काठमाडौंको फोहोर व्यवस्थापनमा सकस

काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन थालिएको छ । आइतबारदेखि फोहोर उठाउन थालिए पनि थरीथरीका समस्या र ठाउँठाउँमा सिर्जना भएको अवरोधले फोहोर बोकेका एउटा पनि ट्रक ल्यान्डफिल्ड साइट पुग्न सकेका छैनन् ।

काठमाडौंको फोहोर व्यवस्थापन गर्न फोहोर बोकेका ट्रकलाई आइतबार काठमाडौं तारकेश्वर नगरपालिका–३ का स्थानीयले नै अवरोध गरे । खानेपानीको मुहानमा फोहोर फालेको भन्दै गाडी रोकेपछि बन्चरेडाँडा गएको गाडी बाटैमा रोकिए ।

फोहोर फाल्नेहरूलाई कारबाही गर्न माग गर्दै सडक अवरुद्ध गरेपछि काठमाडौंबाट फोहोर लिएर गएका टिपर बन्चरेडाँडा जान रोकिएका थिए । फोहोर हटाउने र जनप्रतिनिधि तथा प्रहरीको सक्रियतामा फोहोर फाल्ने चालकको पहिचान गरी कारबाही प्रक्रिया अगाडि बढेपछि अवरोध हट्यो ।

बाटैमा अड्किए सय ट्रक, थरीथरीका समस्या, ठाउँठाउँमा अवरोध

काठमाडौंको अवरोध हटे पनि लगत्तै ककनी गाउँपालिकास्थित कागती गाउँमा गाडीको ठक्करबाट बाख्रा मरेको भन्दै आइतबार नै फेरि अवरोध सिर्जना भयो । बाख्राको क्षतिपूर्ति दिने सहमतिपछि सो ठाउँको अवरोध हटे पनि फोहोर बोकेका ट्रकबीच बाटैमा रोकिएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बन्चरेडाँडामा स्काभेटर नभई फोहोर फाल्न नसक्ने अवस्था रहेको र सोमबार बिहान मात्र स्काभेटर पुगेपछि फोहोर विसर्जन थालिने बताए । उनका अनुसार फोहोर बोकेका १ सयवटा टिपर अहिले बाटोमा नै रोकिएका छन् ।

स्काभेटर पुगेपछि फोहोर विसर्जन सुरु गरिने महानगरपालिकाले जनाएपछि सोमबार फोहोर बोकेका गाडी बन्चरेडाँडा पुग्न सक्नेमा भने अझै शंका बाँकी नै छन् ।

धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बन्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेपछि समस्या बढ्ने देखिएको हो ।

उनीहरूले स्थानीय बासिन्दाले उचित माग राख्दै विभिन्न समयमा गरेको आन्दोलनपश्चात् काठमाडौं महानगरलगायत राज्यको विभिन्न अंगसँग पटकपटक गरेर अहिलेसम्म १ सय ७४ वटा सहमति भए पनि कार्यान्वयन नभएको जनाएका छन् । विगत १७ वर्षदेखि काठमाडौंको फोहोर अव्यवस्थित तरिकाबाट फाल्दा स्थानीय बासिन्दाको जनजीवन अत्यन्तै कष्टकर बन्नुका साथै दीर्घरोगले पीडित बनाएको समेत उनीहरूको भनाइ छ ।

काठमाडौं महानगरका प्रवक्ता मानन्धरले तीन दलको विषयमा महानगरसँग आधिकारिक कुनै पत्र तथा जानकारी नआएको बताए । ‘स्काभेटर पुगेपछि सोमबारदेखि बन्चरेडाँडामा फोहोर फाल्न थालिन्छ, अहिलेसम्म अवरोध केही आएको छैन, भोलि (सोमबार) के हुन्छ भन्न सकिन्न,’ उनले भने ।

मेयर साहको आपत्ति : फोहोरमा कुहिएको खेल नखेलाैं
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै असन्तुष्टि जनाएका छन् । तीन दलको विज्ञप्ति सामाजिक सञ्जाल फेसबुकमा राख्दै उनले फोहोरमाथि कुहिएको खेल खेलिएको टिप्पणी गरेका छन् । काग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका स्थानीय नेताप्रति बालेनले आक्रोश पोखेका छन् । सत्तारूढ गठबन्धनका तीन दलले फोहोर फाल्न नदिने बताएपछि उनीहरूप्रति मेयर बालेन आक्रोशित बनेका हुन् ।

उनले एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग र असफल पार्ने प्रयास किन गरिन्छ ? भन्ने प्रश्न पनि गरेका छन् । ‘एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौं ? फोहोरको रास लगाएर त्योभित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऔं,’ उनले भनेका छन् ।

उनले बन्चरे डाँडामा फोहोर व्यवस्थापनका लागि कतिपय संरचना बनिसकेको जनाउँदै भूमि लिन तथा संरचना निर्माणमा र प्रभावितले पाउने सुविधा तथा मुअब्जाजस्ता काममा ५ अर्ब खर्च भइसकेको समेत उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 280 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरीबन्धु टि–इस्टेटको सर्वोच्चको फैसलाप्रति एमाले अध्यक्ष ओली रुष्ट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता को कहाँबाट मतदान गर्दै ?