पर्दाभित्र ‘बैनी शिक्षा’ अभियान

लमजुङ । उषा आचार्य अर्थात् विगतका २५ वर्षदेखि ‘बैनी शिक्षा’ अभियान सञ्चालन गरेर पनि गुमनाम रहेकी व्यक्तित्व । अभियानअन्तर्गत कक्षा–१ देखि ४ सम्म अध्ययन गरिरहेका बालिका छनोट गरी उनीहरूका लागि स्कुलमा अध्ययन गर्न लाग्ने सम्पूर्ण खर्च बेहोरेर गरी प्सल टुसम्म पढाउने काममा उनी जुटिरहेकी छन् । आजका दिनसम्म उनको यो कामबाट सयौं बालिकाले शिक्षा आर्जन गरी आत्मनिर्भर बन्न सकेका छन् । तर, त्यस कामको चर्चा भने कतै छैन । ‘काम गर्ने हो, प्रचार किन चाहियो ?’ उनी प्रश्न गर्छिन् ।

उषा आचार्य

उषा आचार्यले अमेरिकामा ‘लिटिल सिस्टर फन्ड’को साझेदारीमा नेपालमा ‘बैनी शिक्षा’ कार्यक्रम सञ्चालन गर्दैै आएकी छन् । यो अभियानबाट सयौं छोरीहरूले आफ्नो भविष्य उज्ज्वल बनाइसकेका छन् । सो कार्यक्रमअन्तर्गत प्लस टु गरेका दुई दर्जन बढीले पीएचडीसमेत गरिसकेको उषाले बताइन् ।

प्रजातन्त्र तथा विकास संस्थाका नामबाट उषा आचार्यले यो काम गरेकी हुन् । त्यस संस्थाको उनी निर्देशक हुन् । ‘उक्त संस्थाको मूल उद्देश्य ‘शिक्षाका लागि सशक्तीकरण’ कार्यक्रमले केटीहरूलाई शिक्षित गरेर र उनीहरूलाई सशक्त नेता बन्न सक्षम बनाएर अन्याय र गरिबीविरुद्ध लड्नु हो,’ उनले भनिन् ।

उनका अनुसार आर्थिक रूपमा विपन्न केटीहरूलाई दीर्घकालीन छात्रवृत्ति प्रदान गरेर, जोखिममा परेका केटीहरूलाई बाल यौनशोषण, बेचबिखन, बालविवाह र बालश्रमका खतराबाट प्रभावकारी रूपमा जोगाउनु संस्थाको थप उद्देश्य रहेको छ ।

उषाको कपाल फुलिसकेको छ । उमेरले पनि निवृत्त भएर आराम गर्नेबेला हो यो । तर, उनी आफूले जीवन परिवर्तनको सन्देश प्रवाह गरिरहेका ती किशोरी तथा युवतीलाई भेट्न आफंै संस्थाको पार्टनर स्कुलमा धाएर अनुभव सेयर गर्ने र अभियानबाट सुविधा पाएर अध्ययन गरिरहेका बालिकादेखि युवतीहरूको आत्मबल बढाउने काम गरिरहेकी छन् । अध्ययनका लागि सहयोग गरेका किशोरी तथा युवतीहरूलाई भेट्न लमजुङ आएकी उनले उनीहरूलाई देखाउँदै भनिन्, ‘यी सबै मेरा छोरी हुन्, यो आमा(आफू)भन्दा असल मान्छे बन, राम्रो काम गर, सक्दैनौ भने पनि म जत्तिको हुन सिक ।’

२५–२७ मन्त्रद्वारा किशोरी जागरण अभियान
किशोरी एवं युवतीहरूको जागरणका लागि ‘२५– २७ मन्त्र’का साथ आफ्नो संस्था क्रियाशील रहेको उषा आचार्यले जानकारी दिइन् । उनको सो संस्थामार्फत महिला सशक्तीकरणका लागि शिक्षा कार्यक्रमअन्तर्गत सयौंको संख्यामा महिलाले आफ्नो भविष्य उज्ज्वल बनाइरहेका छन् । जागरण अभियानको ‘२५– २७ मन्त्र’को अर्थ ‘२५ वर्र्षसम्म पढ्ने र आफ्नो प्रतिभा निखार्ने काम गर, आत्मनिर्भर बन, दायाँ बायाँ नसोच, २७ वर्ष र त्यसपछि इच्छा भए विवाह गर र आमा बन’ रहेको उनले जानकारी दिइन् ।

यस अभियानले बालविवाह न्यूनीकरण गर्न सघाएको उनको अनुभव छ । ‘यो ‘२५– २७ मन्त्र’ या नारा पनि मेरै अनुभवले बनाएकी हुँ तर यो गीतामा आधारित छ । गीताको १६औं अध्यायको पहिलो र दोस्रो श्लोकमा यो कुरा उल्लेख भएको पाइन्छ,’ उनले भनिन् ।

एक असल मानिसमा मूलतः तीन कुराको आवश्यक पर्नेमा जोड दिँदै उषाले भनिन्, ‘ती हुन् स्वास्थ्य, शिक्षा र चरित्र ।’ यी गुण भएका मानिसले जीवनमा कहिल्यै दुःख पाउँदैन भन्नेमा जोड दिँदै उनले नेपाली समाजमा कतिपय परिवारमा आजका दिनमा पनि छोरीलाई छोरासरह व्यवहार नगर्ने गरेको पाइने बताइन् । ‘कोही छोरालाई मात्र स्कुल पठाउँछन् । कोही छोरालाई बोर्डिङ र छोरीलाई सरकारी स्कुलमा पठाउने, सानैमा विवाह गरिदिनेजस्ता विभेद हामी देख्न पाउँछौं, त्यसैले पनि ‘छोरी मानिसले पढ्नुपर्छ’ भन्ने सन्देश यो कार्यक्रममार्फत मैले मुलुकभर दिइरहेको छु,’ आचार्यको दाबी छ ।

‘म महात्मा गान्धीको सिद्धान्तबाट प्रेरित व्यक्ति हुँ । महात्मा गान्धीले सट पाइन्ट किन्न नसकेर लगौटी धोती लगाएका त होइन नि, त्यसैले महिलाहरूले गहना लगाउने, राम्रो कपडातिर भन्दा पनि पढाइ, चरित्र र स्वास्थ्यमा ध्यान दिनुपर्छ,’ उनले सो कार्यक्रममा भेला भएका विद्यार्थीलाई सम्झाउँदै थप बताइन् ।

सो कार्यक्रमबाट सहयोग पाएर प्लस टु पास गरेर हाल भोटेओडारकै भक्ति आदर्श क्याम्पसमा अध्ययन गरिरहेका मनिका कार्की, सिर्जना घले, अनु अधिकारी र अस्मिता गुरुङ उषा आचार्यलाई भेट्न सोही स्थानको भूपूसैनिक आमाविमा आएका थिए । अनु अधिकारीले यो कार्यक्रमले गर्दा आफूहरूले ढुक्कसँग पढ्न पाएको, विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा पनि सहभागी भएर प्रतिभा देखाउने मौका मिलेको बताइन् । उनले भनिन्, ‘यो कार्यक्रमअन्तर्गत सुविधा पाएका हामीहरू हाजिरीजवाफ, नाच, गायन, कपर्दी, दौडमा प्रायः पुरस्कृत भइरहन्थ्यौं ।’ त्यो कार्यक्रमको सहयोगले गर्दा नै आफूहरूले ‘राम्रो विद्यार्थीमा गनिन सकेको’ अनुभव गरेको सिर्जना घलेले बताइन् ।

कक्षा १ देखि ४ सम्म पढेका घरको आर्थिक अवस्था कमजोर भएका, समुदायमा हेपिएर, थिचिएर, दबिएर रहेका नानीहरूलाई प्लस टुसम्म पढ्न सो संस्थाले सहयोग गरिरहेको उषाले जानकारी दिइन् । उनले भनिन्, ‘त्यसका लागि इच्छुक विद्यालयको पार्टनरसिपमा काम गरेका छौं । पाट्नर स्कुलले ३० प्रतिशतदेखि ७० प्रतिशतसम्म हामीलाई सहयोग गरेको छ,’ उषाले भनिन् ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको सो संस्थाले मुलुकभर लमजुङसहितका २० जिल्लाका करिब १ सय विद्यालयलाई पार्टनर बनाएर ‘बैनी शिक्षा’को सो कार्यक्रम सञ्चालन गरिरहेको छ । उषा आचार्यका अनुसार लमजुङका दुई सामुदायिक र दुई संस्थागत गरी चार विद्यालय पार्टनर छन् । ती हुन्, सामुदायिकमा सुन्दरबजार नगरपालिका–५ खहरेस्थित विद्याज्योति मावि र राइनास नगरपालिका–१ को महेन्द्रबाल विकास मावि तल्लो बोराङ तथा संस्थागत विद्यालयमा सुन्दरबजार नगरपालिका–८ भोटेओडारस्थित भूपूसैनिक आमावि र सोही नगरपालिका– ९ को फूलबारी स्थित ग्लोबल भिजन आमावि ।

ती चार विद्यालयमा क्रमशः ११, १०, १२ र ८ जना किशोरी अध्ययन गरिरहेको सो कार्यक्रमको लमजुङ संयोजक चन्द्रकला अधिकारीले जानकारी दिइन् । उनका अनुसार अन्य विद्यालयका पनि छिटफुट रूपमा १० जना जतिलाई सहयोग गरिएको छ । यसरी सो कार्यक्रमअन्तर्गत पढ्ने छात्रा संख्या लमजुङमा ५२ रहेको अधिकारीको भनाइ छ । उनले भनिन्, ‘पार्टनर विद्यालयमा सो विद्यालयसँग संस्थाले गरेको सहमतिअनुसार सहयोग गर्छाैं, अन्य विद्यालयमा पढ्ने नानीहरूलाई विद्यालयको पोसाकदेखि किताब, कापी, कलम, फि, झोला, स्टेसनरीलगायतका सबै आवश्यक सामग्री सहयोग गर्ने गरिआएका छौं ।’

सशक्तीकरणका लागि शिक्षा कार्यक्रम, नेपालमा प्रजातन्त्र र विकास केन्द्रको नेतृत्वमा अमेरिकामा लिटिल सिस्टर्स फन्डको साझेदारीमा सञ्चालन भइरहेको छ । प्रत्येक जिल्लामा एक स्थानीय निर्देशक बोर्डद्वारा कार्यक्रम सञ्चालित हुँदै आएको आचार्यको भनाइ छ ।

हाम्रो कुराकानीका क्रममा उषा आचार्यले भनिन्, ‘मसँग हिँडेका प्रायः सबै नानीहरू यही कार्यक्रमबाट उत्पादन भएका छन् ।’

उनको साथमा सो कार्यक्रमका हेल्थ एन्ड प्रोग्राम अधिकृत त्रिमुना शिवाकोटी, एलुम्नाई अधिकृत नीति शर्मा, संयोजन अधिकृत परिधि आचार्य र लमजुङको कार्यक्रम प्रबन्धक चन्द्रकला अधिकारी थिए । उनीहरूको टोलीले लमजुङका चारवटै विद्यालयमा पुगेर सो कार्यक्रममार्फत सहयोग पाएका छात्राहरूको वस्तुस्थिति अध्ययन र आवश्यक निर्देशन दिने काम गरेको थियो ।

उषाले भारतमा बस्दा त्यहाँको रेडलाइट एरिया र नेपालको काठमाडौंको आसपासको काँठ क्षेत्रमा दुईवटा अनुसन्धान गरेर यो अभियान सञ्चालनको निष्कर्ष निकालेको बताइन् । त्यो अनुसन्धानबाट भारतको रेडलाइट एरियामा करिब ३५ प्रतिशत युवती नेपाली भएको, प्रत्येक वर्ष १० हजारदेखि १५ हजार केटी मुख्यतयाः यौन व्यापारका लागि बेचबिखन हुने गरेको, ३० प्रतिशत बालिका बालश्रममा संलग्न छन् भन्ने जानकारी पाइएको उनले बताइन् ।

कम उमेरमा विवाह गर्नेको दर विश्वमै नेपालको स्थान सबैभन्दा उच्च
उनको अध्ययनअनुसार,त्यसबाहेक नेपालको जनसंख्यामा लगभग आधा जनसंख्या गरिबीको रेखामुनि बस्छन्, धेरै परिवारका लागि विद्यालय निषेधित र महँगो छ । विद्यालयबाहिर भएका बालिकाले गम्भीर जोखिमको सामना गर्छन् । ग्रामीण क्षेत्रमा १० जनामध्ये सातजना बाललिकाले १६ वर्षको उमेर नपुग्दै विद्यालय छोड्छन् । ४१ प्रतिशतले कम उमेरमा विवाह गर्छन्, नेपालको कम उमेरमा विवाह गर्नेको दर विश्वमा सबैभन्दा उच्च हो, बालिकाहरू बालकभन्दा चार गुणा बढी संवेदनशील छन् ।

उनले भनिन्, ‘शिक्षित महिलाहरूले विवाह ढिलो गर्छन्, कम संख्यामा स्वस्थ बच्चाहरू जन्माउँछन्, धेरै कमाउँछन् र आफ्नो कमाइको अधिक रकम आफ्नो परिवार र समुदायमा लगानी गर्छन् । बालिकाको शिक्षामा गरिएको लगानीको प्रभाव उसको परिवार, समुदाय र भावी पुस्तामा समेत धेरै हुन्छ । यसैले पनि ‘महिलाका लागि शिक्षा’आवश्यक छ भन्ने निष्कर्षमा पुगेका हौं ।’

उनले भनिन्, ‘त्यो सबै गरिबी र अज्ञानताका कारणले भएको भन्ने निष्कर्ष रह्यो र अब त्यस्तो गतिविधि रोक्नुपर्छ भन्ने सोचेर यो अभियान सञ्चालन गरेका हौं । विगत २५ वर्षदेखि निरन्तर यो अयिभानमा छु । सयौं छोरीको भविष्यलाई उज्वल बनाउने काम यो योजनाअन्तर्गत भएको छ ।’

उनले थप भनिन्, ‘म श्रीमान् (जयराज आचार्य) अमेरिकी राजदूत हुँदा अमेरिकामा बसें र त्यो कार्यक्रमको डिजाइन सबै त्यसबेला गर्ने मौका पाएँ, नेपाल फर्केपछि यो काम थालेकी हुँ ।’

यो संस्था स्थापनामा अर्को एकजना भाइ पनि रहेको र आफूहरूदुई जनाले सन् १९९८ मा संस्थाको स्थापना गरेको उनले बताइन् ।

चार हजार जना अभियानमा सरिक
उनले आजका दिनमा पनि ४ हजार जना बालिका, किशोरी र युवती आफ्नो यो अभियानमा प्रत्यक्ष जोडिएको बताइन् । ‘यसबीचमा ६÷७ हजारले राम्रो डिग्री हासिल गरेका छन् । यो कार्यक्रमबाट सहयोग पाएर पढेका झन्डै दुई दर्जन जतिले त पीएचडी गरिसकेका छन्,’ आचार्यले भनिन्, ‘हामीले यो कार्यक्रममा जात हेरेको छैनौं, सबैले पढ्न पाउनुपर्छ भन्ने समाजलाई सन्देश दिने यो कार्यक्रमको अर्को उद्देश्य हो ।’

प्रजातन्त्र तथा विकास केन्द्रको सशक्तीकरणका लागि शिक्षा कार्यक्रम लागू भएका जिल्लाहरू काठमाडौं, ललितपुर भक्तपुरमा यो कार्यक्रम सञ्चालनमा छ । त्यस्तै, बाग्मती प्रदेशका नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपलाञ्चोक, दोलखा, मकवानपुर, चितवन, धादिङ रहेका छन् । त्यस्तै, पश्चिममा बाँके, दाङसम्म कार्यक्रम पुगेको छ भने तराईमा पर्सामा पनि यो कार्यक्रम सञ्चालनमा छ संयोजन अधिकृत परिधि आचार्यले जानकारी दिइन् । उनका अनुसार अन्य जिल्लामा नवलपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, बाग्लुङ तथा नवलपरासी रहेका छन् ।

‘जिल्लाको संख्या २० भए पनि पढ्ने नानीहरू ७७ जिल्लाकै छन्,’ सो संस्थाका निर्देशक उषा आचार्यले भनिन्, ‘हिजोआज दुई पैसाको काम गरेर पाँच पैसा गरियो भन्दै प्रचारमा रमाउने समाजको प्रवृत्तिविरुद्ध उषा आचार्यले पर्दाभित्र बसेर गुमनाम रूपमा गरिरहेको काम प्रेरणादायी एवं अनुकरणीय छ, यो अभियान मेरो शेषपछि पनि निरन्तर चलिरहनेछ ।’

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दिनभर छलफल तर जुटेन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विवेकशील साझाले भन्याे : हामी अत्यन्तै दुःखी छाैँ