तीज संस्कृति जोगाउँदै हरिदेवी

पोखरा । वरिष्ठ गायिका, साहित्यकार प्राज्ञ हरिदेवी कोइरालाले हरेक वर्ष तीजको मेसोमा तीज निकाल्न थालेको साढे ३ दशक पुगिसकेको छ । किनकि उनलाई एउटै चिन्ता छ–तीजको खास गीत मर्ने पो हुन् कि ? त्यसैले उनले २०४६ सालदेखि निरन्तररुपमा तीजको मौलिकता भल्किने खालको गीत श्रोतादर्शकलाई पस्किदैआएकी छन् । तीज गीतको एकल एल्बम निकाल्ने आँट गर्ने उनी नेपालकै पहिलो गायिका हुन् ।

लोकगायन अलावा साहित्य, संगीत र सामाजिक सेवामा वर्षौदेखि समर्पित पोखरेली चेली हरिदेवी आफैंमा तीज गीतको पर्याय हुन् । एकताका यस्तो पनि जमाना थियो, हरिदेवीका गीत बजारमा नआएसम्म तीज आए झैं हुन्थेन ।

तीजको गीतमाथि प्रकाश पार्दै उनी भन्छिन्, ‘तीजको आफ्नै महत्व हुन्छ । नारीको अन्तरवेदना यसका विषयबस्तु हुन् । समाजमा चेलीले देखेका भोगेका र उनले कल्पना गरेका सिर्जना हुन् । तीजेभाकामा उनैको मुखारबिन्दुले मात्र गाउने हो ।’

बहुचर्चित ‘पाइन खबर’, ‘आमा तिम्रो दूधको भाराले’ लगायतका गीतकी गायिका उनै हरिदेवी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञसमेत हुन् । नारीहरुको महान् पर्व हरितालिका तीजको मौलिक गीत बचाउन भगिरथ प्रयास गरिरहने यस क्षेत्रकी एकमात्र नारी हस्ताक्षर उनी हुन् भन्दा फरक पर्दैन ।

हरिदेवीले मौलिक झन्कारका तीजेगीतमात्र कति गाइन् त ? ‘तीजका मात्रै विभिन्न भाखा र विषयबस्तुमा गरी २ सय भन्दा बढी भयो होला,’ उनको अन्दाज छ । यस वर्ष उनले ‘यो घरमा लच्छिन छैन गीत’ बोलको तीजगीत निकालेकी छन् । जसमा उनको आफ्नै लय, शब्द र संगीत छ ।

‘पहिले क्यासेटको जमाना थियो । अहिले हरायो,’ उनले भनिन्,‘तैपनि समयक्रमसँगै तीज गीत निकालिरहेकी छु ।’

‘यो घरमा लच्छिन छैन’ गीतमा परिवारका सदस्यमा समन्वय नहुँदा आइपर्ने अप्ठेरो परिस्थिति देखाउन खोजिएको छ । गीतमा बोलिने कृष्णलाई मिथकरुपमा देखाइएको उनको भनाइ छ ।

वरिष्ठ गायिका हरिदेवीका तीजगीतका अलावा आधुनिकगीत, बालगीत, पपगीत, राष्ट्रियगान, भजन गरी सांगीतिक बजारमा ३० क्यासेट आए । विभिन्न ९ पुस्तककी स्रष्टा उनी गीत, कविता, मुक्तक, लेख, निबन्ध लेख्छिन् । नेपाली सांगीतिक एवं साहित्यिक क्षेत्रमा उनको योगदान ठूलो छ । जसको उदाहरण अनगिन्ति सम्मान, पुरस्कार, प्रमाणपत्र, प्रशंसापत्र, पुराना क्यासेटका दर्जनौं सेट, मूर्धन्य व्यक्तिसँग कालजयी क्षणमा कैद गरिएका पुराना तस्बिरले भरिएको उनको घरको भित्ताले देखाउँछ ।

प्रश्न उब्जिछ–राजधानीबाहिर बसेर पनि यति धेरै गर्न सकिन्छ ? ‘निरन्तर मेहनत, परिश्रम र लगनशीलताले भ्याइदो रहेछ,’ उनी पुरानो समयतिर फर्किइन्, ‘मेरो जन्म नै बैदाममा भयो । माछापुच्छे«को काखमा फेवाको पानी खाएर हुर्किएँ । घरपरिवारको वातावरण पनि राम्रो थियो । पछि बिहेपछि पनि परिवारका सदस्यबाट उस्तै सहयोग भयो ।’

‘पहिले पहिले छोरीबुहारीलाई अहिलेजस्तो सहजै बाहिर निस्कने मिल्ने जमाना थिएन,’ उनले अगाडि भनिन्, ‘साहित्य र संगीतको चेतले किन किन म भने भाग्यमानी दरिएँ । कार्यक्रमतिर जानुपरे उहाँ (छेवैका पति रामबहादुर कोइरालालाई देखाउँदै) सँगै जान्थें ।’

उनले काम गर्दा गाइने गीत, पर्व गीत, विशुद्ध संस्कृतिमूलक लगायतका विभिन्न समय सन्दर्भका गीत हुने बताइन् । ‘दशैंको मालश्री धुन तीजमा बजाएर हुन्छ त ? तिहारको देउसी भैलो दसैंमा गाएर पनि हुन्न,’ तीजेगीतको मौलिकता बचाउन वर्षौदेखि लागिपर्ने उनले भनिन्, ‘तीजगीत मायाप्रितिको गीत होइन, तीज गीतको आफ्नै मर्म छ । त्यसलाई नबुझी तीजगीतलाई बाह्रमासे गाएर हुँदैन ।’

तपाइको प्रतिक्रिया
(Visited 277 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरमा एक 'नो भोट'