काठमाडौं । नेपालले पहिलोपटक बंगलादेशमा विद्युत् निर्यात गरेको छ । भारतबाट स्वीकृति आएकाले शुक्रबार बंगलादेशलाई विद्युत् बिक्री गरिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।
प्राधिकरणले यस वर्षका लागि शुक्रबार राति १२ बजेसम्म मात्रै विद्युत् बेचेको छ । शुक्रबार करिब ११ घण्टा मात्रै विद्युत् बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी गरेको छ । भारतलाई भारतीय मूल्यमा बिक्री गर्दै आएको प्राधिकरणले पहिलोपटक डलरमा विद्युत् निर्यात गरेको हो ।
६ वर्षको गृहकार्यपछि गत १७ असोजमा नेपाल, बंगलादेश र भारतबीच ४० मेगावाट विद्युत् किनबेचको सम्झौता भएको थियो । नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न भारतको प्रसारणलाइन प्रयोग गर्नुपर्ने भएकाले त्रिपक्षीय सम्झौता भएको थियो । नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता भए पनि भारतको स्वीकृति नआएकाले ढिलाइ भएको थियो । सोही कारण सम्झौता भएको महिना दिनसम्म नेपालले बंगलादेशलाई विद्युत् बिक्री गर्न सकेको थिएन ।
प्राधिकरणले हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई विद्युत् बिक्री गर्ने सम्झौतामा उल्लेख छ । सम्झौता हुँदा यसै वर्ष एक दिन भए पनि विद्युत् बिक्री गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका थिए । सोहीनुसार प्राधिकरणले विद्युत् बिक्री गरेको हो ।
प्राधिकरणले सम्झौतानुसार प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले विद्युत् बेचेको हो । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट विद्युत् दिएको छ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर–भेरमारा ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश पु¥याइएको थियो ।
बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहेको छ । त्यही मिटरका आधारमा प्राधिकरणले पैसा पाउनेछ ।
ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले बेहोर्नेछ । प्राधिकरणका अनुसार ढल्केबरबाट मुजफ्फरपुरसम्म ३ प्रतिशत चुहावट हुन्छ ।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गरेको हो । बंगलादेशलाई विद्युत् बेच्दा मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुनेछ । कुल पाँच महिनामा १ लाख ४४ हजार मेगावाट विद्युत् निर्यात हुने प्राधिकरणले जनाएको छ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले पाँच महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।
नेपालले डलरमा विद्युत् बिक्री गरेको पहिलोपटक हो । यसअघि भारतसँग भारतीय रुपैयाँ (भारु)मै कारोबार हुँदै आएको छ । बंगलादेशलाई विद्युत् बिक्री हुँदा मुलुकलाई प्रतिमहिना ३३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण प्राधिकरणको छ ।
२५ साउन २०७५ सालमा तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन र बंगलादेशका तत्कालीन विद्युत्, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए ।
भारतका राजदूत नवीन श्रीवास्तवको उपस्थितिबीच भएको त्रिदेशीय सम्झौता नेपालको विद्युत् निर्यातका क्षेत्रमा कोसेढुंगा साबित भएको छ । अबदेखि सहज रूपमा बंगलादेश र भारतमा विद्युत् निर्यात गर्न सकिने भएको छ ।
गत वर्षको २० मंसिरमा बंगलादेशका तत्कालीन अर्थमन्त्री मुस्तफा कमलको नेतृत्वको मन्त्रिपरिषद्को आर्थिक मामिला समितिले ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेश पावर डेभलपमेन्ट बोर्डको प्रस्ताव स्वीकृत गरेको थियो । प्राधिकरण र बीपीडीबीबीच विद्युत्को दरमा गत फागुनको अन्तिममा सहमति भएको थियो । गत १३ साउनमा काठमाडौंमा त्रिपक्षीय सम्झौताको तयारी भएको थियो ।
सन् २०१८ देखि नेपाल र बंगलादेशले ऊर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि संयुक्त कार्यदल र संयुक्त सञ्चालन समितिको ६ वटा सफल बैठक तथा त्यसपछिको निरन्तर प्रयासपछि सम्झौता भएको हो ।
बीपीडीबीले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न प्राधिकरणलाई पत्राचार गरेको थियो । बीपीडीबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत् बिक्री सम्झौताका लागि पत्राचार गरेको थियो ।