संखुवासभा । प्रथम सनम, गोपाल स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी एडभान्स क्लव मानेभञ्याङले जितेको छ । संखुवासभाको खाँदबारी नगरपालिका–७ स्थित खाँदबारी रंगशालामा आज भएको फाइनल खेलमा ग्यालेक्सी फुटबल क्लवलाई शुन्यका विरुद्ध १ गोलअन्तरले एडभान्स क्लवले उपाधी जितेको हो । समस्याको समाधान खोजौँ, आत्महत्या हैन जीवन रोजौँ भन्ने मूल नाराका साथ प्रथम समन गोपाल स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिता कात्तिक २६ गतेबाट सुरु भएको थियो ।
आत्महत्या रोकथामका लागि गाँउले स्पोटिङ क्लव खाँदबारी –७ को आयोजनामा खुल्ला पुरुष फुटबल प्रतियोगिता गरेको हो । प्रतियोगिताको उपविजेता ग्यालेक्सी फुटबल क्लवले शुन्य गोलमा चित्त बुझाएको छ । प्रतियोगिताको समापन कार्यक्रममा बोल्नु हुँदै खाँदबारी नगरपालिका नगर प्रमुख महेश थपलियाले पछिल्लो समय युवा पुस्तामा मौलाएको विकृति,विसंगतिका विरुद्ध खेलकुद आवश्यकता भएकाृ बताए ।
प्रतियोगितामा संखुवासभाका विभिन्न १८ वटा क्लवको सहभागिता रहेको प्रतियोगिता संयोजक सुसिलजंग कार्कीले बताए । प्रतियोगिताको विजयी टिम एडभान्सले नगद रु ६० हजार, कप मेडल,प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता ग्यालेक्सीले नगद रु ३५ हजार सहित कप मेडल, प्रमाण पत्र प्राप्त गरेको छ ।
त्यस्तैगरी प्रतियोगिताको सेमिफाईनलिष्ट दुई टिम मानेभञ्याङ क्लव र गाँउले क्लवले नगद रु १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न विधामा समेत नगद र ट्रफीले सम्मान गरिएको आयोजकले जनाएको छ ।