मौन अवधिको सम्मान गर्दै…

भोलि १५ वैशाख शनिबारका दिन इलाम क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि बहुचर्चित उपनिर्वाचन हुँदै छ । मौन अवधि चालू छ । कुनै उम्मेदवार वा दलका पक्ष वा विपक्षमा कुनैखाले प्रचार अथवा अभिव्यक्ति दिन बन्देज छ । तर, मौन अवधि साँच्चिकै मौन रहोस् भनेर कामना त गर्न पाइन्छ नै होला । मौन अवधि सुरु भएदेखि यी पंक्तिहरू पाठकहरूले पढिरहँदासम्म साँच्चिकैको कति मौन रहे ? त्यसको सही मूल्यांकन त त्यस क्षेत्रकै मतदाताले गरिरहेका होलान् । विभिन्न पक्षको सक्रियताले आफूहरू कति प्रभावित भइयो भन्ने पनि सम्बन्धित मतदाताले नै खुट्याउने विषय हो । अब आउने रात त भयानक हुन पनि सक्छ । भनिन्छ मतदानको अघिल्लो रात ‘कत्ल कि रात’ हुने गर्छ । कुनै हिंस्रक सिकारीहरू मतदाताको घरदैलो चहार्दै त छैनन् ? आफ्नो घरदैलो अनि मतको सुरक्षाका लागि तपाईंले यथोचित सुरक्षा प्रणाली अँगाल्नुभएको छ ? सबैभन्दा डरलाग्दो कुरो त शान्ति सुरक्षाको जिम्मा पाएको अंगका तालुकवाला नै यस निर्वाचनको एक पक्ष छन् । कतै उनी ‘शान्ति सुरक्षा कायम गर्न र मौन अवधिको पवित्रता कायम गर्न’ अत्यधिक सक्रिय त छैनन् ? निर्वाचन आयोगले विशेष ध्यान देओस् !

लोकतन्त्रमा निर्वाचनहरूमा कसैले जित्छ र कसैले हार्छ । जित–हार एक स्वाभाविक प्रक्रिया हो । कसैले धेरै मत ल्याउँछ र कसैले अत्यन्तै थोरै ! यो पनि स्वाभाविक हो । विद्यमान व्यवस्थाअनुरूप सबैले परिणाम स्विकार्नुपर्छ । तर, जसले जति मत ल्याए पनि त्यसको अर्थ हुन्छ । कुनै उम्मेदवारले एक मत मात्र प्राप्त गरे पनि त्यसको महत्व हुन्छ । त्यो एक मत पनि जनताको अभिव्यक्तिको प्रकटीकरण हो । हामी यहाँ निर्वाचनलाई प्रभावित पार्ने प्रयास गर्दै छैनौं । मौन अवधिको पवित्रताको पूरा सम्मान गर्दै छौं । मौन अवधि, मतदान र मतगणना सम्पन्न भएपश्चात् प्रत्येक उम्मेदवारले केही मत अवश्य प्राप्त गर्नेछन् । ती प्रत्येक मतको अर्थ र सन्देश हुन्छ । आज हामी पर्यवेक्षकहरूका दृष्टिमा उल्लेखनीय चार उम्मेदवारहरूले प्राप्त गर्ने मतले दिने सन्देशका ’boutमा केही भन्न गइरहेका छौं । कसले कति मत प्राप्त गर्छ वा को विजयी हुन्छ भन्ने आँकलन गर्न गइरहेका छैनौं ।

नेकपा एमालेका तर्फबाट स्वर्गीय सुभाषचन्द्र नेम्वाङका सुपुत्र सुहाङ नेम्वाङ उम्मेदवार छन् । सुहाङ शिक्षित र युवा छन् तथा मृदुभाषी एवं नम्र छन् । तर, उनको नेपालको राजनीति वा एमाले पार्टीमा कुनै योगदान छैन । उनी एक पुत्रले पिताको पैतृक सम्पत्तिमा अधिकार पाउने शैलीमा नै पिताको रिक्त पदमा उम्मेदवार बन्न आएका छन् । एक पुत्रले पिताको निजी सम्पत्तिमा त उत्तराधिकार पाउँछ, तर स्वतः राजनीतिक उत्तराधिकार पाउँछ कि पाउँदैन भन्ने प्रश्न तेर्सिन्छ । इलाम क्षेत्र नं. २ नेकपा एमाले अत्यन्तै बलियो आधारभूमि हो । त्यहाँ पार्टीको संगठन एकदमै मजबुत छ । सुहाङ नेम्वाङले पाउने प्रत्येक मत एमाले संगठनको अविचलित आधारका भरमा एक सुयोग्य पिताका आलाकाँचा केटाले पाउने अनुमोदनको प्रतीक हो । हेक्का रहोस्, एमालेलाई पहिचानविरोधीको पहिचान पनि आइपरेको छ । एमालेले यस निर्वाचनमा पाउने प्रत्येक मत उसको कहिल्यै नडगमगाउने आधार हो भनेर बुझ्नुपर्छ ।

कांग्रेसका उम्मेदवार डम्बर खड्काको मत पनि एक लोकतान्त्रिक दलका नाताले कांग्रेसले पाउने सुदृढ मत नै हो । यहाँचाहिँ डम्बर खड्काको विगतको सेवा आदि इत्यादि पनि जोडिएला । सम्भवतः कांग्रेसलाई पनि पहिचानविरोधिको ‘तक्मा’ आइपरेको छ । तर, कांग्रेसभित्र जातीय वा क्षेत्रीय पहिचानभन्दा माथि बृहत्तर ॐकार परिवारको सदस्य अर्थात् सनातनी पहिचान हुनुपर्छ भन्ने सोच झाँगिँदै गएको पृष्ठभूमिमा जति बेफाइदा भएको छ, त्यत्तिकै फाइदा हुने आँकलन पनि गरिँदै छ । यसपटक कांग्रेसमा रहने गरेको सदाबहार रोग ‘अन्तरघात’ नगन्य रहेको पनि बताइँदै छ । डम्बर खड्काको मतलाई पनि कांग्रेसको अविचलित मत मान्नु गलत नहोला ।

तेस्रो उम्मेदवार हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु । मिलनको व्यक्तिगत विगत त्यति आकर्षक छैन । विगतमा उग्र पहिचानवादी क्रान्तिकारीका रूपमा प्रस्तुत भएका मिलनको गएको एक महिनाभित्रका बोली र व्यवहारलाई हेर्दा र सुन्दा मतदाता अलमलिने अवस्था छ । उनले जति मत पाउँछन्, त्यो सबैजसो राष्ट्रिय स्वतन्त्र पार्टीको आकर्षण नै हो र राष्ट्रिय स्वतन्त्र पार्टीको सबै मत फगत त्यसका सभापति रवि लामिछानेको व्यक्तिगत आर्जन हो भन्दा अत्युक्ति नहोला । त्यस पार्टीभित्रका स्वनामधन्यदेखि लिएर ‘आशलाग्दा’ भनिएकासम्म सबै कसैको कुनै महŒव देखिन्न । सम्पूर्ण सद्गुण र अवगुणसहित समग्रमा रवि लामिछानेलाई आराध्य मान्ने जमातको मत नै रास्वपाको मत हो । मिलन लिम्बुले पाउने मतलाई रवि लामिछानेको कामुक व्यक्तित्व र मादक बोलीबाट स्थापित ‘लोकप्रिय’ रास्वपाको वर्तमान अवस्थाको अर्थमा बुझ्नु ठीक होला ।

अर्का उम्मेदवार डेकेन्द्र थेगिमको मतचाहिँ विशुद्ध जातीय पहिचान पक्षधरको मत हो । त्यसमा थोरै उम्मेदवारको पृष्ठभूमि र शालीनताले पनि काम गर्ला । डेकेन्द्रले पहिचानको नारा उचाल्दै गर्दा उनको विपक्षमा बृहत् सनातनी पहिचान पक्षधरहरू ध्रुवीकृत हुँदै गरेको सन्दर्भमा उनको पक्षमा पर्ने मतभन्दा विपक्षमा पर्ने सम्पूर्ण मतको अर्थ बुझ्न जरुरी हुन्छ ।

इलाम–२ लाई समग्र मुलुकको सानो ‘स्याम्पल’ मान्न सकिने अवस्था छ । त्यस क्षेत्रमा सहर, गाउँ, शिक्षित, अशिक्षित, जातपात र विविधताको राम्रो सम्मिश्रण छ र त्यसैकारण सायद समग्र नेपालका जनताको मनस्थिति प्रतिबिम्बित हुन्छ । त्यहाँ विभिन्न दल र उम्मेदवारले प्राप्त गर्ने मतलाई यसै अर्थमा बुझ्ने कि ?

पुनः दोह¥याइँदै छ– निर्वाचनलाई प्रभावित गर्ने प्रयास पटक्कै होइन, मौन अवधिको यथोचित सम्मान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दम्भले एमालेलाई घाटा