने बालकृष्ण ढकाल एमाले निकट हुन् । पोखरेल नेपाल डेमोक्रेटिक लयर्स एसोसियसनका तर्फबाट नेपाल बारको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । ढकाल एमाले निकट प्रगतिशील कानुन व्यवसायीको सदस्य हुन् । दुवै जना गतवर्ष वरिष्ठ अधिवक्ता भएका थिए । पोखरेल अब्बल कानुन व्यवसायीका रूपमा चर्चित छन् । संवैधानिक कानुन र फौजदारी कानुन दुवैमा दख्खल राख्ने पोखरेल राम्रो कानुन व्यवसायीका नाममा परिचित छन् । शालीन र भद्र स्वभावका पोखरेल आफ्नो विषयमा निपूर्ण छन् ।

न्याय परिषद्ले गरेको न्यायाधीश सिफारिसअनुसार नहकुल सुवेदीपछि प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहनेगरी सर्वोच्च अदालतको न्यायाधीशमा टेकप्रसाद ढुंगानाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले नहकुल सुवेदीपछि करिब ६ महिना प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहनेगरी ढुंगानाको नाम सिफारिस गरेको हो ।

उच्चबाट सर्वोच्चमा न्यायाधीश ल्याउँदा रोलक्रम भत्काइयो
उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दा रोलक्रम भत्काइएको छ । रोलक्रममा माथि रहेका र एक मात्र मुख्य न्यायाधीश नृपध्वज निरौला छुटेका छन् । उनीपछि रोलक्रममा अगाडि रहेका सत्यमोहन जोशी पनि छुटेका छन् । रोलक्रममा तलै रहेका महेश शर्मा पौडेल अटाएका छन् ।

उनी उच्च अदालत पाटनमा कामु मुख्य न्यायाधीश थिए । त्यस्तै, समावेशी कोटामा शारंगा सुवेदी र अब्दुल अजिज मुसलमान अटाएका छन् । त्यस्तै, कानुन मन्त्रालयबाट उच्च अदालतको न्यायाधीश भएका टेकप्रसाद ढुंगाना पनि अटाएका छन् । उनी पनि रोलक्रममा तलै रहेका थिए ।

उच्च अदालतमा ६ मुख्य न्यायाधीश सिफारिस
न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नियुक्तिका लागि ६ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले रिक्त रहेका ६ मुख्य न्यायाधीश पदपूर्ति गर्न ६ जनालाई सिफारिस गरेको हो । परिषद्ले मुख्य न्यायाधीशका लागि सिफारिस गरेकामा लोहितचन्द्र शाह, माधव पोखरेल, रमेश राजभण्डारी, श्रीकान्त पौडेल, नित्यनन्द पाण्डे र शान्तिसिंह थापा रहेका छन् ।

शाहलाई सुर्खेत, पोखरेललाई पोखरा, राजभण्डारी, विराटनगर, पौडेललाई, जनकपुर, पाण्डेलाई तुलसीपुर, थापालाई दिपायलका लागि सिफारिस गरिएको परिषद् स्रोतले जानएको छ । त्यस्तै, नृपध्वज निरौलालाई पाटन सरुवा गरिएको छ ।

विशेष अदालतमा कुँवर सिफारिस
न्याय परिषद्को बैठकले विशेष अदालतमा नयाँ टिम सिफारिस गरेको छ । विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवरलाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।

मंगलबार बसेको न्याय परिषद्को बैठकले उनलाई विशेष अदालतको अध्यक्ष नियुक्त गर्ने निर्णयसहित सरकारसमक्ष सिफारिस गरेको हो । उनलाई अब बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने छ । कुँवर उच्च अदालतका न्यायाधीश हुन् ।

मंगलबार बसेको परिषद्को बैठकले विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेललाई उच्च अदालतको मुख्य न्यायाधीश बनाउँदै नयाँ टिम सिफारिस गरेको हो । त्यस्तै, विशेष अदालतको सदस्यमा तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापालाई नियुक्तिका लागि सिफारिस गरिएको छ । खुसीप्रसाद थारू भने सदस्यमा यथावत् छन् ।

तपाइको प्रतिक्रिया
(Visited 478 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः अध्यक्ष ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनबीच ११ उपमहानगरमा किन मिलेन कुरा ?