माता, मातातीर्थ र मातृभूमि

ममताकी खानी महामहिम आमाप्रतिको स्नेहसम्बधी जानकारीलाई प्रस्तुत गर्ने जमर्को गरिएको छ । हाम्रो जस्तो धर्म र संस्कृतिको बाहुल्यता रहेको राष्ट्रमा हरेक तिथि, चाडपर्वको आफ्नै प्रकारको मौलिक विशेषता देखिन्छ । यसरी हेर्दा हरेक तिथिले एउटा न एउटा महत्व बोकेको पाइन्छ । जुनसुकै समाज, राष्ट्रका लागि जातीय र राष्ट्रिय स्वाभिमानका लागि प्राचीन इतिहास, परम्परा, धर्म र संस्कृति चाहिन्छ । यो बिना समाज र मुलुकको कुनै औचित्य रहँदैन । यसरी हिन्दू धर्म र संस्कृतिनुसार वैशाख कृष्ण औंसी तिथिलाई मातातीर्थ औंसी वा आमाको मुख हेर्ने दिनका रूपमा मनाइन्छ ।

मूलतः शास्त्रमा बुबाभन्दा आमा १० गुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ । ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ । त्यसपछि मात्र ‘पितृदेवो भवः, आचार्यदेवो भव’ भनिन्छ । यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ । त्यसैगरी, हाम्रो धर्म दर्शनले आमाबुबालाई साथै गुरुलाई पनि स्वयं तीर्थकै प्रतिरूप मानेको छ । यसमध्ये आमालाई गंगा नामक तीर्थ भनेको छ भने बुबालाई पुष्कर तीर्थ र गुरुलाई केदार तीर्थ मानेको छ । त्यसकारणले गर्दा मातातीर्थ औंसी भनेको हरेका व्यक्तिको एक महत्वपूर्ण पर्व हो ।

मातातीर्थ पर्वको प्रथा कुन बेलादेखि चलेको हो भन्ने विषयमा एउटा किंवदन्ती पनि छ । धेरै वर्षअघि थानकोटनजिकै एउटा चउर थियो । त्यहाँ दिनदिनै एक बथान गोठालाले आफ्ना गाईबस्तु चराउने गर्थे । एक दिन अचानक एक जना गोठालाले फ्याँकेको रोटीका टुक्राहरू बिलाएर गयो, त्यसले धेरैपटक रोटीका टुक्राहरू फ्याँक्दा पनि प्रत्येकपटक बिलाएर गएकाले त्यस कार्यको अनुसरण गरी अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँक्न थाले । यसरी रोटीका टुक्रा फाल्दा आफ्नी आमाको मृत्यु भइसकेका गोठालाहरूले फ्याँकेका रोटीका टुक्राहरू बिलाए भने आफ्नी आमा जीवित रहेका गोठालाहरूले फ्याँकेका रोटीका टुक्राहरू बिलाएनन् । त्यही एक दिन मात्र भएको र भोलिपल्टदेखि नदेखिएको प्रकारको घटना वैशाख कृष्णपक्ष औंसीको दिन भएको थियो ।

हामीमध्ये झुक्किएर पनि आफ्ना बुबाआमालाई वृद्धाश्रममा राख्ने कोसिस नगरौं

त्यसकारण त्यस दिनदेखि सो स्थानको महत्व बुझी त्यस ठाउँमा वैशाख कृष्णपक्ष औंसीका दिन मृत आमाहरू आएर आ–आफ्ना छोराछोरीहरूको हातबाट प्रदान गरिएका खाद्यवस्तुहरू ग्रहण गर्ने ठाउँ रहेछ भनी विचार गर्न थालियो । अनि त्यसै स्थानमा मानिसहरूले एउटा कुण्ड बनाई मातातीर्थ नामकरण गरेर बर्सेनि मातृ दिवस मनाउन थाले । सो कुण्डमा आफ्नै दिवंगत आमाको छाया पनि देख्न सकिन्छ भन्ने जनविश्वास पनि रहेकाले सो कुण्डमा प्रत्येक वर्ष आजकै दिन घुइँचो लाग्छ । आमाको मुख हेर्ने दिनका रूपमा परिचित यस दिनमा आमा हुने छोराछोरीले आमालाई स्वादिष्ट व्यञ्जन, कपडा, सगुन उपहार दिई दर्शन गर्छन् भने आमा नहुनेले तर्पण, सिदा दिई श्राद्ध गर्छन् ।

आमाले हामीलाई यस धर्तीमा ल्याइन्, हुर्काइन्, पढाइन्, लेखाइन् र योग्य नागरिक बनाइनन्, उनीभन्दा ठूलो तीर्थ हाम्रा लागि अरू केही हुन पनि सक्दैन । सन्तानले जति नै दुःख दिए पनि उनी कहिल्यै पनि कुभलो चाहँदिनन्, हरबखत कुनै परवाह नराखीकन उनी हरहमेशा निःस्वार्थ भावले आफ्नो सन्तानको उद्धार मात्र चाहन्छिन्, भलाई चाहन्छिन् । आधुनिक युगमा मात्र होइन प्राचीन युगमा पनि आफ्नी आमासरह मातृभूमिलाई पनि पवित्र मानिएको छ । जस्तै– संस्कृत भाषाको एक उक्ति छ –‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् आमा र जन्मभूमि भनेको स्वर्गभन्दा पनि ठूला हुन् । त्यसैले, हामी आफ्नी आमालाई जस्तै आदर र सम्मान गर्छौं, त्यस्तै आफ्नो मातृभूमिलाई पनि आदर सम्मान र माया गर्नुपर्छ र मातृभूमिको हित हुने कार्यमा लाग्नुपर्छ । हाम्रो शास्त्रमा के उल्लेख छ भने आमालाई राम्ररी खुसी पार्नेको दरसन्तानको समेत कल्याण हुने उल्लेख गरिएको पाइन्छ । त्यसैगरी, आमा मरिसकेका छोराछोरीले चाहिँ आमाको सम्झनामा विभिन्न धार्मिक अनुष्ठानहरू गर्ने चलन छ । यस दिन आमा स्वर्गारोहण भइसकेका छोराछोरीहरू आफ्नो जन्म दिने आमाको सम्झना गर्दै विभिन्न किसिमका पवित्र तीर्थमा स्नान गरी श्राद्धसमेत गर्ने गर्छन् । आमा नहुने छोराछोरीले नुहाएर पवित्र भई सीधा दान गर्छन् । साथै, स्वर्गीय आमाको आत्माले शान्ति पाओस् भनेर देवीदेवताको मन्दिरमा गई आमाको सम्झनामा धूपदीप बाली पूजाआजा गर्ने चलन छ ।

आमाकै विशेष स्नेह र लालन–पालनमा हामी हुर्किएका हुन्छौं । त्यसैले, यस दिनलाई बडो धूमधामसँग आमाको सम्झना र मंगलमय कामना गर्दै मनाइन्छ । आमा जननी हुन् । आमाको त्याग, तपस्या तथा मायाको उदाहरण पृथ्वीमा अर्को पाइत्र । हामीलाई सास फेर्न सम्भव बनाउने व्यक्ति आमा करुणाकी मूर्ति हुन् । आमाको करुणाभावले नै सन्तानको जीवन उद्धार भएकोे हुन्छ । सन्तानकोे भावनात्मक शक्ति तथा आत्मबल बलियो र स्थिर बनाइराख्ने शक्ति आमामा हुन्छ । आमाले आफ्ना सन्तान हुर्किसक्दा पनि उनीहरूका हरकुरामा चासो र ख्याल राखेकी हुन्छिन् । कति सार्थक छ– आमाको जुनी !

आमाको करुणाभावले सन्तानको जीवनोद्धार भई आत्मबल प्राप्त हुँदा जीवन स्थिर हुन्छ

यसर्थ, सृष्टिकर्ता नारीले शिशु जन्माएको अवसर दुनियाँमा सबैभन्दा ठूलो हो । तर, के हामीले आफ्नी आमालाई उहाँले हामीलाई जन्म दिँदाको समयमा के–कस्तो अनुभव गर्नुभयो ? भत्रे सामान्य कुरा कहिल्यै सोधेका छौं ? सन्तान जन्म दिँदा भोगेका सुख–दुःखका अनुभवले महिलाको मनमा दूरगामी असर पारेको हुन्छ । धेरै आमाले पहिलो बच्चा जन्माएपछि अब अर्को बच्चा पाउन नपरोस् भत्रे दुःखपूर्ण अभिव्यक्ति दिएका छैनन् । आमा हुनेहरू वा नहुनेहरूले पनि यस पर्वलाई परम्परागत रूपमा आफ्नो संस्कृतिको एक प्रमुख अंगका रूपमा मनाउने प्रचलन चलिआएको छ । त्यसैले, यस पर्वसँग धार्मिक आस्था मात्र गाँसिएको नभई भावनात्मक सम्बन्ध पनि गाँसिएको हुन्छ । यही प्रेम, आस्था र श्रद्धालाई प्रत्येक व्यक्तिले आफ्नी आमाप्रति दर्शाइनुपर्ने भाव भक्तिका रूपमा आजको यस दिनलाई मनाउनुको प्रमुख सामाजिक विशेषता नै हो ।

अन्त्यमा भन्नुपर्दा हाम्रो समाजले माता, पिता र गुरुलाई सम्मान गर्नकै लागि भए पनि हरेक वर्षमा एक दिन पर्वकै रूपमा यी दिनलाई अघि सारेर सोको गरिमा झन बढाएको पाइन्छ । मातृऔंसी, कुशेऔंसी र गुरुपूर्णिमा, यसको मतलव यो होइन कि वर्षको एक दिन उनीहरूप्रति श्रद्धा र सम्मान प्रकट गर्ने अनि बाँकी दिनहरूमा कुनै वास्ता नगर्ने होइन । यसर्थ, मानव जातिको अस्तित्व जोगाउन र प्रकृतिलाई चलायमान बनाउन पनि आमाकै भूमिका अहम् रहिआएको छ । त्यसकारण स्वदेश या विदेश जहाँ रहे तापनि जति टाढा नजिक हुन नसके पनि आमाप्रति माया र सम्मान सायदै मानिसको जीवनमा असीमित र अतुलनीय हुन्छ । तसर्थ, आमा शब्द नै सन्तानका लागि अति प्रिय छ । आमाप्रतिको आस्थालाई हामीले जगाइराखौं । फलतः हामीमध्ये कसैले पनि झुक्किएर पनि वृद्धाश्रममा आफ्ना बुबा आमालाई राख्ने कोसिस नगरौं । त्यस्तैगरी, वर्षको एक दिन अर्थात् सामाजिक सञ्जालमा आजकै दिन आमाको फोटो राखेर सम्झिनुभन्दा आफ्ना सफलताका प्रत्येक पलमा आमाको ममतामयी स्पर्श, स्नेह, त्याग, संघर्ष आदिको स्मृति गरौं । यो नै आमाप्रतिको सन्तानको सच्चा सम्मान हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा कांग्रेसले खोल्यो खाता