
राजालाई सिंहासनमा आरूढ गराउने, श्रीपेच लगाउने र नारायणहिटी दरबारमा प्रवेश गराउने अत्यन्तै महत्वाकांक्षी उद्देश्यका साथ सुरु गरिएको कथित आन्दोलनको राप र ताप अझै सकिएको छैन । तसर्थ, त्यही आन्दोलनकै कुरा गर्नैपर्ने भो । वास्तवमा इच्छा त पटक्कै थिएन । तर, सञ्चारकर्मी भएको नाताले घटित घटनाको मीमांसा गर्नैपर्ने हुन्छ । आज म ट्रेलर मात्र भनिएको २५ फागुणको शोभा यात्रा र १५ चैतको तीनकुनेको ताण्डव जात्राको घटनाको नालीबेली लगाउन गइरहेको छैन । त्यस’boutमा विभिन्न कोणबाट थरीथरीका समाचार र विश्लेषण इत्यादि आइसकेका छन् । आजचाहिँ घटनाभित्र लुकेका निहित उद्देश्य र यस घटनाले दिएको राजनीतिक सन्देशको एक पाटोका ’boutमा केही कोर्दै छु । हेक्का रहोस्, मैले ‘एक पाटो’ मात्र भनेको छु र त्यो पनि मेरो व्यक्तिगत समझले तयार गरेको पटकथा मात्र हो भन्दा फरक नपर्ला । यस्ता कुराको ठोस प्रमाण मजस्तो एक सामान्य व्यक्तिसँग हुने कुरै भएन । अकाट्य प्रमाण जुटाउने जिम्मेवारी अभियोजन पक्ष वा राज्य संयन्त्रको हो ।
विगत केही समयदेखि नै नेपालमा बंगलादेश र श्रीलंका मोडेल अनि त्यसखाले विद्रोहका कुरा सुनिन्थ्यो । नेताहरू भाग्नुपर्ने अथवा लखेटिने र शरण लिने ठाउँसम्म नपाउने भन्ने हुंकारहरू सुनिन्थे । १५ चैतको आन्दोलनका मुख्य कमान्डर भनिएका हाल फरार व्यक्तिले त सो दिनका लागि ५ सय जना ‘मर्न तयार’ व्यक्तिको लिस्ट तयार रहेको भन्दै सार्वजनिक रूपमै हुंकार भरेका थिए । ‘मर्न तयार’ जत्था भनेको त आत्मघाती दस्ता नै होला र मर्न तयारहरू मार्न पनि तम्तयार नै होलान् । आमरण अनसन गरेर मर्न तयार त पक्कै भएका होइनन् । हाल प्रहरी हिरासतमा रहेका त्यही कथित आन्दोलनका अर्का स्तम्भले तीनकुनेमा घर जल्दै गर्दा र आगो निभाउन आएको दमकलमाथि प्रहार हुँदै गर्दा क्यामेरामा आएर भनेका थिए, ‘यो रोकिँदैन, निरन्तर चल्नेछ ।’ उनी सार्वजनिक रूपमै आगजनी र वितण्डालाई प्रोत्साहन गर्दै थिए ।
गुप्त सूचना संकलन गर्ने ल्याकत राख्ने कतिपय व्यक्तिहरूबाट मैले व्यक्तिगत रूपमा पाएको सूचनाअनुसार १५ चैतको दिनका लागि बनाइएको योजना अकल्पनीय एवं भयंकर प्रकारको थियो । त्यस कार्ययोजनाले हासिल गर्न खोजेको भनिएको उद्देश्य त झनै अनौठो थियो । साँच्चै भन्ने हो भने गहनतम तार्किक विश्लेषण गर्दा पनि लक्षित उद्देश्य कमसे कम म वा मजस्ता सामान्य व्यक्तिका लागि पुरै मानसिक सन्तुलन गुमाएका व्यक्तिको सपनाजस्तो लाग्छ । म पुनः दोह¥याउँदै छु– यस्ता कुराको दस्तावेजीय अथवा ठोस प्रमाण मसँग हुने कुरै भएन । प्रमाण संकलन गर्ने काम राज्य संयन्त्रको हो । योजना कार्यान्वयनका लागि त्यस दिन कम्तीमा १ लाख मानिस तीनकुनेमा ओराल्ने रणनीति बनेको रहेछ । त्यस भीडमा तराई–मधेशतिर सक्रिय कुनै हतियारधारी आपराधिक समूहको सहयोग प्राप्त हुने पनि निश्चित गरिएको थियो । त्यत्रो ठूलो भीडमा ४–५ सय हतियारधारी समूहसमेत मिसिइसकेपछि ‘जे पनि’ गर्न सकिन्छ भन्ने विश्वास गरिएको रहेछ । योजनाअनुसार बानेश्वरको संसद् भवन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टाभित्र कब्जा गर्ने भन्ने रहेछ । यति भइसकेपछि मौजुदा नेताहरू भाग्न बाध्य हुनेछन् भन्ने आँकलन रहेछ । यसक्रममा नेपाली सेनाले ‘नेपाली दाजुभाइ नमार्ने’ नीतिअनुरूप मौन बस्छ भन्ने योजनाकारहरूको दृढ विश्वास थियो । यसरी बेलुकीसम्ममा ज्ञानेन्द्र शाहलाई राजाका रूपमा स्थापित गर्ने र अन्तरिम सरकार गठन गर्ने सम्मको तानाबुना बुनिएको थियो । यहाँसम्म कि त्यस सरकारमा सामेल हुने व्यक्तिहरूको चयन एवं मन्त्रालय बाँडफाँटसम्म गरिएको थियो रे ! सुन्दै अचम्म लाग्दैन ? मलाई त वास्तवमा अकल्पनीय एवं हाँस्यास्पद लाग्छ । त्यस दिन मानिस भने निकै थोरै जम्मा भए र कुनै हतियारधारी समूहको प्रत्यक्ष उपस्थिति पनि देखिएन । यो प्रशासनको चनाखोपनले हो वा कतैबाट ‘धोखा’ पो भयो कि ? तर, संसद् भवन र विमानस्थल कब्जा गर्ने कोसिस त भएकै हो । त्यसक्रममा आगजनी, लुटपाट र हिंसा फैलाउने भरमग्दुर प्रयास भएकै हो ।
योजनाअनुसार बानेश्वरको संसद् भवन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टाभित्र कब्जा गर्ने भन्ने रहेछ । यति भइसकेपछि मौजुदा नेताहरू भाग्न बाध्य हुनेछन् भन्ने आँकलन रहेछ
दन्त्यकथाजस्तो लाग्ने योजना कति साँचो हो र कुन हदसम्म गम्भीर हो ? त्यो त आधिकारिक अनुसन्धानबाटै पत्ता लाग्ला । तर, कथित कमान्डरहरूको व्यवहार, भनाइ र अनौठो आत्मविश्वास अनि त्यस दिन तीनकुने क्षेत्रमा घटित घटनाहरूका ’boutमा थोरै गहिरिएर सोच्ने हो भने निकै महत्वाकांक्षी योजना बुनिएको थियो भन्ने चाहिँ मान्नै पर्ने हुन्छ । अब प्रश्न उठ्छ यत्रो गजबको योजना वा ‘आन्दोलन’का मुख्य सूत्रधार वा नेता को थिए ? यो कथित आन्दोलनको मुख्य उद्देश्य त राजसंस्था पुनःस्थापना नै हो भन्ने कुरामा कुनै शंका रहेन । कथित कमान्डर, उपकमान्डर वा अभियन्ताहरूले वा समिति आदि इत्यादिले नै घोषणा गरेका छन् । अर्को शब्दमा भन्ने हो भने यस अभियानको मुख्य लाभार्थी पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह नै हुन् भन्न पटक्कै हिच्किचाउनुपर्ने अवस्था छैन । राजसंस्था पुनःस्थापना भएको भए राजा हुने त उनै थिए । अब यी मुख्य लाभार्थी महोदय यो कथित आन्दोलनको कुनै योजना आदिमा पटक्कै सम्मिलित छैनन् वा सहमत छैनन् भनेर कसले पत्याउला ? फेरि गत ७ फागुणको पूर्वसन्ध्यामा यिनले सार्वजनिक रूपमा ‘अब समय आयो’ भनेर गरेको आह्वान के भात खान वा चिया खान समय आयो भनेर गरेका हुन् र ? अनि २५ फागुनमा यिनी मन्द मुस्कानका साथ हात हल्लाउँदै ट्रेलर यात्रामा सम्मिलित भएका होइनन् र ? अनि भोलिपल्ट त्यत्रो वितण्डा मच्चाउने कमान्डर महोदयलाई अघिल्लो साँझ दर्शन भेट दिँदा निगाहपूर्वक क्षेमकुशल मात्र सोधनी भएको थियो कि ? सामान्य चेतना भएका जोकोहीले पनि यी सम्पूर्ण घटनाका मुख्य पात्र ज्ञानेन्द्र शाह नै हो भनेर मान्छन् । योजना बनाउने काम कथित कमान्डर सेनानीहरूले गरे होलान्, तर यिनको सहमतिमा र अन्तिम निर्देशनमा योजना बनेको छ र कार्यान्वयनमा ल्याइएको छ ।
त्यसो त ट्रेलरमा मात्र सहमति थियो फाइनल सिनेमाको पटकथाको जानकारी पनि थिएन र मेरो सहमति पनि थिएन भनेर कानुनको पञ्जाबाट उम्कन सक्छन् । साँच्चै भन्ने हो भने त्यस्तो प्रयास सुरु भइसकेको छ । १६ चैत बेलुकैबाट आफ्ना पुराना ‘भरोसा लायक’हरूमार्फत ‘मलाई किन मुछेको’ भन्दै याचना सन्देश सरकारका सञ्चालकहरूलाई पठाउन थालेकै हुन् । त्यसपछि कुनै कथित सचिवालयबाट आफ्नो कुनै संलग्नता नभएको भन्ने सूचना प्रवाह गर्दै छन् । त्यसो त, उनको कथित सचिवालयको सूचना सन्देशलाई पनि उनले ‘मैले त केही बोलेकै छैन’ भन्दै पुरै नंग्याउन पनि सक्छन् । विगतमा यिनका पुत्रले गायक प्रवीण गुरुङको हत्या गरेको तथ्य इतिहासमा स्थापित भइसकेको छ । तर, ज्ञानेन्द्र शाहले एक छद्म सवारीचालक खडा गरेर कानुनलाई झुक्याएका थिए र आफ्ना पुत्रलाई जोगाएका थिए । अहिले पनि ‘हामीलाई त केही थाहै भएन’ त भन्दै ‘ड्राइभर’ खडा गर्ने उपक्रम सुरु भइसकेको छ ।
तर, यसपटक पेच नराम्ररी फसेको छ । यदि, उनले ‘भर्पाइ मिलाएर’ वा ‘ड्राइभर खडा गरेर’ दोषमुक्त भए भने उनको राजनीतिक व्यक्तित्व पुरै स्खलित हुनेछ र राजनीतिक वैधता पुरै गुम्नेछ । उनका लागि ‘प्राणभन्दा प्यारो छ’ भनेर नारा लगाउने जमातले के सोच्ला ? जसका लागि ज्यान दाउमा लगाएर होमिँदै छ, त्यो व्यक्ति आफैंचाहिँ ‘म त केही जान्दिन, म नेता होइन’ भनेर पन्छिन्छ भने यी विचरा ! ‘क्रान्तिकारी’हरूले केका लागि जोश देखाउने ? ज्ञानेन्द्र शाहले राजा बन्ने होइन, सामान्य राजनीतिक व्यक्ति वा नेता बन्ने हैसियतसमेत गुमाउँदैनन् र ? १५ चैतपछि कथित राजावादी आन्दोलनमा देखिएको शिथिलता ज्ञानेन्द्र शाहको ‘ड्राइभर’ अगाडि सार्ने नीतिकै कारणले पो हो कि ?
सम्बन्धित समाचार











