२ प्रतिशत ब्याजमा ५० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

काठमाडौं । नवीनतम ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय (स्टार्टअप) सञ्चालनका लागि सुरुवाती पुँजी उपलब्ध गराउन सरकारले नवप्रवर्तन सुरुवाती पुँजी कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको छ ।

अर्थ मन्त्रालयले प्रस्ताव गरी मन्त्रिपरिषद् बैठकबाट स्वीकृत कार्यविधिअनुसार कर्जा प्रवाहसम्बन्धी कार्यलाई व्यवस्थित गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षले तोकेको सदस्य संयोजक रहेको निर्देशक समिति हुनेछ ।

समितिले उद्योग, कृषि, ऊर्जा, स्वास्थ्य, पर्यटन, शिक्षा, सूचना प्रविधिलगायतका क्षेत्रमा आवश्यक लगानीयोग्य पुँजी जुटाउन नसकेका लघु, घरेलु, साना तथा मझौला, उद्यमी, व्यवसायी वा आविष्कारकर्तालाई कर्जा प्रदान गर्न प्रस्ताव आह्वान गर्नेछ ।
त्यस्तै, समितिले प्रस्तावको छनोट, कर्जा रकमको सीमा, किस्ता, कर्जा प्रदान गर्न छनोट गरिने प्रस्तावको संख्याको मापदण्ड तयार गर्ने, कर्जा प्राप्त गर्ने आविष्कारकर्ता, उद्यमी वा व्यावसायीले त्यस्तो कर्जाको सही तरिकाले उपयोग गरे वा नगरेको अनुगमन गर्ने गराउने कार्य गर्नेछ ।

कार्यविधिअनुसार कर्जा प्राप्त गर्न चाहने आविष्कारकर्ता, उद्यमी वा व्यावसायीले आफूले गर्न खोजेको नवप्रवर्तनकारी आविष्कार, उद्यम वा व्यवसाय, त्यसको जोखिम, सम्भावित प्रतिफल, आवश्यक पर्ने रकम, सरकारबाट अपेक्षा गरिएको कर्जा रकम, त्यसबाट सामाजिक आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभाव प्रस्तावमा उल्लेख गर्नुपर्नेछ ।

प्रस्ताव छनोटका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य संयोजक रहेको प्रस्ताव मूल्यांकन उपसमिति रहने व्यवस्था गरिएको छ ।

छनोट भएका प्रस्तावक आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरकारले नवप्रवर्तन सुरुवाती पुँजीका लागि प्रदान गर्ने भनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विनियोजन गरेको रकम समितिले तोकेको वाणिज्य बैंकमार्फत २ प्रतिशत ब्याजदरमा कर्जास्वरूप उपलब्ध गराइनेछ ।

कर्जा प्रदान गर्दा प्रस्ताव लागत तथा त्यसबाट पर्ने प्रभावको आधारमा कुल लागतको बढीमा ५० प्रतिशतमा नबढ्ने गरी अधिकतम ५० लाख रुपैयाँ रकम नव प्रवर्तन सुरुवाती पुँजीको रूपमा कर्जा उपलब्ध गराइने पनि कार्यविधिमा उल्लेख छ ।
कर्जा स्वीकृत गर्दा बैंकले आविष्कार कर्ता, उद्यमी वा व्यवसायीको जमानी, व्यावसायिक कार्ययोजना, सम्झौता तथा परियोजनालाई कर्जा धितोको रूपमा लिन सक्नेछन् ।

कार्यविधिमा कर्जाको अन्तिम किस्ताबापतको रकम प्राप्त गरेको एक वर्षभित्र कर्जा सम्झौतामा उल्लेख भएबमोजिम सावाँ भुत्तानीको किस्ता बुझाउने अवधि सुरु हुने र सावाँ चुक्ताको किस्ता बुझाउने अवधि प्रारम्भ भएको चार वर्षभित्र कर्जा सावाँको सम्पूर्ण किस्ता र ब्याजसमेत चुक्ता गरिसक्नुपर्ने उल्लेख छ ।

अर्थ मन्त्रालयका आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख यमलाल भुसालले यो कार्यविधिको कार्यान्वयनसँगै कोरोना महामारीबाट शिथिल भएको अर्थतन्त्रको पुनरोत्थानका लागि ठूलो टेवा पुग्ने बताए ।

नवप्रवर्तनकारी आविष्कार, उद्यम वा व्यवसायको स्थापना वा सञ्चालनका लागि सरकारबाट कुनै कर्जा वा अनुदान रकम प्राप्त भएको भएमा सोहीअनुसारको कार्य गर्ने प्रस्तावलाई छनोट नगरिने पनि कार्यविधिमा उल्लेख छ ।

यो कार्यविधिसँगै २०७६ साल माघ २० गते मन्त्रिपरिषद्बाट स्वीकृत नवप्रवर्तन सुरुवाती पुँजी अनुदान कार्यविधि खारेज गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 290 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुरल सहकारी प्रकरणः अध्यक्ष र सचिवले स्वीकारे बचतकर्ताको रकमबाट जग्गा खरिद गरेको

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रैनादेवीछहरामा गठबन्धनका उम्मेदवार विजयी विजयी