मन्दीका कारण घट्यो आयात–निर्यात

काठमाडौं । नेपाली अर्थतन्त्रमा छाएको मन्दीसँगै नेपालको वैदेशिक व्यापारमा पनि गिरावट आइ व्यापार घाटामा समेत कमी भएको छ ।

मुलुकको अर्थतन्त्र संकुचित हुँदैजाँदा आयातमा २ दशमलव ८४ प्रतिशत कमी आएको छ भने निर्यात ३ दशमलव ६६ प्रतिशत घटेको छ । यसरी नेपालको कुल वैदेशिक व्यापारमा २ दशमलव ९२ प्रतिशत कमी आउँदा व्यापार घाटामा पनि २ दशमलव ७५ प्रतिशतले कमी आएको छ ।

९ महिनामा व्यापार घाटा साढे १० खर्ब

यद्यपि, गत साउनदेखि चैतसम्मको ९ महिनाको व्यापार घाटा भने १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रहेको छ । आर्थिक वर्ष २०७९÷८० को पहिलो ९ महिनामा यस्तो व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ रहेको थियो ।

भन्सार विभागले आइतबार प्रकाशित गरेको तथ्यांकनुसार चालू आवको ९ महिना अवधिमा नेपालले विश्वका विभिन्न मुलुकसँग १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँबराबरको व्यापार गरेको छ । जुन व्यापार अघिल्लो आवको सोही अवधिको तुलनामा २ दशमलव ९२ प्रतिशतले कम हो । नेपालले अघिल्लो आवको सोही अवधिमा विश्वका विभिन्न मुलुकसँग १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँबराबरको व्यापार गरेको थियो ।

यसैगरी, ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख ८ हजार रुपैयाँ मूल्यबराबरका विभिन्न वस्तु आयात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २ दशमलव ८४ प्रतिशतले कमी हो । अघिल्लो आवको सोही अवधिमा नेपालमा १२ खर्ब १ अर्ब १५ करोड ८ लाख ९९ हजार रुपैयाँबराबरका विभिन्न वस्तुको आयात भएको थियो ।

तथ्यांकनुसार चालू आवको ९ महिना नेपालबाट १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँबराबरका विभिन्न वस्तु निर्यात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३ दशमलव ६६ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा नेपालबाट १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँबराबरका वस्तु निर्यात भएको थियो ।

आयात–निर्यातमा कमी हुनुको प्रमुख कारण आर्थिक शिथिलता रहेको छ । विकास निर्माण सुस्ताएकाले आयात खुम्चिएको व्यवसायीहरूको भनाइ छ । विकास निर्माणमा चाहिने अनिवार्य मेसिन तथा सामग्रीहरू आयात हुन नसकेकाले आयातमा कमी देखिएको व्यापारीहरूको दाबी छ ।

भारत र चीनसँग व्यापार घाटा अधिक
९ महिनाको अवधिमा भारतसँग मात्र ६ खर्ब ५१ अर्ब ८० करोड ३२ लाख रुपैयाँको व्यापार घाटा रहेको छ । भारतबाट ७ खर्ब २९ अर्ब ६५ करोड ८५ लाखको सामान आयात हुँदा भारततर्फ भने ७७ अर्ब ८५ करोड ५२ लाख रुपैयाँको सामान निर्यात भएको छ ।

यसैगरी, चीनसँग २ खर्ब १४ अर्ब ६५ करोड ५० लाख रुपैयाँको व्यापार घाटा रहेको छ । चीनबाट २ खर्ब १६ अर्ब ७६ करोडको सामान आयात हुँदा उतातर्फ भने २ अर्ब ११ करोड ४४ लाख रुपैयाँको मात्र सामान निर्यात हुन सकेको छ ।

त्यसपछि भने यूएईसँग १८ अर्ब ५२ करोड २७ लाखको व्यापार घाटा रहेको छ । यूएईबाट २० अर्ब ४८ करोड ७ लाख रुपैयाँको सामान आएको छ भने उतातर्फ १ अर्ब ९५ करोड ७९ लाखको सामान गएको छ ।

युद्धग्रस्त युक्रेनबाट १४ अर्ब ९० करोड ८८ लाख रुपैयाँको सामान आयात भएको छ । युक्रेनतर्फ भने ४ लाख १९ हजार रुपैयाँको मात्र सामान गएको छ । जसले गर्दा युक्रेनसँग मात्र १४ अर्ब ९० करोड रुपैयाँको व्यापार घाटा रहेको छ ।

व्यापार घाटा भएका अन्य मुलुकमा मलेसिया, अस्ट्रेलिया, फ्रान्स, इन्डोनेसिया, अर्जेन्टिना, थाइल्यान्ड, क्यानडा, साउदी अरेबिया, ताइवान, ओमान, जापान, भियतनाम रहेका छन् ।

सबैभन्दा बढी व्यापार फाइदा भएको मुलुकमा अफगानिस्तान रहेको छ । अफगानिस्तानबाट १ करोड १६ लाखको सामान आएको छ भने १९ करोड २६ लाख रुपैयाँको सामान निर्यात भएको छ । जसले गर्दा अफगानिस्तानसँग १८ करोडको व्यापार नाफा रहेको छ । व्यापार नाफा भएका मुलुकहरूमा नर्वे, सुडान, मौरिसस, लातभिया, न्यू क्यालेडोनिया, माल्दिभ्सलगायतका छन् ।

सबैभन्दा बढी आयात हुनेमा डिजेल र पेट्रोल
९ महिनामा सबैभन्दा बढी आयात भएको वस्तु डिजेल रहेको छ । डिजेल मात्रै ३९ अर्ब ९८ करोड ८१ करोड रुपैयाँको आयात भएको छ । पेट्रोल भने २८ अर्ब ९५ करोड ४७ लाख रुपैयाँको आयात भएको छ । यसैगरी खाना पकाउने ग्यास ७ अर्ब ६४ करोड ९५ लाखको आयात भएको छ ।

चैत महिनासम्म सबैभन्दा बढी कर उठ्ने तीन वस्तुमा पेट्रोल, डिजेल र एलपी ग्यास नै परेका छन् । तीन वस्तुहरू मात्रै ७६ अर्ब ५८ करोड रुपैयाँबराबरको आयात भएको छ । त्यस्तै, पेट्रोल इन्जिनका हजारदेखि १ हजार ५ सय सीसीसम्मका कार २ हजार १० वटा आयात हुँदा ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो सवारीको भन्सार मूल्य २ अर्ब २४ करोड रुपैयाँ छ ।

९ महिनामा ५१ देखि सय किलोवाटका इलेक्ट्रिक भेहिकल ४ हजार ७७ वटा आयात हुँदा यसले ५ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठेको छ । इलेक्ट्रिक भेहिकलको भन्सार मूल्य ११ अर्ब ४६ करोड रहेको विभागले जनाएको छ ।

यस अवधिमा १ सय २५ सीसीभन्दा कम क्षमताका मोटरसाइकल मात्रै ३६ हजारवटा आयात भएका छन् । सो आयातबाट ४ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यी मोटरसाइकलको मूल्य ३ अर्ब ४६ करोड रुपैयाँ रहेको देखिएको छ ।

त्यस्तै, कच्चा फलामबाट ४ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यसको भन्सार मूल्य २८ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । मोबाइल फोन मात्रै १३ लाख ९१ हजार ८ सय ४५ वटा आयात भएको छ । यसबाट मात्रै सरकारले ३ खर्ब ४ अर्ब ४ करोड रुपैयाँ राजस्व उठाएको छ । यो आयातमा २१ अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको छ ।

त्यस्तै, २७ अर्ब ८७ करोड मूल्यबराबरको आइरन प्लेटको आयातबाट ३ अर्ब ८१ करोड तथा १७ अर्ब ९५ करोड रुपैयाँबराबरको कोइलाबाट ३ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

गलैंचा र अलैंची निर्यात बढ्दो
नेपालबाट सबैभन्दा धेरै गलैंचा निर्यात भएको छ । भन्सार विभागको ९ महिनाको तथ्यांकनुसार सबैभन्दा धेरै अर्थात् ७ अर्ब १ करोड ७९ लाख ९४ हजार रुपैयाँको गलैंचा निर्यात भएको छ । यसैगरी, ६ अर्ब २८ करोड ३१ लाख ४० हजारको अलैंची निर्यात भएको तथ्यांक छ । ५ अर्ब ५४ करोड ३४ लाख १९ हजार रुपैयाँबराबरको फलाम र २ अर्ब ९० करोड ६९ लाख २० हजार रुपैयाँको धागो नेपालबाट निर्यात भएको भन्सार विभागले जनाएको छ । यस्तै, रेजर वा ब्लेड १ अर्ब ५३ करोड २७ लाख ७३ लाख, ब्लिच ५ अर्ब ७ करोड २३ लाख, चिया २ अर्ब ३४ करोड ४ लाख, सल वा मफलर २ अर्ब २२ करोड ५७ लाख र कपडाको झोला १ अर्ब ८० करोड २५ लाख रुपैयाँबराबरको निर्यात भएको छ ।

सबैभन्दा ठूलो भन्सार वीरगन्ज
९ महिनामा सबैभन्दा बढी कारोबार भएको भन्सारका रूपमा वीरगन्ज रहेको छ । त्यसपछि क्रमशः भैरहवा, सुक्खा बन्दरगाह, विराटनगर, त्रिभुवन विमानस्थल भन्सार, नेपालगन्ज, रसुवा मेची, तातोपानी, कैलाली, कृष्णनगार जलेश्वर, सर्लाही रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जित्ने र हार्ने दुवै विजय उत्सवमा