काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गरेको ६ वर्षमा सामाजिक सुरक्षा कोषमा झन्डै १८ लाख श्रमिक सूचीकृत भएका छन् । सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार अहिलेसम्म कुल १७ लाख ९७ हजार ६ सय ४० जना श्रमिक कोषमा सूचीकृत भएका छन् । जसमध्ये १२ लाख ५३ हजार ५१५ श्रमिक वैदेशिक रोजगारमा कार्यरत रहेकाहरु छन् । यसैगरी, औपचारिक क्षेत्रका ५ लाख ४३ हजार ४ सय ९१ जना , अनौपचारिक क्षेत्रका ३०७ जना र स्वरोजगार क्षेत्रका २ सय २७ जना आबद्ध भएको कोषले जनाएको छ ।
अब श्रमिकका श्रीमान–श्रीमति र छोराछोरीको उपचार खर्च पनि व्यहोर्ने
सरकारले ६ वर्ष अघि ११ मंसिर २०७५ सालमा निकै तामझाम तथा धुमधामकासाथ योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो । यस योजना भने २०७६ सालको साउनदेखि मात्र कार्यान्वयनमा ल्याइएको थियो । सोही बेलादेखि अहिलेसम्मको अवधिमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९ हजार ७ सय ६९ रोजगारदाता कोषमा सूचीकृत भएका छन् ।
कोषले अपेक्षा गरेको लक्ष्य अनुसार यो संख्या खासै धेरै होइन । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित यस योजनामा सूचिकृत हुने श्रमिकका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ ।
यस कोषले विभिन्न सुविधा योजनाअन्तर्गत हालसम्म १ लाख ८० हजार ९सय २२ जना श्रमिकलाई ११ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ । यस कोषमा ६८ अर्ब ६८ करोड ९ लाख रुपैयाँ योगदान रकम जम्मा भएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारीमा रहेका श्रमिकका श्रीमान–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरुले समेत अब स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् ।
सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित समारोमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले यस्तो जानकारी गराएका हुन् । उनले पहिले वैदेशिक रोजगारीमा रहेका योगदानकर्ता श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरुका श्रीमान–श्रीमति र १८ वर्ष नकटेका छोराछोरीका लागि पनि औषधीउपचार सेवा थप गरिएको जानकारी दिए ।
उनले कोषमा मंगलबारसम्म औपचारिक क्षेत्रका १९ हजार ७ सय ६७ रोजगारदाता र ५ लाख ४३ हजार ३ सय ८८ जना श्रमिक आवद्ध भएको जानकारी गराउँदै आवद्ध हुने श्रमिकको संख्या निरन्तर वृद्धि भइरहेको बताए ।
यसैगरी, कार्यकारी निर्देशक अधिकारीले कोषले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबी वापत कोषले ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र योगदानकर्ताका परिवारलाई भुक्तानी गरिसकेको जानकारी दिए ।
कोषको दायरा बिस्तारका लागि हाल कोषको केन्द्रिय कार्यालय काठमाडौको थापाथलीका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको जानकारी गराउँदै उनले यही आर्थिक वर्षभित्र कर्णाली प्रदशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना गर्ने योजना रहेको बताए । उनले देशका सातवटै प्रदेशमा कोषको भौतिक उपस्थिति सुनिश्चि गर्ने लक्ष्य रहेको बताए ।
औपचारिक क्षेत्रका १९ हजार ७ सय ६७ रोजगारदाता र ५ लाख ४३ हजार ३ सय ८८ श्रमिक आवद्ध भइसकेको जानकारी गराउँदै उनले वैदेशिक रोजगारीमा जाने अथवा स्वदेशमा रहेका १२ लाख ५० हजार श्रमिक औपचारिक तथा अनौपचारिक श्रमिकहरु सहित कुल १७ लाख ९७ हजार ६ सय ४० जना श्रमिकहरु कोषमा आवद्ध भइसकेको बताए । उनले यो सोमबारसम्मको तथ्यांक मात्र भएको बताए ।
अहिलेसम्म कोषले सञ्चालन गरेका औषधिउपचार तथा मातृत्व योजनामा ३ लाख ७४ हजार १ सयवटा दाबी बापत १ अर्ब ४८ करोड १९ लाख ८ हजार रुपैयाँ , दुर्घटना तथा अशक्त सुरक्षा योजनामा ७ हजार एकसय १७ वटा दाबी बापत १५ करोड २० लाख रुपैयाँ र आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ५ सय ८७ श्रमिकका परिवारलाई १८ करोड ५४ लाख र वृद्धा अवस्था सुरक्षा योजना अन्तर्गत ९ अर्ब ८० करोड गरि ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र उनीहरुका परिवारलाई भुक्तानी गरिसकेको अवस्था’bout पनि उनले जानकारी गराएका थिए । उनले कोषमा हालसम्म अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालको संख्या ९० वटा रहेको जानकारी गराउँदै कोषका सम्पूर्ण सेवाहरुलाई अनलाइन प्रक्रियामा लैजाने अन्तिम चरणमा रहेको बताए ।