नौ महिनामा वाणिज्य बैंकको नाफा ५१ अर्ब

काठमाडौं । २७ वटा वाणिज्य बैंकले गत साउनदेखि चैतसम्मको अवधिमा ५० अर्ब ७४ करोड नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ९ महिनामा ४५ अर्ब २५ करोड खुद नाफा कमाएका वाणिज्य बैंकले कोभिडका बाबजुद पनि ५ अर्ब बढी नाफा कमाएका हुन् ।

लकडाउन र कोभिडका कारण गत असोजसम्म समस्यामा रहेका वाणिज्य बैंकले कात्तिकबाट भने आक्रामक रूपमा कर्जा विस्तार गर्दै लगानी बढाएका थिए । नाफाका आधारमा नबिल बैंकले सबैलाई जितेको छ । नबिलले ९ महिनामै ३ अर्ब ६७ करोड रूपैयाँ खुद नाफा कमाएको छ । नबिलसँगै ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य र एनआईसी एसिया ३ अर्ब बढी कमाउनेमा परेका छन् ।

२७ मध्ये ६ बैंकको भने नाफा घटेको छ । एभरेस्ट, हिमालयन, स्टान्डर्ड चार्टर्ड, एनसीसी, एसबीआई र सेन्चुरीको नाफा घटेको हो । वृद्धिदरका आधारमा एनएमबी सबै अगाडि छ । बैंकले ८८ प्रतिशत नाफा बढेको विवरण देखाएको छ । घट्नेमा सेन्चुरी बैंकको सबैभन्दा धेरै ६१ प्रतिशत घटेको छ ।

नेपाल राष्ट्र बैंकले ऋणीलाई भनेर दिएको सहुलियतका कारणले पनि बढी कर्जा बाहिरिँदा वाणिज्य बैंकले कोभिडका बाबजुद पनि नाफा कमाएका हुन् ।
सरकारले कोभिड प्रभावित उद्योगी–व्यवसायीलाई सावाँ तथा ब्याज भुक्तानीका लागि कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने र तिर्ने अवधि पनि थप दिइएको थियो ।

ऋणीले समयमै तिर्न नसकेको कतिपय सावाँ तथा ब्याजलाई पुँजीकृत गरिएकाले र केही पुनर्तालिकीकरण गरिएकाले नाफा बढेको ठम्याइ बंैकर्सको छ । ऋणीलाई चालू पुँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म र आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको थियो ।

आर्थिक वर्ष २०७६÷७७ को चैत मसान्तसम्म २७ बैंकहरूले कुल २८ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा चालू आवकोे चैत मसान्तसम्ममा ३५ खर्ब ७३ अर्ब कर्जा प्रवाह गरेका छन् । समग्रमा एक वर्षमा २५ प्रतिशतले कर्जा बढेको छ । निक्षेपभन्दा पनि कर्जाको वृद्धिदर बढेकाले नाफा बढेको हो ।

बैंकहरूले निक्षेपमा ग्राहकलाई दिने ब्याजदर घटाएकाले खुद ब्याज आम्दानी बढ्न गई नाफा वृद्धि भएको बुुझाइ बैंकर्सको छ । यस अवधिमा नेपाल एसबीआई बैंक, सानिमा, सेन्चुरी कमर्सियल बैंकको भने यस्तो आम्दानी सबैभन्दा कम छ ।

बैंकहरूको लाभांश वितरण गर्ने क्षमता पनि औसतमा ११ प्रतिशत देखिएको छ । यद्यपि नबिल बैंक, एनएमबी बैंक र प्राइम बैंकको यो दर उच्च छ । यी बैंकको यस्तो दर क्रमशः २८, १३ र १३ प्रतिशत छ । चैतसम्म कायम चुक्ता पुँजीका आधारमा यो प्रतिफल दर देखिएको हो ।

९ महिनामा नबिल बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएको छ । यो बैंकले अघिल्लो आवमा ३ अर्ब १५ करोड रुपैयाँ कमाएको थियो । ग्लोबल आईएमईले चालू आवको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ५७ करोड नाफा कमाएको छ । अघिल्लो आवमा २ अर्ब ७० करोड मात्र थियो ।

गत आवमा ३ अर्ब ३ करोड रुपैयाँ कमाएको राष्ट्रिय वाणिज्यले यसपालि ३ अर्ब २७ करोड कमाएको छ ।

गत वर्ष अढाइ अर्ब मात्र कमाएको एनआईसी एसियाले यसपालि ३ अर्ब नाफा कमाएको छ । गत वर्ष अढाइ अर्ब नाफा कमाएको इन्भेस्टमेन्ट बैंकले चालू आवमा २ अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

प्राइम कमर्सियलले गत वर्ष २ अर्ब ३ करोड कमाउँदा यसपालि २ अर्ब ८१ करोड कमाएको छ । गत वर्ष १ अर्ब ३३ करोडमा सीमित भएको. एनएमबीले यस वर्ष २ अर्ब ५१ करोड कमाएको छ ।

नेपाल बैंकको भने नाफा २ अर्ब २६ करोड भएको छ । अघिल्लो आवमा सो बैंकले १ अर्ब ९९ करोड नाफा कमाएको थियो । गत वर्ष १ अर्ब ४६ करोडको नाफामा सीमित भएको प्रभु बैंकले २ अर्ब १० करोड ९ महिनामा नाफा कमाएको छ । यसैगरी, कृषि विकास बैंकले गत वर्षभन्दा ३ करोड बढी अर्थात् २ अर्ब ७ करोड नाफा कमाएको छ ।
नौ महिनामा सिद्धार्थ बैंकले २ अर्ब ६ करोड, मेगाले १ अर्ब ९७ करोड सानिमाले १ अर्ब ८५ करोड, कुमारीले १ अर्ब ८० करोड, नेपाल बंगलादेशले १ अर्ब ६३ करोड र सिटिजन्स बैंकले १ अर्ब ५४ करोड नाफा कमाएको छ ।

एभरेस्ट बैंकको भने गत वर्षको तुलनामा ८५ करोड नाफा कम भएको छ । उसले चालू आवमा १ अर्ब ५० करोड नाफा कमाएको छ भने गत वर्ष उसको नाफा २ अर्ब ३५ करोड थियो ।

त्यस्तै, माछापुच्छे« बैंकले भने १ अर्ब २९ करोड कमाएको छ । हिमालयन बैंकले गत वर्षभन्दा ३ करोड कम अर्थात् १ अर्ब २८ करोड नाफा कमाउँदा लक्ष्मी बैंक १ अर्ब २८ करोडमा सीमित भएको छ ।

गत वर्ष १ अर्ब ८० करोड नाफा कमाएको स्टान्डर्ड चार्टड बैंक यसपालि १ अर्ब १८ करोडमा सीमित भएको छ । गत वर्ष ८७ करोड मात्र कमाएको बीओके यसपालि १ अर्ब १६ करोड नाफा कमाउन सफल भएको छ ।

नौ महिनामा सनराइजले १ अर्ब १३ करोड, एनसीसीले १ अर्ब १० करोड, एसबीआईले ८७ करोड, सिभिलले ५० करोड र सेन्चुरीले ३५ करोड नाफा कमाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी