फर्केर हेर्दा : ‘महाउत्सव’को त्यो दिन

२२ वर्ष पत्तै नपाई बितेछ । सम्झिँदा पनि आनन्द लाग्छ । नगन्य यातायतले छुँदै गरेको त्यतिबेलाको ललितपुर चापागाउँ ‘दुर्गम’जस्तै थियो ।

लगनखेलसम्म पुग्न पनि एकदिनको काम माया मार्नुपर्ने अवस्था । त्यही परिवेशमा स्थानीयस्तरमा हुर्कंदै थियो, बाल कला समूह । स–साना नृत्य–चित्रकलाप्रेमी संलग्न थिए, समूहमा ।

चैते पूर्णिामाका दिन प्रसिद्ध बज्रबारही मन्दिरमा भव्य जात्रा लाग्छ । ‘फुच्चे समूह’ जात्रालक्षित नृत्य तथा चित्रकला क्रियाकलापमा जुटिहाल्थ्यो । जोश, उमंग र केही गर्नुपर्छ भन्ने उत्साह थियो, जुन अघापि छँदै छ ।

सुरेम देसार

स्थानीय ‘वखाः डबली’मा साँस्कृतिक कार्यक्रम हुन्थ्यो । त्यहाँ पनि उत्साहपूर्वक सहभागी हुन्थ्यौं । स्थानीयस्तरका कुनै पनि अवसर हामीबाट ‘मिस’ हुन्नथ्यो ।

अझ प्रत्येक वर्ष विजया दशमीमा धार्मिक वन बज्रबाराही परिसरमा सामूहिक चित्रकला प्रदर्शनी नै सुरु ग¥यौं । कोरोना कहरका कारण गत वर्ष प्रदर्शनी हुन नपाए पनि यो शृंखला जारी छ ।

चापागाउँको स्थानीय नेवार बस्ती स्वयंमा संग्रहालय हो । जसले जो–कोहीलाई मोहित नपारी राख्दैन । सायद, हामीजस्ता काँचा माटोलाई पनि यही मौलिक सुन्दरताले लोभ्याएको हुनसक्छ ।

सुरुताका बाल कला समूहमा मलगायत दिलकुमार देशार, नरेन्द्र देशार, सुरेन्द्र देशार, केशरी पुटुवार थिए । समूह गठन भएकै वर्ष २०५५ मा रातभर जंगलमै बसेर प्रथम प्रदर्शनी तयारी गरेका थियौं ।

बिहानै दशमीका दिन चित्रकला प्रदर्शनी गर्न पाउँदा हामी कम्ता आलादित भएनौं । खुसीको सीमै थिएन । त्यो दिन हाम्रा लागि ‘महाउत्सव’ नै थियो । बज्रबाराही जंगलको ‘खुल्ला संग्रहालय’मा सामूहिक चित्रकला प्रदर्शनी गर्न थालेको पनि २२ वर्ष भइसकेको रहेछ ।

२०५५ सालअघि चापागाउँमा नगण्य कला गतिविधि हुन्थे । कलासम्बन्धी कुनै संस्था थिएनन् । राम्रा कलाकार थिए । तर, उनीहरूले पारिवारिक कारण कलालाई निरन्तरता दिन सकेनन् । यद्यपि, स्थानीयस्तरमा कला विजारोपण उनीहरूबाटै भएकामा भने शंका गर्ने ठाउँ छैन ।

चापागाउँका अग्रणी ललित कलाकार कृष्णहरि देशार, नन्दबहादुर देशार ‘अर्जुन’, धु्रव देशार, सुनन्द मेहर कायस्थलगायत छन् । उनीहरूकै कारण आज स्थानीय युवापुस्ताका कलाकारले शिर उठाउने अवसर पाएका हुन् ।

चित्रकला गहन विषय हो । जिविकोपार्जनको दृष्टिकोणले यो क्षेत्रमा निरन्तरता दिइरहन अझै पनि कठिन अवस्था छ ।
२०५५ अघि स्थानीय तवरमा संस्थागत कला गतिविधि नभए पनि व्यक्तिगत सक्रियता भने थियो । यहाँ साइनबोर्ड लेखनबाट पनि कला क्षेत्रमा समर्पित थुप्रै स्रष्टा छन् । प्रतिभा भएर पनि राष्ट्रियस्तरमा प्रदर्शनी गर्न नसकेका कारण ओझेल पर्न बाध्य छन् ।

एसएलसीपछि उच्चशिक्षाका लागि काठमाडौंका ललितकला क्याम्पस धाउन थालेपछि चापागाउँको कला विकासक्रम मौलाउँदै गएको अनुभूत हुन्छ ।

ललितकला नै पढेर मुख्य पेशा बनाउने स्थानीय कलाकारमा अजय देशार, अनिल महर्जन, दिलकुमार देशार, राजेन्द्र देशार, सृष्टि महर्जन, सुशान्त मेहर कायस्थलगायत पर्छन् । उनीहरूका कला राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुगिसकेका छन् । २२ वर्षअघिको त्यही बाल कला समूह अहिले वादे कला स्टुडियोसम्म आइपुग्द निकै परिस्कृत भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक्लै चुनाव लड्न काँग्रेसलाई कार्यकर्ताको दबाब